Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:51 | शुक्रबार ०८, असार २०७५ १८:५१
विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

सोमबार, ०७ फागुन २०७४| Radio Dhangadhi
विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

एफएम संवाददाता
धनगढी ७ फागुन । वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.स. १९९७ माघमा बलिदानी दिनुभएको थियो ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

वि.स. २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । 


सोमबार ०७, फागुन २०७४ ०१:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस