New Dohori songs

04:00 PM - 05:00 PM

Thursday, April 26 2018, 16:45 | बिहिबार १३, बैशाख २०७५ १६:४५
‘म अभिनेता मात्र हुन चाहन्छु’

शनिबार, ०६ माघ २०७४| Radio Dhangadhi
‘म अभिनेता मात्र हुन चाहन्छु’

आफैं नाटक लेखिरहेका थोरै रंगकर्मीको सूचीमा पर्छन् सुलक्षण भारती। उनी लेखनसँगै निर्देशन र अभिनय पनि गर्छन्। पछिल्लो समय ‘बिलगेट्स पण्डित’, ‘मिल्क टी’, ‘बोक्सीको घर’, ‘सलेदो’ जस्ता नाटकमार्फत उनले समाजका विभिन्न विकृतिविरुद्ध बोलेका छन्। श्रीमती सिर्जना अधिकारीसँगै उनले भर्खरै ‘पुरानो घर’ नामको नयाँ थिएटर स्थापना गरेका छन्। यसको भवन सिनामंगलमा बनिरहेको छ। त्यही थिएटरको बन्दै गरेको जग नजिकै बसेर उनले सुरज सुवेदीसँग कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

जिन्दगीको यो कुन मोड हो जस्तो लाग्छ ? यो मोडमा आइपुग्दा कस्तो लागिरहेको छ?

मेरो जीवन हेर्दा त यो जिम्मेवारीको समय हो। भर्खरै बच्चा भएको छ। जिम्मेवारी थपिएको छ। करियरको हिसाबमा भने म हरेक मान्छे पुग्ने टर्निङ प्वाइन्टमा छु। नयाँ थिएटर सुरु गरेका छौं। जग तयार हुँदैछ। थिएटर गर्छु भनेर आएको मान्छे हैन। फिल्ममा हिरो हुन्छु भनेर आएको हुँ। अब आफैं थिएटर सुरु गर्न लागेको छु। साँच्चै ठूलो मोडमा छु। यहाँबाट कता घुम्छु भन्ने आगामी दिनले देखाऊलान्।

मण्डला थिएटरमा हुनुहुन्थ्यो। नयाँ थिएटर किन खोल्नुपर्यो?

मण्डलामा १२/१३ जना बसेर काम गरिरहेकै थियौं। थिएटर बनाउनुको उद्देश्य मण्डला नराम्रो भएर हैन। आफ्नै केही बिचारका कारणले हो। मलाई थिएटरलाई व्यवसायीकरण गर्न मन छ। काम गरेपछि पैसा पाउनुपर्छ भन्ने लाग्छ र पैसा त्यति पाउनुपर्छ जति काम गरेको हो। यसमा सफल हुन्छु-हुन्न, थाहा छैन। सोचेको अनुपातमा दिन सक्छु-सक्दिन, समयले मेरो प्रयास स्वीकार्छ-स्वीकार्दैन, त्यो पनि थाहा छैन। तर थिएटर खोल्नुको मुख्य उद्देश्य चाहिँ व्यवसायीकरण गर्न नै हो।

अहिलेसम्म नाटक लेखन, निर्देशन र अभिनय गर्नुभयो। यसो विगत सम्झेर हेर्दा आफू कहाँ आइपुगेँ जस्तो लाग्छ?

अभिनेताको रूपमा चाहिँ मैले आफूमा ग्रोथ गरिरेहको छु जस्तो लाग्छ। किनकि म अभिनेता नै बन्न आएको हुँ। भलै फिल्म सोचेर नाटकमा आइपुगेँ। जहाँसम्म लेखक अथवा निर्देशनको कुरा छ, त्यो सबै बाध्यता हो।

कस्तो बाध्यता?

मलाई नाटक गर्न मन लाग्छ। हरेकपल्ट आफूलाई यस्तो खाले पात्र बनाउँछु भन्ने सोच्छु। यस्तो सबैलाई हुन्छ होला। जस्तै ‘बोक्सीको घर’ को पात्र म आफैं हुन मन थियो। तर त्यो एक महिलाको कथा थियो। जुन कथा म गर्न सक्दिन थिएँ। अभिनय नगरे पनि त्यो नाटक आफैंले अभ्यास गर्दैगर्दा लेखेको हो। ‘बिलगेट्स पण्डित’ त म आफैसँग जोड्छु। भर्खरै पनि पढेको थिएँ। पढ्दै गर्दा त्यो लेखेको दिनमा पुगेँ। त्यस्ता काम गर्नमात्र म लेखक वा निर्देशक बन्नुपरेको हो। अन्यथा म कुनै लेखक तथा निर्देशक हैन।

निर्देशक वा लेखक हैन भन्दै गर्दा तपाईंका पाँचवटा नाटक आइसकेका छन्। यो त आफूले गरेको कामको जिम्मेवारीबाट पन्छिने तरिका भएन र?

ती काम सुलक्षण भारतीले गरेको भन्दा पनि उसको कलाकार बन्ने इच्छाले गराइदिएको हो। त्यो काम वा विषय मैले हैन, म भित्रको अभिनेताले देखेको हो। म माध्यम मात्र हुँ। म भित्रको अभिनेताले त्यो सबै गर्न मलाई धकेलिरहेको हो।

सुलक्षण भारतीले ती सबै काम गर्दिनँ भन्यो भने के हुन्छ?

मेरो सन्तुष्टि हराउँछ। मान्छेले सबथोक गर्ने सन्तुष्टिका लागि हो। एक कलाकारको रूपमा अनुभूति गरेका कुरा नाटकमा राखेको हुँ। मलाई कति कुरा भन्न मन लाग्छ जुन अरूका नाटकमा हुँदैन। कहाँबाट खोजुँ त्यस्तो नाटक जहाँ मैले भनेकै कुरा कसैले लेखिदिएको होस्। यस्ता कुराले झक्झक्याउँछ। एक कलाकार भएर थिएटरमा छिरेपछि यस्ता कुरा देख्न थालेको हुँ। विभिन्न अवसरले मलाई केही गर्न अह्राएका छन्। बिचार यस्तो थिएन।

यसमै जोडिहाल्छु, एक रंगकर्मी र सामान्य मान्छेमा फरक हुन्छ?

मेरा कुरा अरूसँग नमिल्न सक्छन्। मेरो अनुभवमा चाहिँ एउटा रंगकर्मी वा कलाकार हुनु भनेको सामान्य मान्छेभन्दा फरक हुनु हो। कुनै काम गरिसकेपछि हामी सामाजिक जिम्मेवारीमा हुन्छौं। तपाईंलाई व्यक्तिगतरूपमा झुटो बोल्नु हुँदैन भन्नु र स्टेजमा दर्शकअगाडि झुटो बोल्नु हुँदैन भन्नु फरक छ। दर्शक अगाडि बोलेपछि त्यसलाई आफूमा लागू गर्ने प्रयत्न गर्नुपर्छ। किनकि मैले एकपल्टमा धेरैजनालाई प्रभाव पारिरहेको हुन्छ। अझ फिल्ममा यसको प्रभाव चाँडो हुन्छ। मान्छेले कलाकार र उनीहरूले बोलेको सम्वादलाई प्रेरणा मानिरहेका हुन सक्छन्। यो एक जिम्मेवारी पनि हो। हाम्रो आवाज अलि धेरै ठाउँमा पुग्छ।

अघि म हुन चाहेको हैन, म भित्रको कलाकारले सबैथोक गराएको हो भन्नुभयो। सुलक्षण भारती हुन चाह्यो भने चाहिँ के हुन्छ त?

म अभिनेता मात्र हुन चाहन्छु। म राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, सारंगा श्रेष्ठ आदिलाई मोडल मानेर हुर्किएको हुँ। वसन्त श्रेष्ठ सरकोमा डान्स सिक्थेँ। बलिउड प्रभाव धेरै परेको थियो। यहाँ थिएटरमा आएपछि भने कलाकारिताप्रति चेतनाको दायरा फराकिलो भयो। गुरुकुलले जुन कलास्तर कायम गर्‍यो त्यो त्यसपछिका रंगमंचले पनि गरे। त्यसले मलाई फिल्मतिर जान दिएन। अहिले बरु केही धर्मराँउदै गएको जस्तो लाग्छ। हामीले गुदी कुरा कसरी बचाउने भन्ने निकै महत्त्वपूर्ण हुँदै गएको छ।

त्यो कलाको चेतना धर्मराउँदै गएको भनेको कस्तो हो र सुधारिएको भनेको कस्तो ?

बिग्रिँदै गएको वा सस्तो हुँदै गएको भन्नुको मतलब अहिले हामी एकदमै सस्तो कमेडी गर्न थालेका छौं। सस्तो कमेडीलाई दोष दिन खोजेको हैन। कुनै विषयबारे बोल्छौं भने त्यो विषयवस्तुमा हाम्रो कति गहनता छ भन्ने कुरा हो। मैले मिल्क टि नाटक गरेँ जसमा जबरजस्ती बिचमा कमेडी घुसाएको छु। खासमा त्यो कमेडी विषयले मागेकै थिएन। त्यसलाई बिग्रिँदै गएको भन्न सकिन्छ। सलेदो पनि धेरै काब्यिक नाटक थियो। जीवनका धेरै गहन पाटोसँग खेलेको थिएँ त्यहाँ। तर त्यसमा पनि कमेडी राख्नैपर्यो। किनभने त्यो नभई दर्शक अडिँदैनन्।

दर्शकलाई कसरी ट्रेन गराइरहेका छौं त? दर्शकले त्यो हेर्ने हो जुन हामीले देखाउने हो। हामीले उनीहरूका लागि कस्तो सामग्री पस्किएका छौं भन्ने कुरा आउँछ। मान्छे नाटकको सबभन्दा गम्भीर दृश्यमा पनि हाँस्न थालेका छन्। लाटीको छोरोमा हजाम पात्र अन्तिममा अर्को पात्रले बोलाएपछि फर्किएको सिनमा मान्छे हाँसिदिए। जबकि त्यो सिनले सन्नाटा ल्याउनुपर्ने थियो।

दर्शकलाई यस्तो सस्तो कमेडी देखाइरहेका छौं कि उनीहरू अल्मलिएका छन्। वा हामी असफल भएका छौं। एउटा मान्छे चिप्लिएर लड्दा मान्छे हाँस्छन्। लड्दा हाँस्नु हुँदैन भन्ने संवेदना हामी सिकाउँदैनौं। हाँस्न हुन्छ भनेर सिकाउँछौ भने सस्तो भयौं। तर अहिले बाध्यता छ। त्यही हाँस्नुपर्छ भन्ने कुरा मैले मेरा नाटकमा पनि छिराएँ किनभने त्यति नगरे जे मैले देखाउन खोजेको हो त्यो सुनाउन पाउँदिनँ, नाटक चल्दैन। गहन विषय हामीले कमेडीको आडमा बोल्नुपरेको छ। गाईलाई केराभित्र दबाइ राखेर खुवाए जस्तो भएको छ। व्यवसायीकरण पनि हेर्नुपर्ने छँदैछ।

अप्रत्यक्ष रूपमा नाटक हेर्ने दर्शकको स्तर माथि असन्तुष्टि व्यक्त गर्नुभएको हो?

बिजयकुमारले जनताले स्तरअनुसारको नेता छान्छन् भन्नुभए जस्तै दर्शकले पनि स्तरअनुसारको कलाकार वा नाटक छानिरहनुभएको छ।सस्तो कमेडी पस्किने अनि दर्शकलाई दोष लगाउने भन्ने पनि प्रश्न आउन सक्छ। मैले परिमार्जन चाहिँदैन भनेको हैन। हामी समयअनुसार परिवर्तन हुनुपर्छ। विषय प्रस्तुत गर्दा कलाको मूल्य नमारीकन कमेडी गर्दा फरक पर्दैन होला। त्यो फ्युजन पनि रमाइलै हो।

हामीले यही काम गरेर जीविका पाल्छौं भन्ने पनि बिर्सिनु हुँदैन। तर फेरि यस्तो भन्दै गर्दा फ्युजन नकारेर सस्तो कमेडीकै भर भने पर्नुहुँदैन। त्यसले कला मर्न सक्छ। अबको संसारमा कुनै कला पूर्ण कला थिएन र हुँदैन पनि। यो व्यवसाय पनि भएकाले सबै खाले दर्शक समात्ने जमर्को गर्नु नराम्रो भन्न मिल्दैन। मैले सोचेको त्यही हो। सबैसम्म चेतना पुर्‍याउने माध्यम खोजी गर्ने काम भइरहेको छ। मैले मात्र हैन अरूले पनि गरिरहनुभएको छ।

बिलगेट्स पण्डितबाट निर्देशन सुरु गर्नुभयो। निर्देशकीय रूपमा के मोटिभेसन हुँदो रहेछ नाटक गर्न? वा एक निर्देशक हुनु कलाकार हुनुभन्दा फरक कसरी रहेछ?

मलाई गाह्रो लाग्यो। निर्देशक हुन गाह्रो छ। एउटा टिमको नेतृत्व गर्नुपर्छ। नेपालमा त झन् सबैतिर आफैं हेर्नुपर्छ। वास्तविक रूपमा निर्देशकले नेतृत्व गर्ने कुरा निर्देशन मात्र हो। तर हाम्रोमा अन्य पाटा व्यावसायिक नभएकाले सबैथोक निर्देशककै काँधमा आउँछ। निर्देशन पक्षबाहेक आर्थिक, लाइट, कास्टिङ, सेट सबै निर्देशकले नै हेर्नुपर्छ। आइडियल सिनारियोमा भने एक जना निर्माता हुन्छ जसले आफैं लगानी गर्ने हैन कि  पैसा जुटाउँछ। निर्देशक र कलाकार छान्छ। अन्य विभागमा पनि जिम्मेवारी सहितको मान्छे खोजेर टिम बनाउँछ। अनि त्यो टिमले काम गर्ने हो। निर्मातासँग यो नाटक कस्तो खालको गर्ने भन्ने सबै चेतना हुन्छ। उसले निर्देशकलाई विभिन्न सुझाव दिन सक्छ।

सामाजिक पाटो समातेर नाटक गरिरहेका छन्। तपाईंका नाटक पनि सबै सामाजिक विषयमै छन्। सामाजिक विषय आउनुको कारण के हो? आफूले फरक काम गरिरहेको छु जस्तो लाग्छ कि लाग्दैन?

कथा यो समाजभन्दा बाहिरबाट आउँदैन। म यही समाजमै छु। त्यसैको कारण होला। तर अरूभन्दा फरक काम नै गरेको हो भन्न चाहिँ म रुचाउँदिनँ। अरूले गरेका काम पनि ठीक छन्। हुनसक्छ मैले गरेका विषयमा अरू कोही बोलेको थिएन। वा भए पनि त्यो रूपमा बोलेको थिएन। कुनै कुरामा त सामाजिक कारणले बोल्नै डराएका पनि होला। तर यी विषय अहिलेका हैनन्। पहिलादेखि नै थिए। कलामा भर्खरै देखिन थालेका होलान्। मलाई लाग्छ पृथक भन्ने चिज नै हुँदैन।

नाटकले के के गर्नसक्छ जस्तो लाग्छ?

नाटकले साँचो बोल्नुपर्छ। नाटक माध्यमबाट मान्छेलाई के गलत भइरहेको छ भन्ने बताउन सक्छौं। गलत कुरा थाहा हुनासाथ परिवर्तन सुरु हुन्छ। समय लाग्ला, त्यो अर्के कुरा भयो। हामीले गर्ने चाहिँ त्यही हो।

नाटकको भाषा बलियो छ। कसैले माइकमा बोल्ने कुरा एक वाक्यको होला। त्यही एक वाक्य बुझाउन हामी डेढ घण्टा खर्चिन्छौं। अभिनय गर्छौं। एक मान्छेले त्यो हेरेर सही वा गलत भनेर औंल्याउन सक्छ। हामी सत्य यो हो भन्ने कुरा बुझाउन सक्छौं। त्यसमा पेन्टिङ, गीत, संगीत, साहित्य जस्ता अरू धेरै माध्यम पनि छन्। यी सबै प्रयोग हुन सक्छन्।

आफूले निर्देशन गरेको नाटकको सेट बनाउँदा ‘प्रब्स’ धेरै नै प्रयोग गर्नुहुन्छ। किन?

बिलगेट्स पण्डित फिक्सनल नाटक थियो। एक अस्थिर पात्र थियो। कल्पना गरिरहने उसको बानी भएकाले त्यसको लागि एउटा कोठा माथि आकाशमा झुण्ड्याइएको थियो। काल्पनिक पात्र देखाउन त्यो प्रयोग गरिएको थियो। त्यो स्पेशले ओगटेको ठाउँको ठीक तल कालो भाग थियो।

बोक्सीको घरमा माटो र रुख प्रयोग गरिएको थियो। त्यसले हाम्रो संस्कृतिले कसरी अँध्यारोमा राखेको छ भन्ने देखाउन खोजिएको थियो। बोक्सीसँग जोडिएका कुरा मिसाउन मैले रातो, कालो माटो देखाएको हो। ती सबै अरू तरिकाबाट पनि देखाउन सकिन्छ। तर मैले भएकै चिज देखाउन खोजेको हो। नाटकको विषयसँग सेट तथा प्रब्सको ठूलो सम्बन्ध हुन्छ भन्ने मेरो विश्वास हो।

तस्बिरः सिमोन पौडेल

नाटक तयार भइसकेर सो गर्न थालेपछि कस्तो लाग्छ? मैले गर्न चाहेको कुरा गर्न सकेँ भन्ने लाग्छ कि झन् गाह्रो हुन्छ?

झन् गाह्रो हुन्छ। नाटक सबैलाई बुझाउन सक्दैनौं। मैले अगाडि पनि भनेँ, नाटक धेरैथोक मिसिएर बन्छ। सेट निर्माणदेखि प्रस्तुतीसम्म लामो यात्रा गरेर आएको नाटकको सबैथोक सबैले बुझ्छन् भन्ने छैन। नाटकबारे लेख्नेहरू पनि यसको विषयभन्दा धेरै समाचार लेख्न हतार गर्छन्। नाटकले ल्याउनुपर्ने जति भाइब्रेसन सहरमा देखिँदैन। आफूले गर्न खोजेको काम आफैं पनि कहिल्यै दृश्यमा शतप्रतिशत आउँदैन। सायद त्यही भएर होला, हामी काम गर्न छोडेका छैनौँ। यदि हुने हो भने नाटक यात्रा नै सकिन्थ्यो होला। त्यसले नै डोर्याइरहन्छ। अबको १५ वा २० वर्षपछि त्यही नाटक कसरी गरिन्छ होला भन्ने कुरा सोच्छु कहिलेकाहीँ। आफूले गरेका सबै नाटक फरक भविष्यमा फेरि निर्देशन गर्न मन छ।

नाटकको बाटो केले निर्धारण गर्छ?

मलाई त लेखकले सबैथोक लेखिदिइसकेको हुन्छ जस्तो लाग्छ। त्यही भएर म हत्तपत्त अरूको नाटक गर्दिनँ। तर निर्देशकका लागि चुनौती त्यही हो। लेखकको न्यारेटिभलाई देख्न सक्ने दृश्य हुनुपर्छ। जाँच्न सक्ने सामर्थ्य हुनुपर्छ। मैले आफैं लेख्नुको कारण भोलिको पुस्ताले नाटक पढ्दा हाम्रो समयमा नाटकको खडेरी नदेखियोस् भनेर पनि हो। सिक्दै लेखिरहेको भए पनि यसले भोलिलाई फाइदा गर्छ भन्ने विश्वास छ। होस्टेमा हैँसे मात्र गरेको हो।

नाटकमा प्रयोग हुन्छ भनिन्छ नि?

प्रयोग के हो मैले पनि बुझेको छैन। प्रयोगमाथि विश्वास पनि लाग्दैन। यो संसारमा कसैले पनि नयाँ प्रयोग गरेको छैन। बोक्सीको घर सोलो प्ले थियो। अरूले पनि गरेका छन्। त्यसमा अलिकति अमूर्त प्रब्स प्रयोग भएका छन्। त्यसको समग्र सेट एक अमूर्त चित्रजस्तो पनि लाग्न सक्छ। त्यसैलाई प्रयोग भन्ने हो भन्न सक्छन् मान्छेले। त्यहाँ बत्ती र पातलाई पात्रको रूपमा खेलाइएको थियो। प्रयोगलाई म ‘एक्सपेरिमेन्ट’ भन्दा पनि ‘युज’ भनेर बुझ्न मनपराउँछु।

बोक्सीको घरमा भएको पात्र लाटीको छोरो नाटकमा पनि लिएर आउनुभयो। त्यो पनि ‘युज’नै हो कि ‘एक्सपेरिमेन्ट’?

त्यसलाई पनि प्रयोग भनेका छन्। फेरि पनि मलाई त्यो प्रयोग हो भन्ने लाग्दैन। मैले लाटीको छोरो कथा पढेँ तर त्यो कताकता अपूर्ण लाग्यो। किन पूर्ण लागेन भन्ने कुरा नाटकमा थपिएका पात्रमार्फत जवाफ दिने प्रयास गरेको छु। लाटीको छोरो कथामा लाटी बोल्न सक्दिन थिई। त्यसैले उसको कुरा कहीँ पनि आएन। मैले एउटा भाग थपेँ र भनेँ ‘२ मिनेट लाटीलाई बोल्न समय दिइन्छ।’ त्यो मेरो चेतनाले सिकाएकाले थपेको हुँ। लाटीले त्यो दृश्यमा आफ्नो पीडा पोख्छे। कथामा थिएन तर नाटकमा चाहिन्छ जस्तो लाग्यो।

कथामा मान्छे कसरी सबैथोक थाहा पाएर पनि बुज पचाएर बस्छन् भन्ने पनि थिएन। त्यो पनि थपेको छु एक हजाम पात्रमार्फत। लाटीको छोरो कथामा लाटी चाहीँ को हो भनेर भन्नुपर्ने थियो। त्यसैलाई भन्न मैले विभिन्न पात्र थपेको हुँ। कथा पढ्दा नपुगेका कुरा थपेको हुँ र त्यो कुरा भन्न मेरो आफ्नै पात्र ‘पवित्रा’ जरुरी भए जस्तो लाग्यो। किनकि उसले बोक्सीको घरमा भोगेको पीडा पनि त्यही थियो। अन्तिममा पवित्राले गएर हजामलाई ‘तँ त बोल्न सक्छस् बोल् न’ भनेको त्यसैले त महत्त्वपूर्ण छ। यसलाई अरूले प्रयोग भन्लान् तर मेरा लागि केवल सहजीकरण हो।

नाटकले समाजलाई सत्यको बाटो देखाउँछ त भन्नुभयो। नाटक वा रंगमंचमा आएपछि आफूमा देखिएका केही मुख्य परिवर्तन छन्?

धेरै छन्। पहिले म अर्कै थिएँ। अलि फिल्मी खालको थिएँ। हेर्ने कुरा सतही थिए।

अहिले भइरहेका कुराभन्दा पनि किन भइरहेको छ भन्ने कारण खोज्न थालेको छु। हरेक नाटकले केही न केही बुझाइरहेको छ। भावना, समाज, राजनीति, बिसंगति आदिप्रति थप संवेदनशील भएको छु। समाजप्रति अलि ध्यान गएजस्तो लाग्छ।

पहिला पर्स वा मोबाइल भेटियो भने घर लग्थेँ होला। अहिले चासो दिएर फिर्ता गर्न खोज्छु। धेरैकुराको लोभ हराएको छ। र मैले अगाडि भनेजस्तो नाटकमा बोलेका हरेक संवादले हामीलाई नयाँ चेतना बाँडिरहेका छन्। क्रमिक परिवर्तन गर्दैछन्।

अभिनय गर्नु एक काम मात्र गर्नु हैन, जिम्मेवारी निभाउनु पनि हो जस्तो लाग्छ। सबैले गर्लान् भन्ने छैन। धेरैले यो महशुस भने गरिरहेका हुन्छन्। त्यसैले पनि सायद कुन नाटक खेल्ने र कुन नखेल्ने वा कुन पात्र गर्ने वा कुन नगर्ने छान्न थालिन्छ। त्यो पनि एक जिम्मेवारी नै हो। अभिनय गर्नेले उक्त नाटकमा उठेका विषयप्रति पक्कै पनि धेरै बुझ्छ। मैले पनि त्यसरी नै बुझिरहेको छु। केही समय पहिला तेस्रोलिंगीको विषयमा बनेको एक नाटकमा काम गर्ने मौका परेको थियो। त्यसपछि मैले तेस्रोलिंगी को हुन्, उनीहरूको समस्या के हो भन्ने जस्ता कुरा बुझेँ। अब कम्तीमा म त्यसको आधारमा कसैलाई भेदभाव नगर्ने भएको छु।

अन्तिम प्रश्न, मान्छेले नाटक किन हेर्ने? दर्शकलाई केही भन्न चाहनुहुन्छ?

यो अन्तरवार्ता सेतोपाटीमा प्रकाशित छ

आजको दिनसम्म आइपुग्दा नाटक हेर्ने मनोरञ्जनको लागि मात्र भइरहेको जस्तो पनि लाग्छ। तर नाटक समाज बुझ्न हेरिन्छ। समाजका पात्रका बिचमा आफूलाई उभ्याउन हो। सँगै यसबाट हिजोको समाज कस्तो थियो र भोलिको कस्तो हुनेछ भन्ने बुझ्न सकिन्छ। दर्शकलाई के भन्न चाहन्छु भने नाटक हेर्नुहोस् र चुप नबस्नुहोस्। सहरमा नाटक भइरहेको मतलब त्यो विषयले तपाईंको प्रतिक्रिया र भूमिका खोजिरहेको छ। सजग र सक्रिय दर्शक भएमात्र नाट्यक्षेत्र अगाडि बढ्छ।


शनिबार ०६, माघ २०७४ ०१:२३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस