---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली फेला

घटनामा सग्लनको आरोपमा ४ जना विप्लव कार्यकर्ता पक्राउ

मङ्गलबार, २९ फागुन २०७४| Radio Dhangadhi
चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली फेला

एफएम संवाददाता
धनगढी २९ फागुन । सोमबार राति अज्ञात समूहको आक्रमणमा पर्नुभएका कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिगौला नजिकै गोली भेटिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको चाँडै अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको हाल काठमाडौमै रहनुभएका एमाले कैलालीका अध्यक्ष तथा प्रदेश नम्बर सातका सामाजिक मन्त्री दीर्घबहादुर सोडारीले बताउनुभयो ।

चिकित्सकलाई उद्धृत गर्दै सोडारीले नगरप्रमुख चौधरी खतरामुक्त रहेको पनि बताउनुभयो । चौधरीको टाउकोमा पनि खुकुरी प्रहार भएको छ ।

उहालाई सोमबार राति नै उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा गोली लागेको ठाउँमा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मङगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा उहालाई काठमाडौं लगिएको थियो ।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले नगर प्रमुख चौधरीमाथि पहिला खुकुरी र पछि गोली प्रहार गरेका थिए ।

चौधरीमाथि आक्रमण गरेपछि दुई जना मोटरसाईकलमा र अरू दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए ।

सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घर नजिकैबाट बरामद गरेको थियो ।

प्रहरीले घटनामा सग्लन रहेको आशकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई सोधपुछका लागि सोमबार राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको थियो ।

एक जनालाई मङगलबार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उनीहरुलाई थप अनुसन्धानका लागि धनगढी ल्याईएको छ ।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड आज बिहानैबाट अबरुद्ध गरेका छन् ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी बिनोद घिमिरेका अनुसार यातायात बजार अबरुद्ध पारेका छन् । उनीहरुले नगरपालिकाको कामकाज समेत अनिश्चित कालका लागि अबरुद्ध पारेको एसपी घिमिरेले जानकारी दिनुभयो ।

उनीहरुले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । एसपी घिमिरे सोमबार राती घटना भए लगत्तै  धनगढी बाट गएर आफै घटनास्थलमा खटिनुभएको छ ।

यसैबीच घट्नाको नेकपा (एमाले) कैलाली, नेपाल कम्युनिष्ट पार्टी माओवादी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायतका पार्टीले नगर प्रमख चौधरीमाथि आक्रमण गर्ने दोषि पत्ता लगाएर कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दोषिमाथि कारवाही गर्न र मान्छे बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गर्दै थारूवादी संगठनहरू थारू कल्याणकारी सभा, थारू नागरिक समाज, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, थारू विद्यार्थी समाज र थारू महिला समाजले पनि विज्ञप्ति जारी गरेका छन् । 
 


मङ्गलबार २९, फागुन २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस