---
Sunday, November 18 2018, 23:00 | आइतबार ०२, मङि्सर २०७५ २३:००
कैलालीमा १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
कैलालीमा १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर

एफएम संवाददाता
धनगढी, ९ चैत्र ।

कैलालीमा अझै १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर रहेको देखिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार सञ्चालनमा रहेका खानेपानीका आयोजनाहरु बजेट अभावमा समयमै सम्पन्न हुन नसक्दा जिल्लाका १५ प्रतिशत घरधुरी खानेपानीको पहुच बाहिर रहेका हुन ।

ति मध्ये पनि ५० प्रतिशतले मात्रै शुद्ध खानेपानीको उपभोग गर्न पाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका निमित्त प्रमुख गणेश प्रसाद उपाध्ययाले बताउनुभयो । गत वर्ष जिल्लामा ३१ खानेपानी योजना सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा भने ९७ वटा आयोजना सञ्चालनमा रहेका छन ।

ति आयोजना सम्पन्न गर्नका लागि ५÷५ करोडका दलले ५ अर्व रुपैया आवश्यक पर्ने देखिन्छ । तर, जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेको योजनाका लागि  १६ करोड रुपैया मात्रै बजेट प्राप्त भएको छ । पर्याप्त बजेट आएमा दुई तिन वर्षमा नै जिल्लाका सवै घरधुरीले शुद्ध खानेपानीको उपभोग गर्न पाउनेछन ।

तर, हाल प्राप्त् हुदै आएको बजेटलाई हेर्ने हो जिल्लाका सवै घरधुरीले शुद्ध खानेपानीको उपभोग गर्न अझ वर्षौ लाग्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका निमित्त प्रमुख उपाध्ययाले बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीमा २२ हजार, सुख्खडमा ८ हजार, अत्तरीयामा ६ हजार ५ सय र धनगढीमा २० हजार घरधुरीमा खानेपानीको पहुच पुगेको छ । गत वर्षमात्रै जिल्लामा ५ वटा खानेपानीको आयोजनाको निर्माण सम्पन्न भएको थियो ।

यस्तै, सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा फोहर पानी पिउन बाध्य बनेका छन् । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि स्थानीयहरु खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउछन । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा पनि सोहि समस्या रहेको छ ।

हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटका लक्ष्मी विकले बताउनुभयो ।

दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्का महिला राजु भुलले दुखेसो पोख्नुभयो ।

कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताउनुभयो । दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो ।

पानीका मूल तथा खोलानालामासमेत पानी कम हुन थालेपछि डडेल्धुरालगायत पहाडी भेगका गाउँबस्तीमा पानीको समस्या देखिन थालेको हो ।
 


शुक्रबार ०९, चैत २०७४ ०२:३० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस