---
Saturday, October 20 2018, 23:44 | शनिबार ०३, कार्तिक २०७५ २३:४४
चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

शुक्रबार, २६ माघ २०७४| Radio Dhangadhi
चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

एफएम संवाददाता
दार्चुला २६ माघ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ ।

प्रधानमन्त्री चमेलिया जानुहुनेभएपछि त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री देउवाले ११ बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उदघाटनका लागी चमेलिया क्षेत्र सिंगारिदैछ ।

लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगार्न थालिएको हो । हाउँस क्षेत्रमा फुलहरु रोप्ने कार्य भईरहेको छ । प्रधानमन्त्री देउवासगै उपप्रधान तथा उर्जामन्त्री कमल थापा पनि चमेलिया जाने कार्यक्रम छ ।

सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ ।

शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो ।

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ ।

आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको छ ।   
 


शुक्रबार २६, माघ २०७४ ०७:०३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस