---
Tuesday, December 11 2018, 02:21 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२१
पहिलो पटक एकै झण्डामुनि मार्च गर्दै दुर्इ कोरिया

शुक्रबार, ०५ माघ २०७४| Radio Dhangadhi
पहिलो पटक एकै झण्डामुनि मार्च गर्दै दुर्इ कोरिया

एजेन्सी : उत्तर र दक्षिण कोरिया दुई देशका रूपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएका छन् । आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देश एउटै झण्डामुनि मार्च गर्न सहमत भएका हुन् । उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएका छन् । दक्षिण कोरियाले यो खेलकुदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस् र जसले गर्दा दुई देशको सम्बन्ध प्रगाढ बनाउन सकियोस् भन्ने आग्रह गरेको थियो ।

उत्तर र दक्षिण कोरियाले उक्त खेलकुदमा एउटै झण्डामुनि सँगसँगै मार्च गर्न सहमत भएकाले सौहार्द वातावरण निर्माण हुने अपेक्षा गरिएको छ । जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरूले आइस हकी खेलको महिलातर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन् । यसरी विकसित सम्बन्धलाई जापानले शंकास्पद रूपमा हेरेको छ ।

अमेरिकाले पनि यसलाई निगरानी गरिरहेको जानकारी दिएको छ । यसैगरी एकै खेलमा संयुक्त खेलाडी प्रस्तुत गरिएको घटनालाई दक्षिण कोरियाका परम्परावादी समाचारमाध्यम र केही उच्च पदस्थ अधिकारीले पनि त्यसो नगर्न भनेका छन् । उनीहरूले उत्तर कोरियालाई दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले बढी महत्व दिएको भन्दै त्यसो नगर्न उनको ध्यानाकर्षण गराउन दश हजार जनाभन्दा बढी नागरिकले अनलाइन हस्ताक्षर पनि बुझाएका छन् ।


शुक्रबार ०५, माघ २०७४ १०:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस