---
Friday, October 18 2019, 19:56 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५६
प्रदेश सरकार :"अव्यवस्थीत मन्त्रालय, अस्तव्यस्त मन्त्री"

शुक्रबार, ११ फागुन २०७४| Hari Joshi
प्रदेश सरकार :"अव्यवस्थीत मन्त्रालय, अस्तव्यस्त मन्त्री"

धनगढी ११ फागुन । प्रदेश ७ को सरकार सञ्चालनमा सकस देखिएको छ । कर्मचारी अभावमा मन्त्रालयहरुको उचित व्यवस्थापन नहुँदा प्रदेश सञ्चालनमै समस्या आएको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् ।

प्रदेश ७ का सबै मन्त्रीहरुको सरकार सञ्चालनमा अनुभव समेत नभएको र कार्यकक्ष नै अस्तव्यस्त भएकोले कसरी काम सञ्चालन गर्ने भन्ने समस्यामा परेका छन् । मन्त्रालयका कार्यालयसमेत अझै व्यवस्थापन हुन सकेका छैनन् ।

केन्द्रले खटाएका कर्मचारी अझैसम्म नपुग्दा कार्यालय व्यवस्थापनमा समस्या देखिएको हो । अहिले ६ वटै मन्त्रालयमा मन्त्रीहरुकै कार्यकक्ष समेत अस्तव्यस्त अवस्था छन् । सरकारले प्रदेश राजधानी तोकेको करिब डेढ महिना बित्दापनि मन्त्रालयका भवनहरुको रङरोगन तथा मर्मत कार्य पूरा भएको छैन ।

मन्त्रालयहरुमा सामान्य सरकारी कार्यालय जतिकोपनि चहलपहल छैन । मन्त्रालयका भवनहरुको समयमा मर्मत नभएको र कर्मचारी नपुगेकाले कामकाज गर्न समस्या आएको मन्त्रीहरुले नै गुनासो गर्ने गरेका छन् । अहिलेसम्म पर्याप्त कर्मचारी नहुनु र समयमा भवनहरु निर्माण नहुनुले संघीयता कार्यान्वयनमा समस्या आउने आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बताउनुभयो ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागि २९ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १२ जना मात्र कर्मचारी आइपुगेका छन् । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २९ जनाको दरबन्दीमा ९ जना, सामाजिक बिकास मन्त्रालयमा सवारीचालक बाहेक ३० जनाको दरबन्दीमा तीन जना, आर्थिक मामिला तथा योजना र उद्योग वन तथा वातावरण मन्त्रालयमा पनि ७÷७ जना,  भूमि व्यबस्थापन, कृषी तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दी भएकोमा अहिलेसम्म ५ जना र भौतिक पूर्वाधार बिकास मन्त्रालयमा तीन जना मात्र कर्मचारी पुगेका छन् ।

मन्त्रालय स्थापना भएको एक साता भन्दा बढी समय बितिसक्दासम्म मन्त्रालयको सचिव समेत नपुगेपछि मन्त्रालयको कामकाजका बारेमा समेत स्पस्ट हुन नसकेको भौतिक पूर्वाधार बिकास मन्त्री पठान सिहं बोहराले बताउनुभयो ।

बिषयगत मन्त्रालयमा २ सय ८७ जना कर्मचारीको दरबन्दी रहेको भएपनि दरबन्दी अनुसार कर्मचारी नपठाएको र पठाएका कर्मचारी अहिलेसम्म मन्त्रालयमा नपुगेपछि कामकाजमा समस्या आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रदिपराज कंडेल बताउनुभयो । मन्त्रालय स्थापना लगत्तै भवनको मर्मत र रङरोगन गर्ने कार्य तीब्र पारिएको छ । उता मन्त्रालयमा कर्मचारी नपुगेपछि मन्त्रीहरु दलबलसहित विभिन्न कार्यालय र योजनाहरुको अनुगमन तथा भ्रमणमा व्यस्त छन् ।

आफ्नै मन्त्रालयको उचित व्यवस्थापन गर्न नसकिरहेको बेला अन्य कार्यालयको अनुगमनलाई लिएर स्थानीयहरु भने आक्रोश छन् ।


शुक्रबार ११, फागुन २०७४ ०८:३६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस