---
Wednesday, February 21 2018, 02:55 | बुधबार ०९, फागुन २०७४ ०२:५५
यी हुन् डिभिजन दुईमा सर्वाधिक सफल पाँच नेपाली ब्याट्सम्यान र बलरहरु

बुधबार, २४ माघ २०७४| Radio Dhangadhi
यी हुन् डिभिजन दुईमा सर्वाधिक सफल पाँच नेपाली ब्याट्सम्यान र बलरहरु

नेपालले सन् २०१५ मा नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिसकेको छ। उक्त डिभिजन दुईमा नेपाल तेस्रो स्थानमा रहँदै विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेको भए नेपालले सिँधै विश्वकप छनोट खेल्न पाउने थियो तर आठ टोली सम्मेलित प्रतियोगितामा साँतौ हुँदै नेपाल डिभिजन दुईमा झर्यो।

डिभिजन दुईमा झरेसँगै नेपाल पुनः नामिबियाँमा डिभिजन दुई खेल्न पुगेको हो। बिहीबार आयोजक नामिबियाको सामना गर्ने नेपाली टोलीका ८ खेलाडीले यसअघि नामिबियामा खेलिसकेका छन् भने ६ खेलाडी नयाँ छन्।

कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले यसअघि नामिबियामा भएको डिभिजन–२ खेलिसकेका छन्।

दीलिप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहित कुमार पौडैलका लागि भने नामिबिया पीच नौलो हो।

नामिबियामा तीन वर्षअघि भएको डिभिजन दुईमा नेपालका तर्फबाट सवैभन्दा बढी रन स्कोर गर्ने ब्याट्सम्यान र सर्वाधिक विकेट लिने बलरहरु यी हुन्ः

ब्याट्सम्यान

१) ज्ञानेन्द्र मल्ल
उपकप्तान ज्ञानेन्द्र मल्ल डिभिजन दुईमा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । ज्ञानेन्द्रले ६ खेलमा ५९ को औषतमा २ सय ३६ रन जोडेका थिए। केन्या विरुद्ध ज्ञानेन्द्रले नटआउट ९१ रन जोडेका थिए। समग्रमा भने उनी तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा रहेका नामिबियाका एसजे बार्ड र दोस्रो नम्बरमा रहेका एमजी एराजमसको उनीभन्दा क्रमशः १४ र ५ रन मात्रै बढी थियो।

२) पारस खड्का 
कप्तान पारस खड्का डिभिजन दुईमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सुचीमा दोस्रो नम्बरमा छन्। ६ खेलमा ३० को औषतमा उनले १ सय ८५ रन जोडेका थिए। प्रतियोगितामा सर्वाधिक रन बनाउनेको समग्र सुचिमा भने पारस ८औं स्थानमा थिए।

३) विनोद भण्डारी
विस्फोटक विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई खराब लयमा भएका कारण यसपटक टोलीमा मौका दिइएन्। तर, उनी डिभिजन दुईमा सर्वाधिक रन जोड्ने नेपाली खेलाडीमा तेस्रो नम्बरमा छन्। विनोदले ६ खेलमा १ सय ४४ रन जोडेका थिए।

४) शरद भेषावकर
नेपाली टोलीमा फिनिसरको उपमा पाएका शरद भेषावकर डिभिजन दुईमा सर्वाधिक स्कोर गर्ने चौथो नेपाली खेलाडी हुन्। शरदले ६ खेलको ५ इनिङ खेल्दै ७८ रन जोडेका थिए।

५) सुवास खकुरेल
चोटका कारण सुवास खकुरेलको नेपाली टोलीमा पुनरागमन हुन सकेको छैन्। डिभिजन दुईमा नेपालका लागि सर्वाधिक स्कोर गर्ने उनी पाँचौ खेलाडी थिए। ६ खेलमा उनले ६३ रन जोडेका थिए।

बलरहरु

१) सोमपाल कामी
सोमपाल कामी डिभिजन दुईमा सर्वाधिक सफल नेपाली बलर हुन्। ६ खेलमा ५२.४ ओभर बलिङ गरेका सोमपालले ११ विकेट लिएका थिए। यसपटक पनि उनी नेपालका मुख्य बलरका रुपमा नामिबिया पुगिसकेका छन्।

२) करण केसी
नेपालका लागि सर्वाधिक विकेट दिलाउने दोस्रा नम्बरका खेलाडी करण केसी हुन्। ६ खेलमा ४३.१ ओभर बलिङ गरेका करणले ९ विकेट लिएका थिए। उनको इकोनोमी ३.३१ मात्रै थियो। यसपटक करण पनि राष्ट्रिय टोलीसँगै नामिबिया पुगिसकेका छन्।

३) बसन्त रेग्मी 
बसन्त रेग्मी नेपालका लागि चौथो सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा छन्। ५ खेलमात्रै खेलेका बसन्तले ४७ ओभरमा ७ विकेट लिएका छन्। उनको इकोनोमी २.८७ मात्रै थियो।

४) शक्ति गौचन
भेट्रान स्पिनर शक्ति गौचनले पनि बसन्तसँगै ७ विकेट लिएका छन्। एक खेल बढी खेलेका उनले ४४.२ ओभर बलिङ गर्दै सो विकेट हात पारेका थिए।

५) पारस खड्का
पारस खड्काले नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका थिए। ब्याटिङतर्फ दोस्रो नम्बरमा रहेका पासले ६ खेलमा ६ विकेट हात पारेका थिए। ५२ ओभर बलिङ गरेका पारसले १० ओभर मेडन मात्रै फालेका थिए।

नेपाल खबरबाट साभार 


बुधबार २४, माघ २०७४ ०२:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस