---
Saturday, October 20 2018, 23:45 | शनिबार ०३, कार्तिक २०७५ २३:४५
हिरोइनका सन्तान

बुधबार, ०३ माघ २०७४| Radio Dhangadhi
हिरोइनका सन्तान

काठमाडौं : चलचित्र क्षेत्र उसै पनि ग्ल्यामरको संसार हो । यहाँ सिर्जनाका साथमा ग्ल्यामर बिक्छ । त्यसैले आफूलाई फिट राख्न हिरोइनहरू निकै सचेत रहनु आवश्यकता जस्तै बनेको छ । आमा बनेपछि महिलाको शरीरमा ठूलो परिवर्तन आउँछ र त्यसलाई ‘रिकभर’ गरेर पुरानै अवस्थामा आउन उनीहरूले निकै मेहनत गर्नुपर्छ । शरीरमा आउने परिवर्तनका कारणले धेरै हिरोइनहरू आमा बनेपछि विस्तारै उद्योगबाट पाखा लाग्ने गरेका छन् भने केहीले ‘मेन्टेन’ गरेर पुनरागमन पनि गरेका छन् । आफूलाई चर्चामा राख्न हिरोइनहरूले आमाबाबुले राखिदिएको नाम फेरेर उद्योगमा आएपछि आफ्नो नाम परिवर्तन गर्ने चलन पनि पुरानै हो । तिनै कुनै बेलाका स्टार हिरोइनहरूले आफ्ना सन्तानको न्वारन चाहिँ कस्तो गरेका छन् त ? उनीहरूकै फ्यानका लागि यो चासोको विषय बन्न सक्छ ।

जलकी कलश

Jal-Shah-with-Her-daughtor-Kalasha

श्रीस्वस्थानीबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी जल शाह आफ्नो स्टारडम कायम रहेकै बेला अमेरिका लागिन् । अमेरिकामै उनले घरजम गरिन् र अहिलेसम्म फिल्म उद्योगमा पुनः फर्केकी छैनन् । शरदकुमार रिमालसँग विवाह गरेकी जलले एक छोरी जन्माइन् । जलले आफ्नी छोरीको नाम कलश राखेकी छन् । चलचित्र अवतारबाट व्यावसायिक फिल्मी यात्रा सुरु गरेकी जलले दुई दर्जन चलचित्रमा अभिनय गरेकी छन् ।

विपनाको कुशाग्र

नेपाली चलचित्र उद्योगमा लामो समय राज गरेकी विपना थापा विवाहपछि उद्योगमा फर्किनन् । नेपाली चलचित्र निर्माण गर्न नेपाल आएका भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाहबन्धनमा बाँधिएकी विपनाका एक छोरा छन् कुशाग्र । विवाहको केही वर्षमै आमा बनेपछि उनी बेला बखत माइती आए पनि फिल्मको रंगीन संसारमा देखिइनन् । विपनाले दर्जनौं फिल्ममा अभिनय गरेकी छन्।

सञ्चिताका दुई : अर्थव र सानभी

sanchita-luitel-with-her-son-and-daughter

सन् १९९९ मा मानसरोबर फिल्मस्को ब्यानरमा बनेको ‘अप्सरा’ बाट डेब्यु गरेकी सञ्चिता लुइँटेलले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्।भारतबाट फर्केर ‘पिँजडा’ बाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी सञ्चिताका दुई सन्तान छन् । विवाह गरेको एक वर्षपछि उनले छोरो जन्माइन् । त्यसलगत्तै उनी छोरीकी आमा बनिन् । उनले आफ्ना सन्तानको नाम अर्थव र सानभी राखेकी छन् । आमा बनेपछि उनले सिनेमा उद्योगमा फर्केर ‘राधा’ मा अभिनय गरिन् । उनी अभिनीत अर्को फिल्क गुनगुन पनि अहिले प्रदर्शनको तयारीमा छ ।

मेलिनाकी मेलिस्का

चलचित्र प्रेयसीबाट डेब्यु गरेकी मेलिना मानन्धरले दर्जनौं फिल्ममा अभिनय गरिन् । मुकेश ढकालसँग प्रेमविवाह गरेकी उनले पनि आमा बनेपछि अभिनय यात्रालाई खासै निरन्तरता दिन सकिनन् । बिहेपछि भने उनले पति मुकेशसँगै केही चलचित्रमा काम गरिन् । मेलिनाले विवाहको एक वर्षपछि छोरी जन्माइन् । उनले छोरीको नाम मेलिस्का राखेकी छन् ।

अरुणिमाकी अक्षता

arunima

अजम्बरी फिल्मबाट रजतपटमा उदाएकी अरुणिमा लम्सालले दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिन् । २०६२ सालमा अमित अर्यालसँग विवाह गरेकी अरुणिमाले छोरी जन्माइन् । उनले छोरीको नाम अक्षता राखेकी छन् । आमा बनिसकेपछि केही फिल्मबाट कमब्याक गर्ने प्रयास गरे पनि निरन्तरता दिन सकिनन् । त्यसपछि उनी छोरीसहित अमेरिका लागिन् र उतै हराइन् ।

ऋचाका तीन

richa-ghimire

मोडलिङ, टेलिभिजन र म्युजिक भिडियो हुँदै ‘तिम्रो माया ९९ मेरो माया सय’ बाट चलचित्र क्षेत्रमा भित्रिएकी ऋचा घिमिरेले २०६७ सालमा निर्देशक शंकर घिमिरेसँग विवाह गरिन् । त्यसपछि उनले सन् २०१२ मा पहिलो सन्तानका रूपमा छोरो जन्माइन् । मिजास र महर्षी दुई छोराकी आमा ऋचाले अमेरिकामै छोरी पनि जन्माइन् । विवाहपछि अमेरिकामै रहेकी उनी पनि त्यसपछि उद्योगमा फर्किनन्

झरना व्रजाचार्यका ईशान

jharana-bajracharya

मिस नेपाल भएर चलचित्र उद्योगमा प्रवेश गरेकी झरना व्रजाचार्य प्रकाश सायमी निर्देशित चलचित्र हतियारबाट उद्योगमा उदाएकी हुन् । सन् २०१५ मा भारतीय मूलका अमेरिकी व्यवसायी राहुल अग्रवालसँग झरनाले विवाह गरेकी हुन् । उनले २८ चैत २०७२ मलेसियामा छोरा जन्माएकी छन् । उनको छोराको नाम ईशान हो ।

माल्भिकाको जाइर रिओ

अर्की मिस नेपाल माल्भिका सुब्बा २०३८ सालमा जन्मिएकी सुब्बाले ‘गड लिभ्ज इन दी हिमालयज, गुड बाई काठमान्डूलगायतका फिल्ममा अभिनय गरेकी छन् । माल्भिकाले २०६९ सालमा रियाज श्रेष्ठसँग प्रेमविवाह गरिन् । त्यसको चार वर्षपछि २०७३ मा उनले पहिलो सन्तानका रूपमा छोरा जाइर रिओ सुब्बालाई जन्म दिइन् ।

झरनाकी सुहानी

नायिका हुँदै निर्देशक बनेकी झरना थापा अहिले आफू निर्देशित चलचित्र ए मेरो हजुर प्रदर्शनका क्रममा युरोप पुगेकी छन् । ‘दाइजो’ मा काम गर्दागर्दै उनले निर्माता सुनीलकुमार थापासँग प्रेमविवाह गरेकी हुन् । यी नायिकाले विवाहको अर्को वर्ष नै छोरी सुहानी जन्माइन् । झरना नेपाली रजतपटका थोरै नायिकामध्ये त्यस्ती नायिका हुन् जो आमा बनेर पनि उद्योगमा छाइरहिन् ।

करिश्माकी कविता

‘सन्तान’ फिल्मबाट उद्योगमा डेब्यु गरेकी करिश्मा आमा बनेपछि पनि उद्योगमा छाइरहिन् । ‘कस्तुरी’ मा काम गर्दागर्दै निर्माता विनोद मानन्धरसँग प्रेमविवाह गरेकी उनले छोरी कवितालाई जन्म दिइन् । अहिले उनी फिल्ममा भन्दा राजनीतिमा व्यस्त छिन् ।

                      अन्नपृर्णमा प्रकाशित छ । 


बुधबार ०३, माघ २०७४ ०४:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस