New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:29 | आइतबार ०६, साउन २०७५ १६:२९
दार्चुला–तिंकर सडक निर्माणले गति लिन सकेन

शुक्रबार, ०९ चैत २०७४| Nirmala Khadayat
दार्चुला–तिंकर सडक निर्माणले गति लिन सकेन

एफएम संवाददाता
दार्चुला, ९ चैत्र ।

प्रदेश ७ लाई उत्तरतिर चीनको तिब्बतसँग जोड्ने दार्चुला–तिंकर सडक निर्माण गर्न थालेको १० वर्ष भयो । संघीय सरकारको प्राथमिकतामा परेको यो सडकमा चार वर्षयता पर्याप्त बजेट विनियोजन भइरहेको छ । तैपनि, निर्माणले गति लिन सकेको छैन ।

दार्चुला–तिंकर सडक आयोजनाले चार वर्षअघि नै नेपाली सेनालाई विस्फोटक पदार्थ उपलब्ध गराउनका लागि पैसा बुझाएको थियो । तर, सेनाले अग्रिम पैसा लिएर पनि विस्फोटक पदार्थ उपलब्ध नगराउँदा सडक निर्माणमा ढिलाई भएको आयोजनाका प्रमुख रामचन्द्र साहले बताउनुभयो ।

दार्चुला सदरमुकाम खलंगादेखि तिंकरसम्मको एक सय ४० किलोमिटर सडकमध्ये ८८ किलोमिटरमा ठेक्कापट्टा भएर निर्माणकार्य भइरहेको छ । १० वर्षको अवधिमा दुहुँ गाउँपालिका–१ विजयपुर भिरसम्म २३ किलोमिटर सडकको ट्रयाक खुलेको छ ।

त्यसभन्दा उत्तरतिर ट्रयाक खोल्न नसकिएको आयोजनाले जनाएको छ । विजयपुर भीर काट्न नसक्दा गति लिन नसकेको आयोजना प्रमुख साहले बताए । ‘तीन महिनादेखि भीर काटिरहेका छौंँ, मेसिनको पनि प्रयोग भइरहेको छ,’ इन्जिनियर साहले भने, ‘तर, भीर काट्न नसक्दा थप ट्रयाक खुल्न सकेको छैन ।’

तीन महिनामा एक सय मिटर मात्रै ट्रयाक खुलेको छ । यो वर्ष दार्चुला–तिंकर सडकका लागि २९ करोड ८५ लाख विनियोजन भएको छ । तर, फागुन मसान्तसम्म ३० प्रतिशत मात्रै खर्च भएको आयोजनाले जनाएको छ । गत चार वर्षमा ७१ करोडभन्दा बढी रकम विनियोजन भएको थियो ।

आयोजनाका अनुसार, विस्फोटक पदार्थको अभावले काम हुन नसक्दा गत तीन वर्षमा ६५ प्रतिशत बजेट फ्रिज भएको थियो । सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन आनाकानी गरेपछि विकल्प खोज्नुपर्ने जनप्रतिनिधिको भनाइ छ ।

सेनाका कारण निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै दार्चुलाका प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले अरू ठाउँबाट विस्फोटक पदार्थ ल्याउने विकल्पबारे छलफल चलाउनुपर्ने बताउनुभयो । 


शुक्रबार ०९, चैत २०७४ ०२:२५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस