---
Thursday, October 18 2018, 01:05 | बिहिबार ०१, कार्तिक २०७५ ०१:०५
हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’ आउँदै

बिहिबार, २१ बैशाख २०७४| Nirmala Khadayat
हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’ आउँदै

एफएम संवाददाता
धनगढी, २१ बैशाख ।
  संस्मरण ‘चिना हराएको मान्छे’ को सफलता पछि चर्चित हास्यकलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउँदैछन् ।

‘हरिबहादुर’को विमोचन अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ३ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा हुँदैछ । 
उपन्यासकारको अवतारमा देखिन लागेका हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घच्घचाएपछि आफूले उपन्यास लेख्न तम्सेको बताउनुभयो । 

उपन्यास लेखन प्रक्रियाबारे उहाले भन्नुभयो , ‘चिना हराएको मान्छे’ लेख्दा मैले विषयबारे सोच्नु परेको थिएन । आफूले जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो । तर, उपन्यास लेख्छु भन्ने विचार बनाएपछि भने मैले धेरै सोच्नु परेको थियो । र, अन्ततःमैले मदनबहादुर हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्रप्रधानउपन्यास बनाउने निधो गरेको थिएँ ।’ 

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले भन्नुभयो, ‘मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र  उसको उत्थान तथा पतन वरिपरी घुमेको यो उपन्यासमा तात्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्यो तथा हरिबहादुरले द्वन्दकालीन राजनीतिलाई कसरी प्रयोग गर्यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ ।’

उपन्यासको मूख्य पात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दश बल्ड्याङ खानपुग्छ । नकच्चरो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वाँठ, कुलङ्गार, आवारा यस्ता धेरै लक्षणले युक्त हरिबहादुरको क्रियाकलाप व्यक्तिगत भइकन पनि सामाजिक–राजनीतिकजस्ता लाग्छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइँ र चतुर्याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ— समकालीन राजनीतिमाझँै उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । 

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ । 

हास्य र व्यङ्यको पुटले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने छ । पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो । यसको मूल्य रु ३९८ रहेको छ । 

बाह्रखरीबाट साभार गरिएको ।


बिहिबार २१, बैशाख २०७४ ०७:४४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस