---
Monday, December 10 2018, 23:58 | सोमबार २४, मङि्सर २०७५ २३:५८
जहाँ अहंकार हुन्छ त्यहाँ प्रेम मौलाउन पाउँदैन

बुधबार, ०२ फागुन २०७४| Radio Dhangadhi
जहाँ अहंकार हुन्छ त्यहाँ प्रेम मौलाउन पाउँदैन

केपी शर्मा ज्ञवाली

कति राता गुलाफहरू

ओइलाए आफ्नै हत्केलामा

सम्झना छैन मलाई तिनको सुवास कस्तो थियो

तर उस्तै ताजा मगमगाई रहेछ तिम्रो केसको सुगन्ध ।

-शेक्स्पियर

 

संवाद १-

आइ लभ यू सो मच

रियली ?

रियली, ट्रस्ट मी।

सो  लभ यू टू

संवाद २:

आइ लभ यू

यस्तो नन्सेन्स कुरा नगर मलाई मन पर्दैन

आइ रियली लभ यु, टाइ टु अन्डस्ट्यान्ड मी

खै अहिले म केही डिसिजन दिन सक्दिन सोच्ने समय देऊ

संवाद ३

एउटा कुरा भन्नु थियो तिमीलाई भनूँ ?

भन न के कुरा

कस्तो अप्ठ्यारो लाग्छ

के हो भन न

साँच्ची ?

अँ अँ

तिमीलाई थाहा छ म तिमीलाई मन पराउछु आइ लभ यू

ओ!! म त तिमीलाई जस्ट फ्रेन्डको रुपमा मात्र लिएको छु सरी यसभन्दा अघि बढ्ने हिम्मत नगर्नू नत्र बोल्नै छोडिदेऊ।

 

औसत मानिसका प्रेम सम्बन्धको सुरुवाती चरणका प्रेमिल संवादहरु हुन् यी। यस्तै यस्तै हुन्छन् कुनै कुनै फिल्मी संवाद पनि। प्रायः मानिसका सम्बन्धहरु यीनै संवादहरुबाट सुरु हुन्छन्। कतिको यहीबाट अन्त्य हुन्छ। कति मान्छेहरु प्रेमको आधाआधी एक चौथाइँ बाटो हिडिसक्छन् यिनै संवादहरुको बीचबाट। कतिपय आधाआधी पनि पुग्छन्। असाध्यै प्रेमिल मन भएकाहरू तीन चौथाई बाटा काट्छन् यात्रा त्यही सकिन्छ, बिसौनी त्यही हुन्छ। त्यसपछि जति अघि बढ्दै गयो यात्रा लम्बिदै जान्छ  प्रेमयात्राको उत्कर्ष बिन्दु कतै देखिदैन तर बाटो सकिदैन। यसको अर्थ प्रेम कहिलै पनि पूर्णताको बिन्दुमा पुग्दैन।

म भ्यालेन्टाइनको अवसरमा लेख्दै गरेको यो लेखमा प्रेमको लामो भूमिका बाँध्न चाहन्नँ। मैले आमा छोरा, बाबु छोरा, दाजुभाइ वा दिदीबहिनी वा अन्य कुनै मानवीय सम्बन्ध भन्दा फरक दुई नारी पुरुषबीचको प्रेमलाई लेखिरहेको छु ।

अरु प्रेम भन्दा यो प्रेम किन फरक छ भने अरु प्रेम सम्बन्धमा वासनाको लेस हुँदैन पछिल्लो प्रेममा वासनाले विशेष स्थान लिएको हुन्छ ।

अब यति कुरा लेखेपछि प्रष्ट भयो कि नारीपुरुषबीचको प्रेम भनेको वासनाबाट सिर्जित प्रेम हो । यौन हरेक प्राणीभित्रको प्राकृतिक चाहना हो । फरक यतिमात्र हो कि अरु प्राणीहरुमा यौनसँग भावनाको सम्बन्ध हुँदैन मानिसमा भावनासहितको यौनचाहना हुन्छ। यदि भावनाको सम्मिलन छैन भने मान्छेको प्रेम अरु प्राणीका भालेपाथी बीचको सम्बन्ध भन्दा फरक छैन हुँदैन।

प्रेमको रूप उमेर अनुसार फरक फरक हुन्छ। किशोरकालीन उमेरको प्रेम शरीरको भोकले प्रेरित हुन्छ। यौन इच्छाको पूर्तिको लागि प्रेमको बाटो खोजिन्छ। त्यसको लागि बिपरित लिंगीप्रति उनीहरुको स्वभाविक आकर्षण रहन्छ त्यसलाई आफूतिर खिच्नको लागि गरिने व्यवहार जो हुन्छ त्यो उउटा प्रेमको रुप हो। एक अर्काको नजिक हुन गरिने सबै प्रयत्नहरुमा प्रेम झल्कन्छ। यस्तो प्रेम चुरोट जस्तै  आगोबाट सुरु भएर धुवाँमा अन्त्य हुन्छ। यो समयमा यौनको आनन्द भन्दा जीवनमा अरु कुनै आनन्द छैन भन्ने महशुस हुन्छ।

यौनसँगै जीवनमा चाहिने धेरै कुरा छन् भन्ने बुझेपछि मात्र प्रेम गौण कुरा हुन जान्छ। उमेरसँगै मानिसका चाहना र भावना परिवर्तन हुँदै जान्छन्। शरीरको सुन्दरता मेटिदै जान्छ। समस्याहरुले ग्रस्त मानसिकतामा प्रेम नीरीह हुन्छ। अनि एकअर्काप्रतिको आकर्षण घट्दै जान्छ। द्वन्द्व बढ्दै जान्छ। अनि मानिस भावनात्मक तुष्टिको लागि अरू मान्छेको साथको अपेक्षा राख्छ।

यूवाकालीन प्रेम सम्बन्ध अत्यन्त बलियो शक्ति हो। एक त आफू भित्रको ऊर्जा त्यसमा कसैले दिएको प्रेमको ऊर्जा ।

तर अपसोस यो समयमा पनि भौतिक वा शारीरिक आकर्षण भन्दा प्रेम माथि उठ्न सकेन भने त्यो प्रेम होइन। केवल शरीरको मात्र समर्पण होइन प्रेम। भौतिक सुख स वासनाको तुष्टिमात्र होइन प्रेमको प्रयोजन। प्रेमको आनन्द जीवन्त हुन्छ । प्रेमको शक्ति जहिले पनि सिर्जनात्मक हुन्छ । एउटा नारी वा पुरुषको सफल जीवनको रहस्य लुकेको हुन्छ उनीहरुको प्रेम सम्बन्धमा ।

अहिलेक प्रेम सम्बन्धहरु भावना र हार्दिकता भन्दा निकै टाढा छन् । मान्छेको प्रेम पहिलो वासना र भौतिक कुराहरुसँग जोडिएको छ । शरीर एकातिर समर्पण गरेर चोखो माया गर्ने मान्छे खाज्दै अर्कोतिर भौतारिरहेको छ मान्छे । विवाह पूर्व अर्कैको शरीरसँग एकाकार भएर मन मिल्दो मान्छे खोजिरहेको छ अर्को तिर । शारीरिक सम्भोगको अनुभवले प्रेम भन्नु यस्तै हो जीवनमा एस आराम र सुख चाहिन्छ भन्दै भौतिक वस्तुको पछि दौडेका छन् प्रेम गर्ने मान्छेहरु । मान्छेसँग त्यतिन्जेल मात्र प्रेम छ जतिखेर सम्म उसका उसको जागिर छ, व्यापार छ, गाडी छ घर छ, बैंकमा ब्यालेन्स ठिक ठाउँमा रहन्छ, सपिंगमलमा आफ्नो इच्छाअनुसार रुटिन बनाउन पाइन्छ, लोग्नेले सबै इच्छाचाहना पुरा गर्नको लागि तयार र सक्षम रहन्छ त्यतिन्जेल लोग्ने परमपुज्य देवता नै हुन्छ । नत्र लोग्ने पनि अर्कैका राम्रा देखिन थाल्दछन् लाग्नेलाई पनि अर्कैका श्रीमति राम्रा देखिन थाल्दछन् । प्रेम आफैमा केही हुँदैन । कर्तव्य र जिम्मेवारीमा बाँच्दछ प्रेम ।

लागि कसैले कसैलाई मन पराउँछ वा कोही कसैलाई राम्रो लाग्छ भने दिल खोले मलाई तिमी/तपाईँ मन पर्छ । तपाईको बानी व्यवहार राम्रो लाग्छ भन्न के हिचकिचाउनु ? बरु म तिमीलाई माया गर्छु वा आइ लभ यु जस्ता शब्द प्रेमका कमजोर अभिव्यक्त्ति हुन् । प्रेम अनुभूतिको विषय हो । कसैलाई माया गरिने कुरा उसलाई जनाउन आवश्यक हुँदैन । व्यवहारले आफै बुझेको हुन्छ उसले । दुबैले एकअर्कालाई यसैगरि व्यवहार गरिएको छ भने, एक अर्काप्रति गरेका सबै व्यवहार स्वीकार्य छन् भने त्यहाँ आइ लभ यु भन्नु पनि जरुरी छैन उताबाट के जवाफ आउँछ पर्खनु पनि जरुरी छैन । एकअर्काको आवश्यकता र कुनै समय दुबैलाई एकअर्काको अभाव महशुस हुन्छ भने त्यहाँ प्रेम स्वतः प्रकट हुन्छ । एक अर्काबाट जीवनमा धेरै कुरा पाइएको छ भने जति सक्दो हामी नजिक हुनुपर्छ भन्न के अप्ठ्यारो ? आखिर एउटा पुरुषलाई एउटा नारी  र एउटी नारीलाई एउटा पुरुष चाहिन्छ नै भने त्यो स्विकार गर्नु नै छ भने किन अप्ठ्यारो ? मन परेको मान्छेसँग जीवन बिताउँछु भन्न किन हिचकिचाउनु ?

कसैले प्रेम गर्छु, मन पराउछु भन्यो भने पनि किन त्यसप्रति नकारात्मक हुने । नाइ म तिमीसँग सम्बन्ध राख्न सक्दिन भने पनि किन चित्त दुखाउने ? प्रेम अस्विकार गर्यो भन्दैमा उसलाई गलत किन ठान्ने ? उसले मन पराउँदिन भने के बाल म पनि के कम भन्ने आग्रह प्रेममा हुँदैन । कसैले अस्वीकार गरेपपनि प्रेम निरन्तर हुनुपर्छ । ओइलाएको बिरुवा पानी पाए जाग्न पनि सक्छ । तर सुकेको विरुवा हो जाग्दैन भन्ने जान्दा जान्दै त्यसमा पानी खनाइरहनु प्रेम होइन पागलपन हो ।

शेक्स्पियरले भनेका छन् जसले आफ्नो प्रेमको मूल्य जान्दैन त्यसको लागि प्रेम खर्च नगर।

जसले तिम्रो भावनालाई बुझ्ने कोशिस गर्दैन, तिम्रो भावना र प्रेमले प्रभाव पार्दैन उसलाई प्रभावित् पार्न धेरै समय किन खर्च गर्नु । उसलाई नराम्रो नगर। कसैको अघि बदनाम पनि नगर आलोचना पनि नगर । बस हृदयदेखि कुल्चेर त्यागिदेऊ । आउन नआउने निश्चित नभएको एकजनालाई पर्खेर समय खेर फल्नु भन्दा निरन्तर अघि बढ  सयौँ मानिस तिमीलाई पर्खिरहेका हुन्छन् । संसारमा सहयात्री प्रत्येक मान्छेलाई चाहिएको छ तिमीले पर्खैको कोही मान्छे पछि छ भने तिमीलाई पर्खेको कोही मान्छे अघि पनि छ निरन्तर अघि बढ ।

प्रेमलाई केही चाहिदैन

प्रेमलाई न प्रस्ताव चाहिन्छ न स्विकृति

प्रेमलाई न कसैको आदेश चाहिन्छ  न निषेधको नियम लाग्छ

न प्रेमको कुनै ऋतु हुन्छ न मौसम हुन्छ

प्रेममा न बाचा हुन्छ न कसम हुन्छ

 

न शर्त हुन्छ न बन्धन हुन्छ प्रेम त नदी जस्तै जता खाली उतै भरिदै जान्छ । आफू बग्ने माटोसँग कुनै शर्त हुँदैन पानीको । पानी सिञ्चेपछि माटोले फूल फुलाओस् झार उमारोस्।

खलील जिब्रान भन्छन् प्रेमले केही माग्दैन दिन्छ मात्र।

सदाशिब शर्मा भन्छन् यमि प्रेममा धोकाको भयबाट बच्नु छ भने अपेक्षारहित् प्रेम गर्नुस् । केही आशा नगरेपछि प्रेममा धोका हुनेछैन ।

कर्म गर फलको आशा नगर भन्ने गीता दर्शन प्रेममा लागु कसरी हुन्छ ? जसलाई प्रेम गरिन्छ जसबाट प्रेम पाइन्छ त्यसलाई सहजै गुमाउन कसरि सकिन्छ ?  प्रेम प्रेमको लागि कि जीवनको लागि यहाँ यो प्रश्न उठ्छ । प्रेम प्रेमको लागि हो भने त ठिक हो निशर्त र अपेक्षारहित प्रेम नै सही यदि प्रेम जीवनका लागि हो भने त प्रेममा पनि अपेक्षा हुन्छन् । शर्तहरु बाँधिन्छन् । अर्को कुरा प्रेममा  दिने इच्छामात्र हुन्छ भने, दुबैले दिन मात्र खोजे कसैले केही माग्नुपर्दैन । त्यो स्वतः पाइन्छ । लिनेले फेरि नदिए सम्बन्ध रोकिन्छ ।   जहाँ उउट माग्ने र अर्को दिने हुन्छ, अँह त्यहाँ केवल लेनदेन मात्र हुन्छ प्रेम हुँदैन ।

केही नहोस् सम्बन्धको बीचमा । घर नसोधियोस् जागिर नसोधियोस् । ओठको मुस्कान भन्दा शोभादायक गहना गलाको हार हुँदैन । प्रेम गर्नेले जीवनभरिलाई पुग्ने ओठ भरि मुस्कान दिनुपर्छ ।  समाजमा सबैको अघि आत्मसम्मापूर्वक शिर उठाएर बाँच्ने शक्ति दिनुपर्छ । कतै ढलेको बेला उठ्ने साहस दिनुपर्छ । जीवनलाई गति दिनुपर्छ । त्यसो त प्रेमको बाटो त्यति सहज हुँदैन । प्रेमको बीचमा सिमा हुन्छन् पर्खाल हुन्छन् । बन्धन हुन्छन् । खुलेर कसैलाई प्रेम गर्दा यहाँ अनैतिक भइएला । चरित्रहीन भइएला । कसैको नजरमा कतै खसिएला । घर परिवार र समाजले के भन्ला आदि इत्यादी प्रश्न खडा हुन्छन् । त्यसो त कुनै चुनौतिको समना नगरी प्राप्त गरेको कुराको महत्व पनि के नै हुन्छ र  ? प्रेमको बीचमा यस्ता चुनौति छन् फेरि चुनौतिमात्र हैन यस्ता चुनौतिलाई चिर्ने तागत पनि त्यही प्रेमले दिन्छ । प्रेमले आफ्नो अघि आएका सिमा आफै मिच्छ । पर्खाल आफै भत्काउँछ । प्रेमले दुवैलाई शिर उठाएर हिड्ने शक्त्ति दिन्छ भने प्रेममा नैतिकत अनैतिकताको कुरा हुँदैन । मलाई त के लाग्छ भने प्रेमको बाटो जहिलेपनि चुनौतिपूर्ण नै हुनुपर्छ ।    कसैलाई पाउन केही जोखिमपूर्ण बाटो हिड्न परोस् । गहिरो खाडल नाघ्नु परोस, पहाड उक्लनु परोस् चट्टान फोड्नुपरोस्, प्रेम त बिरोधकै बीचमा हुनुपर्छ ।किन कि सच्चा प्रेम न अभावमा गल्छ न कसैको दबाबले ढल्छ ।  किन कि संसारको लागि त्यो मान्छे एक हुन सक्छ तर उसको लागि एउटा त्यही मान्छे सिंगो संसार हुन्छ। जुन कुरा सहजै प्राप्त गरिन्छ त्यसको मुल्य पनि खास हुँदैन। जतन हुँदैन, माया हुँदैन। कठोर तपस्या र साधनाले प्राप्त गरेका कुराहरु अति मूल्यवान लाग्छन् ।

प्रेमिल यात्रा सुन्दर हुन्छ । आफ्नो प्रेमको पात्र  सँगको यात्रामा समथल  भिरालो बाटो उस्तै लागेस् । उज्यालो भन्दा अँध्यारोको यात्रा रोमाञ्चक बनोस् ।  डरलाई साहसले जितोस् ।  मन अहंकारबाट मुक्त होस्, हलुंगो होस् सिमलको भुवा जस्तै । सानो खुसीको झोक्कामा पनि फरफरी नाचोस् ।

साच्चिकै मन मिल्ने आफूलाई प्रेम गर्ने मानिससँगको पल जस्तो भएपनि सहज लाग्छ । ती क्षण नै स्वर्गीय आनन्दका क्षण हुन् जस्तै । । अन्कन्टार र निर्जन बाटो, निष्पट्ट अँध्यारामा पनि संसार मसँगै छ जस्तो  । पानीमा कतै  ओतिनु भन्दा रुझ्दै हिड्नुमा विशेष आनन्द ।

मुस्कान र प्रेमको साइनो सम्बन्ध धेरै नजिक छ । प्रेमको प्राप्तीमा ओठ आपसे आप मुस्कुराइरहेको हुन्छ । कसैबाट प्रेम नपाएको ओठ सधैँ मुस्कुराउने कोसिसमा मात्र हुन्छ, पूर्णतया कहिलै मुस्कुराउँदैन । जहाँ अहंकार हुन्छ त्यहाँ प्रेम मौलाउन पाउँदैन । प्रेमभन्दा माथि अअंकार नहोस्,  हुन्छ भने प्रेम भन्दा माथि त्यही प्रेम नै होस् । भेटमा सधैँ ओठभरीलाई पुग्ने मुस्कान होस् ।  पीडामा सुस्ताउने यौटा ओभानो छाती होस् । सूर्योदय अघि र सूर्यास्त पछि  धर्तिमाथि जुनको शितल चुम्बन जस्तै साटिइरहुन चुम्बनहरु हृदयका उच्छवाससँग केश सेताम्य भए पनि ।  अनुहार चाउरिएर मुजा मुजा परेपनि ।  आँसुमा पनि, समस्या र अभावमा,  दबाबमा पनि ।

यही नै हो शास्वत प्रेम, पवित्र प्रेम ।


बुधबार ०२, फागुन २०७४ ०४:१४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस