---
Tuesday, December 11 2018, 00:04 | मङ्गलबार २५, मङि्सर २०७५ ००:०४
हैसियत (कथा)

आइतबार, ३० पुष २०७४| Radio Dhangadhi
हैसियत (कथा)

                    -शिव अर्याल

श्यामशरण सरको उ प्रति सद्भाव छ । र, त उसले एउटा ख्यातिप्राप्त बहुराष्ट्रिय कम्पनीमा सजिलै जागिर पायो । भेट हुँदा आक्कलझुक्कल उनले हल्का मुस्कानसाथ भन्ने गरेको 'के छ हालचाल ?' ले उसको उत्साह बढाउने गर्छ । त्यसैले उनीप्रति उसको विशेष आदरभाव रहने गरेको छ ।

उनको नाम उसले बच्चैमा सुनेको थियो । तर भेट चाँहि जागिर खोज्ने सिलसिलामा उसका बाले सहरको उनको घरसम्म डोर्याएपछि भएको हो ।

'यो मोराले एस एल सी त जसोतसो पास गरेको थियो, आइ ए चाँहि छिचोल्नै सकेन । बेकामे छ अचेल । कतै सानोतिनो जागिरमा झुन्ड्याइदिनुपर्‍यो बाबु यसलाई,' बाले उनीसमक्ष विन्ती बिसाएका थिए । बाका कुरा ध्यानपूर्वक सुनीसकेपछि उनले भनेका थिए, 'म कोशिस गरौँला ।'

त्यो बेला देखिको उनको सद्भाव आजसम्म जारी छ ।

***

त्यो दिन कार्यालय आउँदा श्यामशरण सर अलि बढी हँसमुख र फुर्तिला देखिए । गाडीबाट झरेपछि भित्रबाट एउटा ठूलो प्याकेट निकालेर खोले । रहरलाग्दा लड्डूहरु उसले परैबाट देख्यो । कार्यालय आउँदै गरेका आफ्ना सहकर्मीलाई लड्डू बाँड्न थाले उनले । खुशीयालीपूर्ण होहल्ला चल्यो त्यहाँ ।

ऊ आफ्नो निर्धारित स्थानमा आफ्नो ड्युटी निभाइरहेको थियो । कार्यालय भवनको मूलढोकामा आफू नजिकै आइसकेपछि उसले नमस्कार गर्‍यो । तर उनले हो वा होइन जसरी हात उचालेर उतिर नहेरी हतारिँदै भित्र छिरे । उसलाई मनमा कतै बिझाएजस्तो भयो ।

'हैट यति सामान्य कुरो पनि ख्याल गर्ने हो ? उहाँको खुशीमा  बिनाशर्त म पनि खुशी हुनुपर्ने हैन ? हरेक कुरालाई सुक्ष्म निरीक्षण गर्ने मेरो आदत कहिले हट्छ हँ ?' तत्कालै आँफैलाई हकार्यो उसले ।

लड्डूले मुख मिठ्याउँदै श्यामशरण सरकै पछिपछि एक हुल हाकिमसाबहरु भित्रिएपछि ऊसमा जिज्ञासा पलायो - सरको खुशीको कारण के होला ?'

'बढुवा हुनुभयो होला । विदेश तालिममा पो पर्नुभयो कि ?'

***

'बुढाले त चालखी गरेछन् नि यसपाली । जी.एम. सम्मै पुगेछन्, प्रभाव पारेछन् बडाहरुलाई । अनि किन नहोस् त फलिफाप ?' दुईजना सुब्बासाबहरु मध्यान्हतिर गफिँदै बाहिरिएको देखियो । ठुलै माछो हात परेको लख काट्यो उसले ।

'आकाँक्षी र पहुँचवालाहरु थुप्रै हुँदाहुँदै पनि एक महिने युरोप तालीमको अवसर पाउनु चानचुने कुरो हो त ? अबको आन्तरिक बढुवामा त बुढाको नाम पक्का !'  चुरोटको तलतल लागेर क्यान्टिन पुग्दा अघिका सुब्बासाबहरु आपसमा गफ गर्दै थिए । उनै श्यामशरण हाकिमको कुरो हो त्यो भन्नेमा कुनै शंका रहेन । यससंगै उसको खुल्दुली मेटियो । 'अहिलेको व्यस्तता र शुभेच्छुकहरुको भीडभाडमा उनीसँग खुशी मिसाउन त के सकिएला र ? भरेभोलि तिर फोन गरेर बधाई दिनुपर्ला,' मनमनै योजना बुन्यो उसले ।

भोलिपल्ट बिहान उसले उनको मोबाइलमा फोन गर्‍यो । तर लगातार दुईपटक पूरै घन्टी बज्दा पनि फोन उठेन । यस्तो त नहुनुपर्ने हो- उसले सोच्यो । तेश्रो पटक ल्यान्डलाइन फोनमा घन्टी बजायो । ढिलो गरी सरकी म्याडमले फोन उठाइन् । उसको जिज्ञासामा उनले जवाफ फर्काइन्, 'सर नुहाउँदै होइसिन्छ । एकछिन पछि गरन ।'

एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

'ए बुढा, तरकारी ल्याउने हैन ? कि आज झोल भातले नै टार्ने विचार छ ?' उसकी जहानले घोर्‍याइँ भङ्ग गरिदिई ।

'भो झटारो नहान् धेरै । दाल भात तरकारी मात्रै हैन, अचार पनि त पुर्‍याएकै छु नि भान्सामा,' जवाफ फर्कायो उसले ।

'अँ माछा मासु पनि खुवाएकै छु भनन,' अर्को झटारो बज्रियो ।

नजिकैको किराना पसलमा छिर्ने कि अलि पर चोकको तरकारी बजार जाने भनेर एकछिन विचार गर्दा निष्कर्ष निस्क्यो--अलिकति सस्तो र ताजा पनि पाईन्छ, उतै जानु ठीक ।

फर्किँदा बाटोमा रामेश्वर काजी भेटिए । 'कता पुगेर आउनु भो काजीसाब ?’ हात जोड्दै सोध्यो उसले ।

'खसीको मासु लिएर आएको नि । के गर्नु शनिबार त आउनै हुन्न । केटाकेटीहरु विदाको दिन भनेर दालभात देखी तर्कीइहाल्छन् । फुर्सदिलो दिनमा आफ्नो जिब्रोले पनि विशेष स्वाद खोज्छ । हिजोआज बुढीले पनि भन्न थाली- आँतले मागेको त खानुपर्छ ।'

'तिमी कताबाट नि ?' उसको हातमा झुन्डिएको सिमी, गोलभेँडा र धनीयाको पोकोतिर व्यङ्यात्मक नजर लगाउँदै सोधे बुढाले । 'देख्नु भएन यी ?' उनको नियत बुझेजस्तो गर्‍यो उसले ।

' काँठको चिया पसल छोडेर शहरमा फेन्सी सूरु के गरेथे, ठालु पल्टिइहाले गफाडी बुढा,' काजी आफ्नो घरतिर सोझिएपछि उसले कटाक्ष गर्‍यो । 

***

भोलिपल्ट कम्पनीको वार्षिकोत्सवको दिन- 

मुख्य कार्यालय प्राङ्गणमा मन्चलाई झकिझकाउ पारिएको छ । अगाडि लहरै २ सयको हाराहारीमा कुर्सीहरु मिलाएर राखिएका छन् । शाखा कार्यालयहरुका समेत अधिकाँश कर्मचारीहरु उपस्थित छन् । ठूलै सँख्याका सहभागीहरु झुण्ड झुण्डमा बाहिर बसेर गफगाफ, ख्याल ठट्टा गर्दैछन् भने केही भित्र कुर्सिमै बसेर खासखुस गर्दैछन् । वार्षिकोत्सवको रौनक तीनको उत्साह र फर्याकफुरुकमा झल्किएको छ ।

पुरस्कार वितरण, मन्त्री, जी.एम. र प्रबन्धकबाट मन्तव्य प्रस्तुतिकरण र नाचगानहरु छन् कार्यक्रम तालिकामा । प्रमुख अतिथि बनाइएका विभागीय मन्त्री आइनपुगेकोले कार्यक्रम शुरु भएको छैन । कार्यक्रमस्थल भर्खरै छिरेको छ ऊ । एकछिन सबै तिर नजर डूलाउँछ । उसका साथीभाइहरु पनि भेटिन्छन् ।

यत्तिकैमा पल्लो छेउबाट श्यामशरण सर भित्रिएको देख्यो उसले । उसलाई लाग्यो, आज चाँहि बधाई दिन पाइने भो ।

एकछिन त्यहीँ वरिपरिकाहरुसँग हात मिलाउँदै उनले हाइ हेल्लो गरे । उनको नजर आफूमा पनि पर्ला कि भनेर उसले आश गर्दा नगर्दै उनी मन्चतिर पो लम्किए । टाइसुट लगाएका, तिलचामले कपाल लर्काएका, बाक्लो फ्रेन्चकट दारी पालेका खाइलाग्दा जी.एम.समक्ष पुगेर बुढाले धनुष्टंकार शैलीमा नमस्कार गरे ।

जी.एम.ले पिठ्युँमा हल्का धाप मार्दै केही सोधेजस्तो गरे । बोलेको नसुनिए पनि श्यामशरण सरको जवाफ 'हजुर हजुर' शैलीको थियो । उच्च सम्मान र शिष्टता दर्शाउन होला जी.एम.साबसमक्ष नजर नजुधाइ झुकेर अरु केहीबेर 'हजुर हजुर' भनिरहे उनले ।

केही बेरपछि साइरन बजाउँदै मन्त्रीजी आइपूगे । सुस्त माहोलमा एक्कासी तरङ्ग छायो । बाहिर आफ्नै तालमा गफिएकाहरु सबै कार्यक्रमस्थलमा ओइरिए ।

मन्त्रीसमक्ष पहिले जी.एम.साबले झुकेर नमस्कार गर्दै एउटा पुष्पगुच्छा अर्पण गरे । अन्य बरिष्ठ पदाधिकारीहरु पनि पालैपालो उसैगरी प्रस्तुत भए ।  मुसुमुसु हाँस्दै मन्त्रीले केहीलाई नमस्कार फर्काए भने बाँकीलाई आशिर्वाद दिएजस्तो गरी दाहिने हात उठाए ।

ठेलमठेलममा धकेलिँदै ऊ पछाडि पुग्यो ।

***

घाँटी तन्काउँदै उभिएर भाषण सुनिरहेको उसलाई कसैले पछाडिबाट कोट्यायो ।

'जाने हैन ?' सोध्यो त्यसले ।

'कहाँ ?'

'आफ्नै गुँडतिर नि ।'

कार्यव्यस्तताको कारणले पूरा अवधि बस्न नपाउँने जनाउँदै मन्त्रीले भर्खर भाषण सकेका थिए । मन्चमा आसिन केही महानुभावहरुको पालो आउँदै थियो । हतार थिएन । त्यसैले उसलाई सबैको भाषण सुन्न मन थियो । तर बाइकवाला साथीको लिफ्टको अफर कम आकर्षक थिएन । लामो रुटमा माइक्रोमा कोच्चिनुको साटो बाइकमा सरर !

सम्झँदा आनन्द आयो उसलाई । त्यो आनन्दको तुलनामा बरिष्ठहरुका भाषण फिका लागे ।

करिब १० मिनेट बाईक गुडेको के थियो परिचित जस्तो लाग्ने स्वर सुनियो 'ओेए ओेए ओेए ।'

टाउको यसो घुमाएको त पारि हात हल्लाइरहेका रामेश्वर काजी देखिए । सम्मुखका दुई विकल्प मध्ये रोकिने विकल्प रोजाइमा पर्‍यो ।

काजीको फेन्सी पसल आकर्षक थियो । करिब १० वर्ष चियापसलमा खारिएपछि उनी  हालसालै यो खालको फरक व्यवसायमा छिरेका थिए ।

'तातो चिसो के खाने बाबु ?'

'जे भए नि हुन्छ ।'

चिया पिउँदै काजीसाबले नयाँ व्यवसायको रौसिँदै बखान गरे । एकाग्र भएर पुराणै सुनेजस्तो गरिदियो उसले । 'आफू सानो बनिदिएर भ्रम नै सही एकछिनलाई कोही मख्ख पर्छ भने ठीकै छ नि त,' भन्ठान्छ ऊ ।

दुब्लो पातलो एक जना ठिटो अकस्मात झुल्कियो मीठा गफको बीचमा । बुढाको उत्सुक नजर त्यतै मोडियो । एउटा चेक उनको हातमा थमाइदियो त्यसले ।

बुढा अलिकति झस्के र सोधे, 'के भो बाबु ?'

'चेक फिर्ता आयो ।'

'कसरी फिर्ता भो ?'

' 'कि सही मिलेन, कि खातामा पैसा छैन र फिर्ता भयो नि । यो पनि सोध्ने कुरो हो ?,' केटोले अलिकति हियायो बुढालाई ।

चेक ओल्टाइपल्टाइ गर्दै थिए उनले केटो अली सुरियो, 'खातामा पैसै छैन । बिहान फोन पनि उठाउनु भएन रे ।'

बुढाले केही भन्न खोज्दै थिए, गोजिको फोन बज्यो । स्क्रीन हेर्ने बित्तिकै उनी हतोत्साही देखिए । अनि जुरुक्क उठेर भित्र पट्टी लागे ।

मसिनो स्वर निकाल्न खोज्दाखोज्दै पनि कुराकानी बाहिर समेत सुनियो ।

‘………………………’

'पसलमै छु हजुर ।'

‘………………………….’

यस्तो त कहिल्यै भएको थिएन

‘……………………….’

काउन्टर क्लर्क झुक्कियो कि ?

‘……………………..’

'दोष थोपरेको हैन । कहिलेकाही प्राविधिक गडबडी पनि हुन्छ नि ।'

‘…………………….’

‘भोलि बेलुका सम्म जसरी पनि टक्र्याउनेछु । सप्लाई त क्यान्सिल गर्न भएन हजुर । समस्या पर्छ नि हजुर ।‘

***

डेरा बाहिरको चौरमा घरबेटीको छोरोसँग खेल्दै थियो उसको छोरो । खेल्दा खेल्दै झगडा गर्नथाले दुईजना । हेर्दाहेर्दै बालघरबेटीले मुक्का पो बर्साउन थाल्यो । छोराको चर्को रुवाइले उसलाई असह्य बनायो । र, छोरो जोगाउन लम्क्यो ऊ । उसलाई समेत बाँकी राखेन आक्रोशित बाल घरबेटीले । पछाडिबाट ढुङ्गाले हिर्कायो उसलाई ।

बदलामा बच्चोले हल्का एक थप्पड खायो । बच्चो चिच्याउँदै रोयो । घरबेटी आमै छोरो रोएको सुनेर दगुर्दै आइन् । डेरावालको कसुरहरुको थुप्रो नै लगाइदियो बालघरबेटिले ।

घरबेटी डेरावालको गलफति चल्यो एकछिन । 'बढ्ता नबोल भाई । आइन्दा यस्तो भयो भने राम्रो हुनेछैन,' आमै चेतावनी दिँदै घरतिर  लागिन् । ऊ झोक्कियो, ''मेरो छोराले पिटाइ खाएको हेरिरहनुपर्ने थियो मैले ?’

हिँक्क हिँक्क गरेको छोरो सँगै उसको झोला बोकेर आफ्नो कोठा खोल्न खोज्दै थियो ऊ, घरबेटी आमै माथिल्लो तल्लामा बर्बराएको सुनियो, 'मान्छे छ सुइँखुट्टे, टक्कर लिन खोज्छ पह्लमानसँग ।'

'डेरावालसँग हात नथापी जसको चुलो बल्दैन, त्यस्ताले फूर्ती लाउन पर्दैन’, चर्को स्वरमा तलैबाट टक्कर दियो उसले । भित्ताहरुले पनि उस्तै जवाफले ठूँगे आमैलाई ।

कोठामा ल्याएर रोइरहेको छोरोलाई फकायो उसले । लुगा फेरिदियो, हात गोडा धोइदियो । बाउबाट एउटा बिस्कुट पाएपछि रुवाइ बन्द भयो छोराको ।

साँझपख उसकी जहान आइपुगी ।

कहाँ हराएको तिमी ? छोरोको स्कुलबाट आउने समय ख्याल गर्नुपर्दैन , रिसायो ऊ ।

''कतै बरालिएकी हैन, भानु काकाकहाँ गएकी थिएँ । अनि छोराको ख्याल आँफैले गरे हुन्छ नि । मैले मात्रै गर्नुपर्छ भन्ने छ र ?'

ऊ छक्क पर्‍यो र सोध्यो, 'के भनेकी हौ ? बुझिन त मैले ।'

'अब दुनियाँको चौकिदारी गर्नुपर्दैन, आफ्नै छोराछोरीको गर्ने ।'

'अनि त्यसपछि हावा खाएर बाँच्ने ?'

'हावा हैन मासु भात नै खुवाउन सक्छु मैले ।'

'दिमागमा यही तुजुक रोप्न भानुकाकाकहाँ गएकी तिमी ?'

'तुजुक हैन, जागिरको लागि ।‘ बोलीमा दम बढाउँदै उसले थपी, 'काकाको सहकारीमा मलाई असिस्टेन्ट लेभलको जागिर मिल्ला जस्तो छ ।'

जहानको बोली, व्यवहारले सोचमग्न बनायो उसलाई । सोचाइको लहरमा श्यामशरण सर, रामेश्वर काजी र घरबेटी आमै पनि गाँसिन आइपुगे ।


आइतबार ३०, पुष २०७४ ०६:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस