---
Wednesday, February 21 2018, 03:19 | बुधबार ०९, फागुन २०७४ ०३:१९
खप्तड : एउटा भू-स्वर्गको वृत्तान्त

आइतबार, २८ माघ २०७४| Hari Joshi
खप्तड : एउटा भू-स्वर्गको वृत्तान्त

 मिलन परियार -

janataPost

 

सुदूर पश्चिमलाई भूगोलको अभिशाप भन्ने आरोप लागेको छ । पछौटेपन, विकटता, जातीय तथा लैंगिक विभेद, गरिबी, अशिक्षा र अभावले ग्रस्त क्षेत्र मानिन्छ । तर यही भूगोलभित्र अनुपम र मनोरम प्राकृतिक सौन्दर्य लुकेर बसेको छ । 


तीमध्ये एक हो, खप्तड राष्ट्रिय निकुञ्ज । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु निकै प्रख्यात छन् । 


पुराणअनुसार महादेवले खप्तडको जडिबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरु शदियौँदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । हजारौँ तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् र त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्छन् । 


खप्तडमा जताततै लामा अनि थुम्कासहितका हरिया फाँट । फाँटभरी पर्सीयन कार्पेट ओछ्याए झंै थरीथरीका फूलहरु तीमाथि उडिरहेका रंगीबिरंगी पुतली ! चारैतिर कलमी गरे झैँ लाग्ने घना जंगल । जंगलभित्र नौवटै रङका लालीगुराँस । 


घना जंगलभित्र सुगन्ध फैलाउने जडिबुटी र हरिया घाँसे मैदान । हरिया घाँसमा उफ्रिरहेका हरिया छेपारो, अनि विस्तारै बग्ने त्रिवेणी खोला र खोलामा बझाङी पाहा (भ्यागुता) । मौसम पनि कस्तो रमाईलो ! छिनमै वर्षात् । छिनमै हिमपात । अनि छिन्मै उडाउला झैँ हुरीबतास त केहीबेरमै छिप्पिंदो घाम । 


त्रिवेणीदेखि उत्तर खप्तड बाबाको कुटी छेउमै देखिने सधैँ हासीरहने अपी र सैपाल हिमाल । प्राकृतिक सौन्दर्यले भरिभराउ खप्तड कुनै स्वर्गभन्दा कम छैन ।   
सुदूर पश्चिमको सेती अञ्चलका चार पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो, खप्तड । खप्तड राष्ट्रिय निकुञ्जका तत्कालीन संरक्षक नारायण रुपाखेतीका अनुसार जैविक विविधताले भरिपूर्ण खप्तड हेर्न कोही पनि आएका छैनन् । उनी भन्छन्, ‘हेर्न र अनुसन्धान गर्न धेरै विषय छन्, खप्तडमा ।’
समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाईंमा २ सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज, विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो । यहाँ साना–ठूलागरी २४ भन्दा बढी पाटन (फाँट) छन् । 


सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल खप्तड प्रकृतिमा लुकेको स्वर्ग हो । यसलाई विसं २०४१ सालदेखि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो । उत्तरमा दार्चुलाको अपी र बझाङको सैपाल हिमालको मनोरम दृश्य, अमूल्य जडिबुटी र रंगीबिरंगी फूल फुल्ने बोटबिरुवा, सफा नरम पर्सीयन कार्पेट बिछ्याइए झैँ लाग्ने मैदान, जहाँ टेक्दा पनि बिग्रन्छ कि जस्तो लाग्छ । 


यस्ता फूलबुट्टे मैदानमा सिंगारिएका बगंैचा, जताततै प्राकृतिक सुन्दरता । जमिनमा टेक्दा कतै रोमाञ्चकारी दलदल भेटिन्छ भने नागढुंगा र बाघबुट्टे निङाले झाडी छिर्दा अर्कै दुनियाँमा पुगेको भान हुन्छ । खप्तडमा यसरी प्राकृतिक सौन्दर्य, प्रसिद्ध धार्मिकस्थल भएपनि तथा यहाँबाट मनोरम हिमश्रृंखलाका दृश्य नजिकैबाट देखिएपनि निकै कम पर्यटक मात्र पुग्ने गरेका छन् । 


निकुञ्ज स्थापनापछि खप्तडमा करिब तीनसय जना मात्र विदेशी पर्यटक पुगेको तथ्यांक निकुञ्जसँग छ । ‘२०४३ सालमा पहिलोपटक पोस्टिङ भएर आएपछि पटकपटक गरी खप्तडमा १५ वर्ष बसेँ,’ तत्कालीन वार्डेन रुपाखेतीले भने्, सम्भवत ः थोरै पर्यटक पुगेको निकुञ्ज खप्तड नै होला, त्यसैले यो क्षेत्र भर्जिन छ ।’


तर सौन्दर्यका हिसाबले कुमारी नै भएपनि खप्तडमा वर्षको एकदुई जनाबाहेक खासै विदेशी पर्यटक आएका छैनन् । खप्तड त केवल गोठालाको चरिचरनमा मात्र सीमित हुन पुगेको छ । 


नागढुंगा, केदारढुंगा, पुराना मठमन्दिर, बागबुट्टे निंङ्गालो, पाँचऔले, बझाङी पाहादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तिर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउने क्षमता राख्छ । डाँफेकोट, घोडा दाउने पाटन र खापर दह खप्तडका प्राकृतिक विशेषता हुन् ।   


त्यसैमा प्रख्यात खप्तड बाबाले ५० वर्र्षसम्म तपस्या गरेको कुटीसमेत रहेको भूमिमा पर्यटकको चासो किन गएन ? प्रचारप्रसार नहुनु तथा सञ्चार माध्ययममा उचित स्थान नपाएको कारण पनि सुन्दर खप्तड अहिले पर्यटकको पर्खाइमा छ । 


केन्द्रीय स्तरबाट खप्तडको प्रचारप्रसार गरिन लागेको पनि झण्डै डेढदशक नाघिसक्यो । तर खप्तडका नाममा कमाउने कामबाहेक केही भएन । अहिले खप्तडको विकास गर्ने उद्देश्यले सरकारी स्तरबाटै खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । त्यो समिति पनि अहिले विवादित बनेर अख्तियारको निगरानीमा परेको छ । 


यसअघि मधेशी जनअधिकार फोरम तर्फका समिति अध्यक्ष कर्णबहादुर केसी र कार्यकारी निर्देशक गणेश सिंहले अनावश्यक कर्मचारी भर्ना गरेको र मनोमानी बजेट विनियोजन गरेको भन्दै समितिका सदस्यहरुले अख्तियारमा उजुरी गरेपछि कार्यालयको कामकाजसमेत ठप्प भएको थियो । दुई वर्षसम्म कर्मचारीले तलबसमेत पाएनन् । 


नेपालले यसअघि पर्यटन वर्ष बनाउँदा पनि खप्तडमा खासै चहल पहल देखिएन । सरकारी स्तरबाट मात्र नभई स्थानीय तहबाटसमेत वर्षको एकपटक गंगा दशहरा मेलाबाहेक खप्तडको महत्व बढाउने गतिविधि हुन सकेका छैनन् । 


खप्तड मानव बस्तीभन्दा टाढा छ । खप्तडका चारैतिर डोटी, अछाम, बझाङ र बाजुरावासीका गोठ छन् । गोठालाहरु निकुञ्जमा पूर्जी काटेर वैशाखदेखि असोजसम्म गाई, भैँसी र पाठा–बाख्रा चराउन यहाँ बस्ने गर्छन् । 


३,२०० मिटर उचाईंमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ । पाटनहरु हिउँले सेताम्मे भएका हुन्छन् । गोठालाहरु कात्तिकदेखि खप्तडलाई छाडेर आ–आफ्ना घर जान्छन् । जसका कारण खप्तड क्षेत्र र मानवबीच बेला बखतबाहेक दोहोरो संवाद हुन पाएको छैन । 


वर्षको एकपटक जेठमा पर्ने गंगा दशहरामा त्रिवेणीमा मेला लाग्ने गर्छ । मेलामा डोटी, अछाम, बझाङ र बाजुराबाट मानिस आउने गर्छन् । तर मेलामा देउडा खेल्नबाहेक स्थानीय बासिन्दा खप्तड पुग्दैनन् । खप्तड बाबाले ५० बर्षसम्म तपस्या गरेर जीवनोपयोगी पुस्तक लेखेको ठाउँ पनि यही हो । 


सानो हावाको झोँकमा पनि सुसेरा हाले झंै गर्ने रानी सल्लाह, बाच, लालीगुराँस, खस्रोउ, लेक सल्लो, लोठ सल्लाका रुखको आनन्द लिने कोही छैनन् । चार रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैँचा हो । 


नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निङ्गालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । 


विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोती छन् । यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिम चितुवाको पनि बासस्थान हो । 


वास्तवमा यो सानो राष्ट्रिय निकुञ्ज, अमूल्य जडिबुटी र जीवजन्तु संग्रहालय हो । खप्तड बाबा जीवित रहँदासम्म राजा वीरेन्द्र सिधै हेलिकप्टरमा जंगलबीचको बाबाको कुटीमा पुग्थे । काठमाडांै, नेपालगञ्ज र धनगढीबाट सीधै बस चढेर डोटीको सदरमुकाम सिलगुढी पुगिन्छ । 


सिलगुढीबाट एक दिनको हिंडाइपछि निकुञ्जको प्रवेशद्वार अर्थात् निकुञ्ज सुरक्षार्थ खटेको नेपाली सेनाको शमशेर गुल्मको चेकपोस्ट झिंग्रानामा बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ । झिंग्रानादेखि देखिन थाल्छन्, मनोरम दृश्य । अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरु । त्यहाँबाट घना जंगलैजंगल पाच घण्टा हिडेपछि बीचपानीमा बस्नुपर्छ । बीचपानीमा एउटा सानो होटल छ । त्यही होटलमा खप्तडमा पाइने निंगालाको टुसाको तरकारी र लोकल पाठाको मासु खान पाइन्छ । 


अर्को दिन बुकी दह अर्थात् खप्तडको पहिलो पाटन (फाँट) हँुदै बेलैमा त्रिवेणी पुगिन्छ । त्यहाँ तीनवटा खोलाको संगममा त्रिवेणी मन्दिर छ । त्रिवेणी मन्दिरबाट हिंड्न शुरु गरेपछि खप्तडका प्रख्यात् गणेश मन्दिर, घोडादाउने पाटन, सहस्र लिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाको आश्रमस्थल हेर्न पाइन्छ । 
खप्तडमा दुईवटा साना होटल छन् । ती होटल खप्तड मेलामा मात्र खुल्छन् । यहाँ बास बस्न चारवटा धर्मशाला छन् । खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालय नजिक पर्यटक बस्ने २ वटा घर बनाइरहेको छ । त्यो पनि बजेट निकासा रोकिएपछि अधुरै बसेको छ । खप्तड प्रकृतिको स्वर्ग एवं पवित्र धार्मिक स्थल भएपनि खाना बस्नको सुविधा नभएकै कारण पर्यटकको पर्खाइमा टोलाइ बसेको छ ।   


बझाङी पाहा (भ्यागुता)   

भ्यागुता जस्तो देखिने बझाङे पाहा खप्तडको त्रिवेणीमा मात्र पाइन्छ । प्राणीशास्त्र अध्ययन गर्नेका लागि खप्तड उपयोगी स्थल हो । 
निकुञ्जका कर्मचारीले सन् १९९६ मा फेला पारेको बझाङे पाहा भ्यागुताभन्दा सुन्दर हुन्छ र खुट्टाको बनौट अन्य भ्यागुताभन्दा फरक हुन्छ । त्रिवेणीमै पाइने खस्रे भ्यागुता पनि नेपालमा अन्यत्र नपाइने रुपाखेती बताउछन् । 


हरियो छेपारो 

विश्वकै दुर्लभ मानिने हरियो रंङको छेपारो पनि खप्तडमा पाइन्छ । यो छेपारो गाढा हरियो र हल्का पहेलो रङको छ । यसको शरीर हल्का कालो बुट्टेदार देखिन्छ । खप्तडको बिचपानी, झिंग्राना र सेलेभाबरको जंगलमा हरियो छेपारो देख्न पाइन्छ ।


डोटीको सदरमुकाम सिलगुढीदेखि पैदल बगलेक हँुदै खप्तड जाने क्रममा खप्तडको प्रवेशद्वार झिंग्रानाको उकालो चढ्दा हरियो घाँसमा हिंड्दै गरेको गाढा हरियो रङका छेपारा देख्न सकिन्छ । विश्वमै दुर्लभ हरियो छेपारो स्वीट्जरल्याण्ड र खप्तडमा मात्र पाइने तत्कालीन निकुञ्ज प्रमुख रुपाखेतीले दावीसमेत गरे । 
खप्तड राष्ट्रिय निकुञ्जको स्थापना भएपछि आफू पहिलोपटक २०४३ सालमा पोस्टिङ भएर आउँदा विश्वमा स्वीट्जरल्याण्डमा मात्र पाइने हरियो छेपारो खप्तडमा पनि देखेको रुपाखेतीले बताए ।


आइतबार २८, माघ २०७४ ०३:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस