Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:31 | सोमबार ११, असार २०७५ २१:३१
कर्मकाण्डी परीक्षाको भय, कोही बच्चा आफैमा कमजोर हुँदैनन्

बिहिबार, ०८ चैत २०७४| Radio Dhangadhi

परीक्षा भनेको ‘पास’ गराउने माध्यम/विधी होइन । परीक्षा भनेको विद्यर्थीको क्षमता जाँच हो । उनीहरुले के/कति ज्ञान आर्जन गरे भनेर बुझ्ने एउटा प्रक्रिया एवं पद्धती हो ।

अहिले विद्यालय तहका अन्तिम कक्षा चलिरहेको छ । कतिपयको परीक्षा सुरु भइसक्यो । साथै कतिको परीक्षा हुने तरखरमा छ ।

यो अन्तिम परीक्षा हो, जसले विद्यार्थीको बर्षभरको प्रगति-अवस्था जाँच गर्छ । बर्षभरमा छिचोलेको पाठ्यपुस्तक एवं कक्षाकोठामा गरिएका विभिन्न अभ्यासबाट विद्यार्थीले के-कति सिके, के-कति जाने, के-कति बुझे भन्ने कुराको परीक्षण हो यो । यही परीक्षाको ततिजाले विद्यार्थीको समग्र पढाईको स्तर जाँच्छ । र, उनीहरुलाई अगाडि जान दिने कि पुन सोही कक्षा दोहोर्‍याउन लगाउने भन्ने निक्र्याैल गरिन्छ ।

तर, अहिलेका अधिकांश विद्यार्थीहरु निजी विद्यालयमा पढ्छन् । निजी विद्यालयमा अभिभावकले अतिरिक्त खर्च व्यहोरेका हुन्छन् । सोहि कारण निजी विद्यालयमा विद्यार्थीलाई ‘फेल’ गराएर एउटै कक्षामा दोस्रो बर्ष पनि दोहोर्‍याउन लगाइदैन । यसले विद्यार्थीको एक बर्ष त्यसै नष्ट हुन्छ भन्ने भन्दा पनि अभिभावकको आर्थिक व्यायभार बढ्छ । विद्यालयको पढाईमा प्रश्न उठाइन्छ । त्यसकारण जस्तोसुकै भएपनि ‘पास’ गराउने अभिभावक र शिक्षकवीचको अघोषित सम्झौता हुन्छ ।

बोझिलो त बनिरहेको छैन ?

यतिबेला हरेकको घर-घरको वातावरण नियाल्ने हो भने, छोराछोरीमाथि अभिभावकको बढी नै निगरानी देखिन्छ । बाहिर खेल्न, टिभी हेर्न, इन्टरनेट चलाउन, रमाइलो गर्न बन्देज लगाएर छोराछोरीलाई किताब घोक्न लगाइरहेका दृश्यहरु हामी देख्न सक्छौं ।

अभिभावकको सोंच कतिमात्र छ भने, कम्तिमा छोराछोरीले परीक्षामा राम्रो गरोस् । अभिभावकको यही अपेक्षा छोराछोरीको लागि बोझिलो बन्न सक्छ ।

परीक्षाको बेला बन्द कोठमा पुस्तक घोकाएर पास गराउनु परीक्षाको ध्येय होइन । यसले उनीहरुको सिकाई र बुझाईको स्तर बढ्ने होइन, बरु खुम्च्याउन सक्छ ।

विद्यार्थीले पढाईमा ध्यान दिनुपर्छ । यो उनिहरुको सिकाईको चरण हो । र, सिक्ने माध्याम भनेको पाठ्युपुस्तक/विद्यालय पनि हो । त्यसर्थ सिक्नुपर्छ । सिक्नका लागि पढ्नुपर्छ । तर, पढ्नुको ध्येय पास मात्र हुनु होइन । पास हुनका लागि मात्र पढ्नु भनेको गलत सोचाई हो ।

छोराछोरीलाई ‘पास हुनैपर्ने’ एक किसिमको मानसिक दवाव हुन्छ । पास भइएन भने आमावुवा रिसाउँलान्, साथीभाईले हियाउलान्, शिक्षकले गाली गर्लान् भन्ने भित्री भय विद्यार्थीमा हुनसक्छ । तर, ‘मैले केही कुरा सिक्नुपर्छ, जान्नुपर्छ । यसरी जानेको/सिकेको कुरालाई अरुले बुझ्ने भाषामा व्यक्त गर्नुपर्छ’ भनेर सायदै विद्यार्थीले बुझेका होलान् । जबकी बुझ्नुपर्ने कुरा भनेको यही हो ।

परीक्षा भनेको ‘पास’ गराउने माध्यम/विधि होइन । परीक्षा भनेको विद्यर्थीको क्षमता जाँच हो । उनीहरुले के/कति ज्ञान आर्जन गरे भनेर बुझ्ने एउटा प्रक्रिया एवं पद्धती हो । त्यसैले विद्यार्थीलाई रातारात घोक्न लगाए, रट्न लगाएर प्रश्नको हल गराउनुको खास अर्थ हुँदैन । महत्व हुँदैन । किनभने यसले उसको सिकाईको स्तर मापन गर्दैन ।

कर्मकाण्डी परिपाटी

परीक्षाको अर्थ वृहत र गहिरो छ । परीक्षाको ध्येय भनेको कसैको क्षमता/स्तर/ज्ञान/कौशल मापन गर्ने एउटा पद्धती हो । तर, हामीकहाँ परीक्षालाई जसरी बुझिएको छ र बुझाइएको छ, त्यो कर्मकाण्डी शैलीको छ ।

शैक्षिक क्यालेन्डर अनुरुप परीक्षाको मिति तय गर्ने, त्यस अनुसार च्याप्टर बर्गिकरण गर्ने र परीक्षा लिने । यस्तो परीक्षामा पाठ्यपुस्तकमा संग्रहित पाठलाई आधार बनाएर प्रश्न तयार गरिन्छ । उक्त प्रश्नको जस्तोको तस्तै जवाफ दिनेलाई उत्कृष्ट मानिन्छ ।

सामान्यतः विद्यालय शिक्षाको परीक्षा विधी यही हो । तर, परीक्षाको अर्थ पाठ्यपुस्तकको प्रश्न हल गर्नुमात्र होइन । विद्यार्थीलाई उसको उमेर, बौद्धिक क्षमता अनुसार बर्षभर के सिकाइयो र त्यो कुरा उसले कति/कसरी ग्रहण गरेको छ भनेर जाँच गर्ने एउटा विधी हो । तर, हामीकहाँ विद्यार्थीको वृहत्तर क्षमता जाँच गर्ने कुनै इकाई छैन । पद्धती छैन । यस हिसाबले जुन विद्यार्थीले बढी पाठ्यपुस्तक छिचोलेको छ, उनै उत्कृष्ट हुन् ।

सिकाइको मापन र विद्यार्थीको प्रवृत्ति

हाम्रो परीक्षा प्रणालीले विद्यार्थीको सर्वाङ्गीण क्षमता जाँच्ने हैसियत राख्दैन । हामीले जुन हिसाबले, जसरी परीक्षा लिने गर्छौ, त्यो एउटा फम्र्याट भित्र रहेर गरिन्छ । यस्ता फम्र्याटभित्र विद्यार्थीको समग्र गुण/दोषको लेखाजोखा गर्ने संयन्त्र हुँदैन ।

यो फम्र्याटले त्यही विद्यार्थीलाई उत्कृष्ट देखाउँछ, जो पाठ्यपुस्तकमा हरेक समस्याको समाधान खोज्छन् । तर, विद्यार्थीले जान्नुपर्ने र सिक्नुपर्ने कुरा पाठ्यपुस्तकमा मात्र सीमित छैन । उसले आफ्नो जीवन-भोगाईबाट पनि धेरै कुरा सिक्न/जान्न/बुझ्न सक्छन् । तर, हामीकहाँ यस्तो व्यवहारिक सिकाई पद्धती विकास भएकै छैन ।

सबै विद्यार्थीको सिकाई क्षमता समान हुँदैन । उनीहरुले एउटै कुरालाई पनि भिन्न भिन्नै ढंगले बुझ्छन्/बुझिरहेका हुन्छन् । मस्तिष्कको विकास र ग्रहण गर्ने क्षमतामा सबै विद्यार्थीमा एकरुपता हुँदैन । कसैले एउटै कुरालाई ढिलो बुझ्छन्, कसैले क्षणभरमै । कसैले एउटा कुरालाई लामो समयसम्म स्मरण गर्न सक्छन्, कसैले एकै छिनमा भुल्न सक्छन् । तर, हामी उनीहरुलाई एउटै फम्र्याटभित्र समेटर जसरी परीक्षा लिन्छौं, त्यसले उनीहरुको समग्र ज्ञानको स्तर जाँच्दैन ।

हरके बच्चा आफैमा विशेष हुन्छन्

बलिउड अभिनेता आमिर खानले निर्माण/निर्देशन गरेको चलचित्र ‘तारे जमिन पर’को स्लोगन छ, ‘एभि्र चाइल्ड इज स्पेशल ।’ हरेक बच्चाको आ-आफ्नै क्षमता हुन्छ । आ-आफ्नै खुबी हुन्छ । आ-आफ्नै विशेषता हुन्छ । एउटा विद्यार्थीले फुटबलमा अब्बल छ भने, अर्कोले पनि उसैको स्तरमा पुग्नुपर्छ भन्ने छैन । भनिन्छ नि, संसारका कुनैपनि बच्चा कोहिजस्तो पनि हुँदैन । उनीहरु आफैमा विशेष हुन्छन् । उनीहरुले जन्मजात आफ्नै गुण र विशेषता लिएर जन्मन्छन् ।

किन दबाव दिने ?

परीक्षामा छोराछोरी ‘सर्वोत्कृष्ट’ हुनैपर्छ भन्ने छैन । त्यसका लागि उनीहरुलाई अतिरिक्त दवाव दिनुको कुनै अर्थ छैन ।

हुनसक्छ, विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक हासिल गरेमा त्यसले उनलाई पढ्नका लागि थप हौसला मिल्छ । हुनसक्छ, परीक्षमा उत्कृष्ट अंक गरेकै आधारमा उनीहरुले अर्को राम्रो स्कुलमा भर्ना पाउन सक्छ । हुनसक्छ, परीक्षामा उत्कृष्ट अंक हासिल गरेको कुराले उनीहरुलाई अगाडि बढ्न उत्प्रेरित गर्छ । तर, त्यसले समग्र उनीहरुलाई निखार्ने, माझ्ने, शुद्धिकरण गर्ने, होनाहार बनाउने चाहि होइन ।

बर्षभर विद्यार्थीले कक्षा कोठामा के कति सिके भनेर जाँच गर्ने एउटा पद्धती हो, परीक्षा । त्यसमा उनीहरुले आफुलाई अब्बल सावित गर्नु आफैमा राम्रो कुरा हुनसक्छ । तर, त्यो नै सवैभन्दा ठूलो उपलब्धी र अन्तिम विकल्प भने होइन ।

परीक्षा के हो भन्ने कुरालाई अभिभावकले गहिरो गरी मनन गर्नु जरुरी छ । परीक्षाको बेला बन्द कोठमा पुस्तक घोकाएर पास गराउनु परीक्षाको ध्येय होइन । यसले उनीहरुको सिकाई र बुझाईको स्तर बढ्ने होइन, बरु खुम्च्याउन सक्छ । त्यसैले बच्चालाई खुला वातावरणमा, सहज ढंगले बुझ्ने, जान्ने र सिक्ने अवसर दिनुपर्छ । परीक्षाको लागि अतिरिक्त दवाव थोपर्नुको कुनै अर्थ छैन ।

अनलाइनखबरबाट साभार ।


बिहिबार ०८, चैत २०७४ ०२:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस