---
Friday, September 20 2019, 22:46 | शुक्रबार ०३, असोज २०७६ २२:४६
भारतीयको दबावमा ,विज्ञापनमा ‘क्लिन फिड’ को नीति

बिहिबार, ०४ माघ २०७४| Radio Dhangadhi
भारतीयको दबावमा ,विज्ञापनमा ‘क्लिन फिड’ को नीति

काठमाडौं, ३ माघ । सरकार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री (क्लिन फिड) लागू गर्ने नीति परिमार्जन गर्ने भएको छ । यसले क्लिन फिड लागू गर्ने योजना अझै पछि धकेलिने भएको छ ।

प्रसारण नै रोक्ने भारतीय प्रसारकहरुको चेतावनीपछि आफूहरु ‘विज्ञापनरहित नीति, २०७३’ को परिमार्जन गर्ने निष्कर्षमा पुगेको सूचना तथा सञ्चार मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले गत साउनदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबाबमा ३१ असारमा त्यसलाई तत्काल थप तयारीका लागि भन्दै स्थगित गरिएको थियो ।

क्लिन फिड अनिवार्य गर्ने निर्णयपछि सेवा बन्द गर्ने बताउँदै नेपाली टेलिभिजन वितरकले आन्दोलन घोषणा गरेका थिए । उनीहरुले अहिले पनि भारतीय प्रसारक वा सरकारले फिड गरिएका सामग्री दिने अवस्था नभएसम्म यसलाई लागू नगर्न दबाब दिइरहेकै छन् । सरकार पनि त्यसमा सहमत भएको छ ।

‘अब तत्काल क्लिन फिड लागू गर्न नसकिने भयो । भारतीय प्रसारकहरुकै यसमा दबाब छ,’ ती अधिकारी भन्छन्, ‘भारतीय प्रसारकहरुले नेपालका लागि फिड गरिएका सामग्री दिन सक्दैनौं भनेका छन् । अब हामीले नै नीतिमा परिमार्जन गर्न लागेका छौं । पुरानै नीतिका आधारमा क्लिन फिड लगाउन नसकिने नै देखियो ।’

अब उक्त नीति लागू गर्न मन्त्रालयले छुट्टै प्रसारण प्राधिकरण (डकास्टिङ अथोरिटी) गठन गर्ने योजना बनाएको छ । यदि त्यसो हुन सकेन भने दूरसञ्चार प्राधिकरणलाई नै प्रसारण नियमनका लागि विशेष संयन्त्र बनाउने र चलाउने गरी अधिकार दिने विकल्प पनि नयाँ सरकारी अवधारणामा उल्लेख छ ।

क्लिन फिड लागू भएको भए नेपालमा प्रसारण हुने ८० प्रतिशत टेलिभिजन सामग्री गैरकानूनी हुने अवस्था थियो । क्लिन फिड लागेपछि भारतीयसहित विदेशी च्यानलहरुले नेपालमा अहिलेकै अवस्थामा प्रसारणको अधिकार पाउँदैनथे । उनीहरुले नेपालमा प्रसारण हुने आफ्नो सामग्रीमा विज्ञापन हटाउनुपर्थ्यो ।

त्यस्तो अवस्थामा लगानी पनि लाग्ने र विज्ञापनका लागि विज्ञापनदातासँग सोझै देखाइएको नेपाली बजारको सम्भाव्यता पनि गुम्ने अवस्था थियो । त्यसैकारण उनीहरुले लगातार क्लिन फिड लागू नगर्न नेपालमाथि विभिन्न तवरले दबाव दिईरहेका छन् । यसबाट नेपाली विज्ञापन व्यवसायी भने असन्तुष्ट बनेका छन् । नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरुले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन सकिरहेको छैन ।

क्लिन फिड लागू भए उनीहरुले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्न पाउँछन् । साथै, नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नु पर्दैन । यो नीति लागू भए अहिले वार्षिक ६ अर्बको नेपाली विज्ञापन बजार १२ अर्बभन्दा माथि पुग्ने दाबी व्यवसायीको छ । न्युज नेपाल अनलाइनमा यो समाचार छापीएको छ ।


बिहिबार ०४, माघ २०७४ ११:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस