---
Thursday, October 18 2018, 00:51 | बिहिबार ०१, कार्तिक २०७५ ००:५१
गौरीप्रेम

मङ्गलबार, २६ बैशाख २०७४| Nirmala Khadayat
गौरीप्रेम

एफएम संवाददाता
धनगढी, २६ बैशाख ।

हेल्लो नमस्ते ।

अर्को दिनमात्र रिप्लाई आयो, नमस्ते ।

आराम हुनुहुन्छ ?

बिरामी भए त हस्पिटल गैन्थ्यो नि ? लोल ।

अचेल त सामाजिक सञ्जालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि ।

सामाजिक सञ्जालमा भेटिएका डाक्टर, चित्रमा भेटिएको अङ्गुर के गर्नु त रु लोल।

मैले रिक्वेस्ट पठाएको ठ्याक्कै ७ महिना ११ दिन भएछ तर स्वीकार भएन । कृपया मिल्छ भने कन्फर्म भन्ने जिनिसमा थिचिदिनु भए आभारी हुने थिएँ ।

ओह ! दिनै गनेर पो ? फेक जस्तो लागेर नि । न फोटो छ, न नाम पूरा छ । जे होस् स्टाटस राम्रा लागे ।

फोटो नराख्ने सबै फेक हुँदैनन् हजुर । कुरा आयो नामको शेक्सपियरले भनेझैँ नाममा के छ र ? त्यसै पनि मेरो त नाम छ नि, नलेखेको थर हो, थरमा के छ र ? हा हा ।

हस् एक्सेप्ट भयो । अहिले ढिला भयो मलाई, पछि कुरा गर्छु, सी यु ।

बाई लेख्न लाग्या थियो, सोच्यो ! महिनौंदेखि फलो गरेको मान्छे आज पहिलोपटक कुरा हुँदैछ । बाई लेख्न हुन्न । यत्तिकै छोड्यो र लेख्यो, हस्, सी यु, टेक केयर ।

अग्निलाई ठूलै प्यास मेटिएझैँ भयो । जसका तस्बिर र तस्बिरको सिरानमा लमतन्न पर्ने क्याप्सन भनौं– हरेक स्टाटसहरु खुब मन पर्थ्यो, अझ भनौं सम्पूर्ण मन पर्थ्यो । एकछिन टोलायो र फेरि इनबक्स हेर्‍यो । गौरीलाई एक्टिभ नाइन् मिनेट्स अगो देखेपछि अब गएकै हो भन्ने लाग्यो र फेरि घुम्न थाल्यो ड्युटीतिर । घरिघरि इन्बक्सतिर आँखा दौडाइरह्यो! अनलाइन देखिन्छ कि भनेर । दिनभरि दौडाइरह्यो । एक्टिभ टाइम लम्बिँदै गयो! वन हावर, टु हावर, हुँदै साँझ पर्‍यो! एक्टिभ नाउ देखिएन । ड्युटी सकेर कोठा फर्क्यो, खाना बनायो र फ्रेस हुन बाथरुम छिर्‍यो । नुहाइसकेर फेरि मोबाइल अन गर्‍यो । देख्यो हरियो बत्ती बलेको । हतार हतार लेख्यो, हाई ।

निकैबेर कुर्‍यो, सिन देखाएन । खाना खान लाग्यो । खाँदाखाँदै घन्टी बज्यो म्यासेन्जरको । हत्तपत्त हेर्‍यो । गौरीको रहेछ । खुसी हुँदै हात चुठ्यो र चम्चाले खाँदै च्याट गर्न थाल्यो ।

खाना खानुभयो ?

अघि नै, अनि तपाईंले ।

मैले भर्खर ।

किन ढिला ?

यहाँ भर्खर त ७ बज्यो ।

कहाँ हो र ?

दुबई ।

ओह ! कति भयो ?

भयो एक–दुई साल ।

यत्तिकैमा फेरि अग्निले सोध्यो, हजुर के गर्नु हुन्छ रु भन्न मिल्छ ?

रात धेरै भयो, म सुतेको है गुडनाइट ।

आफ्नो प्रश्नको जवाफ गुडनाइट आयो । सोच्यो– साला कस्तो काम हो यो गुडनाइट रु थोरै खिन्न र थोरै मुस्कान मिसाएर फेरि खाना खान थाल्यो ।

गौरीले सोची ! ह्या नाम न ठेगानाको मान्छेसँग नि के कुरा गर्‍या होला मैले !

के ! के सोच्दासोच्दै निदाई ।

यता अग्नि कोल्टे फर्की–फर्की गौरीलाई आँखाभरि नचाइरह्यो । मनभरि फुलाइरह्यो सुनाखरी र मखमलीहरु । कतिबेला उज्यालो होला, फेरि कुरा गरूँला भनेर सोचिरह्यो । मनमा कुराहरुलाई चिँ मुसी चिँ खेलाउँदा खेलाउँदै निदायो ।

बिहान उठेर ओछ्यानबाटै आँखा मिच्दै डाटा अन् गर्‍यो । गौरीलाई अनलाइनमै देख्यो र लेख्यो, “हाई ! जीएम ।

सीन देखायो तर रिप्लाई आएन । फेरि लेख्यो, आर यु दिअर ?

रिप्लाई आएन । कुर्दाकुर्दै देखायो एक्टिभ सिक्स मिनट्स अगो ।

मन खल्लो भो एक्कासि ! किन बोल्नै छोडी रु कमसेकम सीन नदेखाको भए पनि त हुन्थ्यो रिप्लाई नगर्ने भए । कतै अरुले पनि चलाउँछ कि यो आईडी रु मनमा अनेक छालहरु आए । ड्युटी जान ढिला भैसकेछ । हतारहतार युनिफर्म लगायो र हिँड्यो ड्युटीतिर । सेक्युरिटी सुपरभाइजरको जागिर । फुर्सदिलो मान्छे ! बारम्बार अन्लाइन चेक गर्‍यो । दिनभर देखेन अनलाइन । ड्युटी सकियो । कोठामा आउनासाथ अनलाइन देखेर फेरि बोलायो ।

हेल्लो किन नबोल्नुभएको रु केही नराम्रो भने जस्तो लाग्दैन ।

धेरै बेरपछि रिप्लाई आयो, बिजी थिएँ । फेरि बोलिरहनु पर्ने काम पनि के छ र ?

काम हुनैपर्छ र साथीसँग कुरा गर्नलाई ?

हुन पर्दैन भनेर फेसबुकमा हुने सबैसँग कुरा गरेर साध्य पनि त हुँदैन ।

हामी क्लोज फ्रेन्ड बन्न सक्छौँ ? क्लोज फ्रेन्ड र नर्मल फ्रेन्ड त अलिक फरक होला अनि त साध्य होला नि । हा हा ।।।!

गौरीले रिसाउँदै भनी, तपाईंलाई चाहिँ किन क्लोज फ्रेन्ड बनाउनू नि रु त्यो पनि तपाईंजस्तो परिचय लुकाएर कुरा गर्नेसँग ! सबै केटा यस्तै हुन्छन् ! उभिने ठाउँ दियो भने बस्ने ठाउँ खोज्छन् । बस्ने ठाउँ दियो भने सुत्ने ठाउँ खोज्छन् । अस्ति फ्रेन्ड, आज क्लोज फ्रेन्ड, अब पर्सितिर रोमियो बन्ने होला हैन ?

एस !

ह्वाट !

हो, तपाईंको लागि रोमियो पनि बन्न सक्छु ।

मलाई थाहा थियो यही भन्नुहुन्छ भनेर । आखिर तपाईं पनि एउटा केटा न हो । स्वार्थ पूरा नहुन्जेल प्रायः यसै भन्छन् । अस्तिमात्र मेरी साथी दीपालाई डेढ वर्ष हल्लाएर एउटा यस्तै भन्ने साथी भूमिगत भयो । तपाईंलाई थाहा छ म कस्ती मान्छे हो ? मेरो वास्तविकता सुन्नुभयो भने शायद आफैं ब्लक गर्नुहुन्छ ।

अब भयो ।  म्यासेज नपठाउनुहोला । सरी म अन्फ्रेन्ड गर्दैछु । बाई ‘।!

क्या रोमियो सोमियोको लफडामा फस्यो यार फेरि । ठिकै त चल्दै थियो । के थियो हतार र मैले यो क्लोज फ्रेन्ड, रोमियो अहिले बन्नपर्ने ? आफैंलाई प्रश्न गर्दा गर्दै फेरि म्यासेज पठायो ।

गौरीजी सरी । म तपाईंको डाइहार्ड फ्यान पनि हो । मेरो कुराले मन नदुखाउनू । म फेक हैन । मेरो बारेमा बताउँला । मिल्छ भने एकपटक फेरि एड गर्नुहोला ।

दिनभरि व्यस्त भई गौरी । साँझ परेपछि फेसबुक खोली । म्यासेज पढी । अनौठो लाग्यो । किन यो मान्छे यति धेरै पछि लाग्या होला ? एक९दुई ओटा कविता र झारेझुरे स्टाटस पढेरै फ्यान भएको हो त ? एक्लै मुस्कुराई र एक्सेप्ट गरी तर जवाफ नफर्काई सुती ।

बिहानै उठेर अग्निले हेर्‍यो– दुई म्यासेज, सात नोटिफिकेसन रहेछन् । म्यासेज खोल्यो ! दुबै ग्रुप च्याटका रहेछन् । नोटिफिकेसन खोल्यो ! चौथोमा थियो गौरी एक्सेप्टेड योर फ्रेन्ड रिक्वेस्ट ।

खुसी हुँदै भन्यो, कम्सेकम म्यासेज त रिप्लाई गर्नुपर्छ ।

शनिबारको दिन गौरी अलि ढिला उठी । कपडा धोई, नुहाइधुवाइ गरी र फेसबुक खोली । अग्निले फेरि म्यासेज पठाएछ, गौरीजी ! म तपाईंसँग नजिक हुन चाहन्छु । हरेक कुराहरु सेयर गर्न चाहन्छु । किनकिन मनले धेरै नै विश्वास गर्छ तपाईंलाई । पाथीभराको कसम म फेक हैन । मिल्छ भने मेसेन्जरमा कल गर्नू ल ।

गौरीले सोची– हुन त अचेल धेरै झुट बोल्नेले नै छिटो कसम खान्छन् । जेसुकै होस् मलाई के मतलब ! एकपटक आफ्नो वास्तविकता बताइदिन्छु, कमसेकम पछि लाग्न त छोड्छ ।

अग्नि अनलाइनमै थियो ! सीधै कल हानी ।

अग्निले काट्यो । र, म्यासेज लेख्यो, सरी, अलिक बिजी छु, आधा घण्टापछि कलब्याक गर्छु ल ।

गौरीले हेरी तर केही लेखिन ।

यता ड्युटीको अनुकूल मिलायो । बिरामी भएको बहाना गरेर आजलाई बिदा मिलाएर कोठा फर्क्यो र कल गर्‍यो अग्निले ।

उठेन, फेरि गर्‍यो ।

यसपटक भने फोन उठाएर गौरीले भनी, हलो !

हेल्लो नमस्ते । सन्चै हुनुहुन्छ ?

ठीक छु ।

के गर्दै हुनुहुन्छ ?

बसिराछु । किन कल गर्न भन्नुभको ? हिजोअस्ति भेटेको मान्छेसँग किन यसरी पछि लगिराख्नु भको ?

किनकि तपाईं मन पर्छ ।

ह्वाट ? फेरि त्यही कुरा रु प्लिज तपाईंले मलाई बुझ्नुभएको छैन । बेकारमा यो हावाको तालमा यस्ता कुरा नगर्नू ।

पाथीभरा माताको कसम ।

सुन्न सक्नुहुन्छ रु म मेरो कहानी भन्छु । तर एउटा सर्तमा।।।

सर्त मञ्जुर !

चुपचाप सुन्नुपर्छ । भनिसकेर म फोन काट्नेछु । त्यसपछि तपाईंले सीधा ब्लक गर्नुपर्नेछ ।

मञ्जुर ।

तपाईं को हो, के हो म जान्दिनँ र जान्न पनि चाहन्नँ । हाम्रो पहाड घर ताप्लेजुङ थियो । त्यहाँको स्कुलमा ८ कक्षामा पढ्दा नै एउटा नेवार केटासँग प्रेम भयो । हामीले सँगै मर्ने, सँगै बाँच्ने कसम पनि खाएका थियौं । उसको नाम शारद शाक्य थियो । पछि स्कुलमा हेडसरले आफ्नै विद्यार्थी केटीमाथि यौन दुर्व्यवहार गरेको थाहा भयो । स्कुलमा सबै मिलेर हेडसरविरुद्ध आन्दोलन गरियो । तर, हाम्रो केही लागेन बरु सरले भोलिपल्ट शारदलाई अफिसमा बोलाएर साफ पिट्नुभएछ । त्यही रिसले ऊ माओवादीमा गयो । गएपछि दुईओटा चिठी पठायो । त्यसपछि कता भूमिगत भयो, अत्तोपत्तो भएन । केही महिनापछि हामी काठमाडौं बसाइँ आयौं । यतै पढियो, धेरै पछिसम्म बाटो हेरियो९ शारद आएन । पछि नागारिकता बनाउन बुबासँग पहाड जाँदा एक९दुई जनालाई सोधेँ– कसैले थाहा छैन भने । कसैले सोलुको दोहोरो भिडन्तमा मर्‍यो रे भने । हामी चार दिन बसेर काठमान्डू फर्कियौं ।

यहीँ बीबीएस पढ्दापढ्दै मलाई बिहे गर्ने प्रेसर आयो । दाइकै साथी इन्स्पेक्टर रितेश क्षेत्रीसँग बिहे भो । हामी भैरहवा बस्थ्यौं । बिहे गरेको दुई वर्ष भाथ्यो । एकदिन भैरहवाबाट काठमान्डू जाने क्रममा प्लेन क्रास भएर उहाँ बित्नुभयो । अहिले मसँग उहाँको चिनो छोरी छिन् गौरीशा । यो मैले नै राखेको नाम हो९ गौरी, रितेश र मेरो फस्ट लभ शारदको नाममा । अहिले म र गौरीशा बुबा९ममीसँगै बस्छौँ धुम्बाराहीमा । र, यहीँको एउटा बोर्डिङमा टिचिङ गर्छु ।‘। बुझ्नुभो रु कृपया अब आईन्दा डिस्टर्ब नगर्नु होला । धन्यवाद । ‘ टुँ टुँ ‘ !

अग्निका आँखाबाट अघि नै आँसु झरिसकेछन्९ ऊ आफैंलाई थाहा भएन । फोन काटिसकेपछि सातो हराएको मान्छेजस्तै भयो । एकछिन टोलायो र जुरुक्क उठेर बाथरुम गयो ।

फर्किएर आयो । आदेश त थियो फोन काटेपछि ब्लक गर्नुपर्ने तर उसले फेरि म्यासेज लेख्यो ।

गौरी ! धेरै कुरा थाहा थियो, सबै कुरा थाहा थिएन । सुनेर धेरै दुस्ख लाग्यो । गर्नुपर्ने मैले ब्लक थियो तर म्यासेज गर्दैछु । यो सुनेर तिमीप्रतिको चाह, माया झन् चुलियो सगरमाथाभन्दा धेरै अग्लो भएर ।

सेन्ड गर्‍यो ।

फेरि एल्बममा भएका दुई ओटा तस्बिर मोबाइलको क्यामेराले कैद गर्‍यो । एउटा केटा र एउटी केटी गुराँस टिप्दै गरेको, एउटा सेतो सर्ट र नीलो पाईन्ट लगाएर किताब बोकेर उभिएको सिंगल, खिच्यो एउटा सेल्फी अनि पठाइदियो तीनओटा तस्बिर र लेख्यो फेरि म्यासेज, गौरी १ मैले पत्तो लगाएर, बुझेर नै पछि लागेको हुँ । म त अहिले पनि तिम्रै नाममा बाँचेको छु । त्यही गौरी बस्नेतका नाममा । म त्यही तिम्रो शारद हुँ गौरी । अझै पनि यो छातीमा उही गौरी प्रेम छ । यी आँखामा भनौं या यो जीवनमा९ उही गौरी प्रेम छ । अग्नि त पार्टीले दिएको नाम हो । झूटो हल्ला फैलिएछ म मरेको भनेर, म मरेको थिइनँ । भूमिगत जरुर भएको थिएँ । पछि गाउँ फर्किएर तिम्लाई खोज्न राजधानी नआएको हैन । तर कतै पत्तो नलागेर हैरान हुँदै विदेश आएको थिएँ । नपत्याए हेर तिम्रा मेरा ऊ बेलाका तस्बिरहरु । आई लभ यु ।

एकैछिनमा उता म्यासेज सिन देखायो । अग्नि दुस्ख र खुसीको संयुक्त पोको बोकेर लाग्यो मार्केटतिर ।

 बाह्रखरीबाट साभार गरिएको ।


मङ्गलबार २६, बैशाख २०७४ ०५:२७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस