---
Saturday, October 20 2018, 23:46 | शनिबार ०३, कार्तिक २०७५ २३:४६
सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गरिने

मङ्गलबार, ०८ चैत २०७३| Radio Dhangadhi
सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गरिने

८ चैत, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ ।

केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । यसअघि भारतीय एक दम्पतिले सगरमाथा चढेको भनेर नक्कली फोटो सार्बजनिक गरेका थिए ।

पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले अनलाइनखबरसँग भने, ‘जीपीएस ट्र्याकिङबारे म्यानुफ्याक्चरिङ कम्पनिसँग एक चरणमा छलफल गरिसकेका छौं । सरोकारवालाहरुसँग पनि छलफल गर्छौं र उपयुक्त लागेमा आगामी अटम सिजनदेखि लागू गर्ने तयारीमा छौं ।’

यसको आवश्यकताबारे प्रकाश पार्दै ढकालले भने, ‘यस्तो प्रविधि विकसित देशहरुले प्रयोग गर्दै आएका छन् । तर, हामी परीक्षणको तयारीमा छौं । पर्यटन व्यवसायलाई विश्वव्यापीरुपमा एकरुपमा ल्याउन र ढाँट छललाई रोक्न पनि यसको आवश्यकता देखियो ।’

यो सिस्टमले कसरी काम गर्छ ?

जीपीएस ट्र्याकिङ सिस्टमको लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयमले बोकेर लैजानुपर्छ । त्यसअघि सरकारको सरोकारवाला निकाय पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगाना लगायतका सम्पूर्ण विवरण इन्ट्री गरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइसलाई आरोहीले सरकारको सम्बन्धित निकायमा फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै यन्त्रमार्फत रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेकोलगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसको आधारमा आरोहण सफल भए-नभएको पत्ता लगाउन सकिन्छ ।

ढकालले अनलाइनखबरसँग भने, ‘यो यन्त्रलाई व्यक्तिले तलमाथि गर्न सक्दैन । स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना छ ।’

हिमाल आरोहणको क्रममा कुनै आरोही दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत् पत्ता लगाउन सकिन्छ र उद्धारमा सहज हुने ढकालको विश्वास छ ।

विदेशी पर्यटकहरु अधिकांश हिमाल आरोहणका लागि नेपाल आउने गर्दछन् । नेपालको कुल गाह्रस्थ उत्पादनमा पर्यटन क्षेत्रको चार प्रतिशत योगदान छ ।


मङ्गलबार ०८, चैत २०७३ १०:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस