---
Tuesday, December 11 2018, 02:23 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२३
नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ?

कुनै पनि राजनीतिक विचारधारा अर्ग्यानिक छैनन्

आइतबार, ३० पुष २०७४| Radio Dhangadhi
नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ?

              डम्बर खतिवडा

कम्युनिष्ट विचार वास्तवमा के हो ? नेपालका कम्युनिष्टहरु ‘नामले मात्र कम्युनिष्ट’ हुन कि साँच्चै ‘कम्युनिष्ट’ हुन् भनेर अझ राम्रो बुझ्न विश्व राजनीतिमा कस्ताकस्ता विचारधाराहरु छन्, तिनीहरुका बीच केके समानता वा भिन्नता छ भनेर बुझ्न आवश्यक हुन्छ ।

विश्व राजनीतिमा भएका विचारधारालाई सरसर्ती १० भागमा बाँड्न सकिन्छ । ती हुन् (उदारवाद (लिवरलिज्म), सम्वर्द्धनवाद (कन्जर्भेटिज्म), साम्यवाद (कम्युनिज्म ), समाजवाद (सोसलिज्म), राष्ट्रवाद ( नेशनालिज्म), फासीवाद (फासिज्म ), धार्मिक कटट्रतावाद (फन्डामेन्टालिज्म), संघवाद (फेेडेरालिज्म) जैविकतावाद (इकोलजिज्म), अराजकतावाद (अनार्किज्म) ।

‘लिबरल’ शब्द ल्याटिन भाषाको ‘लिवर’ बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ- ‘फ्री’ अर्थात् स्वतन्त्र । यो शब्दको प्रयोग पुनर्जागरणकालमा नै प्रारम्भ भइसकेको थियो । विशेषतः कला क्षेत्रमा सिर्जनशील धारलाई ‘लिबरल आर्ट’ भन्ने चलन थियो । भनिन्छ- सन १८१२ मा पहिलो पटक स्पेनमा ‘लिबरल’ शब्दको राजनीतिक गरिएको थियो । लिबरल दर्शनको मुख्य पक्ष फ्रिडम अर्थात् राजनीतिक स्वतन्त्रता हो । बेलायत दार्शनिक, आर्थिक र राजनीतिक- तीनवटै पक्षबाट उदारवादी विचारधाराको जननी मुलुक हो । पछि यसका मुख्य अनुयायी फ्रान्स र अमेरिका बन्न पुगे ।

विश्वका तीन ठूला राजनीतिक क्रान्तिहरु वेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम- यही विचारधारासँग जोडिएका थिए । दर्शनशास्त्रीय हिसाबले जोन लक, अर्थशास्त्रीय हिसाबले आडम स्मिथ र राजनीतिक हिसाबले हृवीङ्ग पार्टीलाई बेलायतमा उदारवादको आधारशिला मान्न सकिन्छ ।

उदारवादी विचारधाराका मुख्य दुई तत्वहरु छन् । फ्री म्यान (स्वतन्त्र व्यक्ति ) र फ्री मार्केट (स्वतन्त्र बजार) । सँगसँगै यसमा केही सहयोगी सिद्धान्तहरु जोडिएर आउँछन् । जस्तै- व्यक्तिको सार्वभौमसत्ता, विचार अभिव्यक्ति र संगठनको स्वतन्त्रता, बहुलवादी राजनीति र दलीय स्वतन्त्रता, आबधिक निर्वाचन, निजी सम्पतिको अधिकार, पेशा व्यवसाय छनौट, अबलम्बन र परित्यागको अधिकार, योग्यतातन्त्र, विधिको शासन, शक्तिपृथकीकरण, स्वतन्त्र न्यायलय, सामाजिक विविधताप्रति सहिष्णुता, धार्मिक स्वतन्त्रता अझ कतिपय देशमा धर्म निरपेक्षता आदि ।

एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ

जसरी लिबरल विचारधाराको मुख्य तत्व ‘स्वतन्त्रता’ हो, त्यसरी नै सम्बर्द्धनवादी (कन्जर्भेटिभ ) विचारधारको मुख्यतत्व ‘परम्परागत संस्कृति, समाजको मौलिक चरित्र र नैतिक मूल्यको संरक्षण’ हो । राजनीतिक क्रान्ति वा सामाजिक परिवर्तनहरुले समाजको परम्परागत सदभाव र मर्यादा, नैतिक मूल्य, पदसोपानक्रम र जीवनपद्दतिलाई खलल नपुर्याओस भन्ने चिन्ताबाट सम्बर्द्धनवादी विचारधाराको जन्म भएको हो । सम्बर्द्धनवादीहरुमा प्रत्यक्ष/परोक्ष दैवीशक्तिको सिद्धान्तमा विश्वास हुन्छ । विशेषतः वेलायती गौरवमय क्रान्तिको सामाजिक प्रभावबाट आत्तिएका कुलिनहरुले यस्तो चिन्तनलाई अगाडि बढाए । वेलायती राजनीतिमा उनीहरुलाई अनौपचारिकरुपमा ‘टोरी दल’ भन्ने गरिन्थ्यो । सन् १८३० देखि उनीहरुले घोषितरुपमा नै ‘कन्जर्भेटिभ पार्टी’ भन्न थाले ।

अमेरिकाका रिपब्लिकनहरु धेरै हदसम्म सम्बर्द्धनवादी विचारको नजिक मानिन्छन् । क्यानडामा सन् १८३४ मा ‘क्यानडाको टोरी’ भनिने ‘लिबरल कन्जर्भेटिभ पार्टी अफ क्यानडा’ बनेको थियो । उन्नाइशौं शताब्दिमा युरोपमा सम्बर्द्धनवादी विचारधारको प्रभावमा ‘क्रिश्चियन डेमोक्र्याटिक’ पार्टीहरु गठन गर्ने लहर नै चल्यो । त्यसमध्ये जर्मनीको ‘क्रिश्चियन डेमोक्र्याटिक पार्टी’ प्रभावशाली र सफल पार्टी मानिन्छ ।

 सम्बर्द्धनवादी विचारधाराको प्रभाव युरोप र क्रिश्चियन समुदाय मात्र देखिएको हैन, मुस्लिम, बुद्धिष्ट, हिन्दू समाज र राष्ट्रहरुमा पनि यसको गहिरो प्रभाव छ । विश्वका सबैजसो मुस्लिम जनसंख्या बहुल देशले संविधानमा नै ‘इस्लामिक राष्ट्र’ घोषण गरेकाछन ।

मध्यपूर्वमा भएका इस्लामिक क्रान्तिहरु विशेषतः इरानमा खुमेनीको इस्लामिक क्रान्ति इस्लामिक सम्बर्द्धनवादकै अभिव्यक्ति थियो । जापानको ‘लिबरल डेमोक्र्याटिक पार्टी’ को जन्म हुनुमा ‘जेन बुद्धिज्म’ आधारित चिन्तनको गहिरो प्रभाव थियो ।

तिब्बतको ‘लामा राजनीति’ ‘लामा बुद्धिज्म’ आधारित सम्बर्द्धनवादको प्रतीक हो । इजरायली राजनीतिमा रहेको पालेष्टाइन विरोधी भावना यहुदीवादी सम्बर्द्धनवादमा आधारित देखिन्छ । भारतको जनसंघ तथा शिवसेना राजनीति, विजेपीको उदय र नेपालमा राप्रपाको अस्तित्वआदि सम्बर्द्धनवादी विचारधाराकै उदाहरण हुन ।

सम्बर्द्धनवादी विचारधारामा सामाजिक बेथिति परम्परागत मूल्य, मान्यता, संस्कार र संस्कृति छोडेका कारणले सिर्जना भएको हो । समाज हिजो ठीक थियो । स्वतन्त्रता खोज्ने, समानता खोज्ने नयाँ चिज खोज्ने नाममा पुराना चिजहरुलाई भत्काइए । त्यही भएर समस्या आयो । समाजको मौलिक चरित्र, पुराना संस्था, मूल्यमान्यता, संस्कार र प्रचलनमा फर्किनु पर्दछ, समाज आफै राम्रो हुन्छ भन्ने सम्बर्द्धनवादीहरुको सोच हुने गर्दछ ।

सम्बर्द्धनवाद आफैंमा एक सिर्जनशील विचारधारा हैन । यो क्रान्ति र परिवर्तनको भयबाट उत्पन्न हुने ‘प्रतिक्रियात्मक विचार’ भएको हुँदा यसलाई प्रतिक्रियावादी तथा प्रतिगामी विचार पनि भनिन्छ ।

विश्व राजनीतिको तेस्रो शक्तिशाली विचारधारा साम्यवाद हो । यस विचारधाराकै बारेमा यो लेख केन्द्रित भएको हुँदा यहाँ लामो चर्चा गरिएको छैन । यति भनौं कि जसरी उदारवादको मुख्यचिन्तन तत्व ‘स्वतन्त्रता’, सम्बर्द्धनवादको ‘परम्पराको संरक्षण’ हो, त्यसै गरी कम्युनिष्ट विचारधाराको मुख्यचिन्तन तत्व ‘आर्थिक समानता’ हो । मानव समाजको उत्पति निजीसम्पतिविहीन र वर्गविहीन अवस्थाबाट भएको थियो, कुनै दिन फेरि निजीसम्पतिविहीन र वर्गविहीन अवस्थामा फर्किने छ भन्ने विश्वास नै साम्यवादी विचारधाराको मुख्य विश्वास हो । कम्युनिष्ट विचारधारामा साम्यवादबाहेक सबै शासन तथा समाजव्यवस्था शोषणमा आधारित हुन्छन् भन्ने विश्वास गरिन्छ ।

नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ

चौथो समाजवादी (सोसलिष्ट ) विचारधारा हो । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘समानता र स्वतन्त्रता अभिभाज्य छन’, स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन् भन्ने हो । व्यक्ति र समाज अविभाज्य छन् । व्यक्तिविना समाज र समाजविना व्यक्ति हुँदैन । तसर्थ व्यक्तिवाद र सामुहिकताबीचको प्रतिद्वन्द्वीता अर्थहीन छ । आर्थिक हैसियतविना राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैन । राजनीतिक स्वतन्त्रताविना आर्थिक हैसियत प्राप्त हुँदैन । तसर्थ खुशी र सुखी मानव समाज निर्माण गर्न आर्थिक समानता र राजनीतिक स्वतन्त्रता पनि अभिभाज्य छन् । यी दुईबीच सन्तुलन नमिल्दा समाजमा बेथिति पैदा हुन्छ । तसर्थ राजनीतिक स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक अवसरका लागि समाजवाद सँगसँगै हुनुपर्दछ ।

सोसलिष्ट शब्दको पहिलो प्रयोग सन् १८२७ देखि वेलायतबाट शुरुवात भएको विश्वास गरिन्छ । सन् १८३० पछि वेलायतका रवर्ट ओवेनवादी र फ्रान्सका सेन्टसाइमनवादीहरुले आफूलाई औपचारिक रुपमा नै ‘सोसलिष्ट’ भन्न थाले । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको विश्वास गरिन्छ, जसको, अर्थ हुन्छ-संयुक्त वा साझेदारी ।

विश्वको पहिलो समाजवादी पार्टी कुन हो, त्यो प्रष्ट छैन । समाजवादी धारमा दलका विभिन्न नामहरु प्रयोग गर्ने प्रचलन थियो । ‘लेवर पार्टी’, ‘वकर्स पार्टी’, ‘सोसलिष्ट पार्टी’ ‘लेफ्ट-डेमोक्र्याट पार्टी’,’लिबरिटालियन पार्टी’ ‘सोसलिष्ट रिभोल्यूसनरी पार्टी’, ‘सोसल-डेमोक्र्याट पार्टी’ ‘सोसलिष्ट युनिटी एण्ड सोलिडारिटी पार्टी’ ‘लिबरल सोसलिष्ट पार्टी’ आदि नामहरु यस्ता पार्टीले प्रयोग गरेको पाइन्छ ।

विश्व राजनीतिको पाँचौं विचारधारा राष्ट्रवादी (नेशनालिष्ट) विचारधारा हो, जसले साम्राज्यवाद तथा उपनिवेशवाद विरोधी स्वाधिनता आन्दोलनलाई प्रेरित गरेको देखिन्छ । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘देशप्रेम’, ‘राष्ट्रियता’ वा ‘राष्ट्रवाद’ हो । देशको स्वाधिनता, स्वतन्त्रता र मुक्तिलाई राष्ट्रवादी आन्दोलनको मुख्य अभिप्रेरणा मानिन्छ । यसले राष्ट्रको स्वाधिनता विना नागरिकको स्वतन्त्रता कायम हुन नसक्ने विश्वास गर्दछ ।

नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ

ल्याटिन भाषाको ‘नेस्की’- अर्थ हो -जन्मनु । ‘न्यासियो’- को अर्थ ‘जन्मले वा जन्मस्थानले एकै प्रकारका मान्छे हुनु’ र ‘नेशन’ को अर्थ हो- जन्म वा जन्मस्थानका कारण एकै प्रकारका भएका मान्छेहरुको समूह । राजनीतिमा ‘नेशनालिज्म’ शब्दको पहिलो प्रयोग सन् १७८९ मा फ्रान्सेली चिन्तक अगस्टिन ब्यारेलले गरेका थिए । फ्रान्सेली राज्यक्रान्तिमा क्रान्तिकारीहरुले ‘हामी फ्रान्सेली जनता’ भन्ने शब्दावली प्रयोग गर्दथे । विस्तारै त्यो भावना ‘हामी जन्मले एक हौं’ ‘भाषा, संस्कृति नियतिले एक हौं’ भन्ने तहमा विकसित भयो । उनीहरुले आफ्नो ‘भूगोल पनि एक बनाउँने’ चिन्तन अगाडि सारे । यसरी ‘महान फ्रान्स राज्य’ को अवधारणा विकास हुँदै जाँदा नेपोलेनिक युद्धको युग आयो ।

नेपोलेनिक युद्धको अवधिमा फ्रान्सले अरु युरोपेली देशहरुमाथि आधिपत्य जमाउन थाल्यो । फलतः आधिपत्य कायम गरिएका देशहरुमा भने स्वतन्त्रता र मुक्तिको चाहना देखा पर्यो । यो अर्को कोणबाट राष्ट्रवादी विचारधाराकै पुनरुत्थान थियो ।

फ्रान्सेलीहरुलाई फ्रान्सको माया छ, फ्रान्स महान लाग्छ भने हामीलाई आफ्नो राष्ट्रको माया छ, हामीलाई हाम्रै राष्ट्र महान लाग्छ । यस्तो सोच फ्रान्सपछि जर्मनी र इटालीमा देखापरेको थियो । इटली र जर्मनीको एकीकरण युरोपेली राष्टवादी आन्दोलनका महत्वपूर्ण घटनाहरु हुन । वेलायती साम्राज्यबाट अमेरिकाको स्वतन्त्रता र नयाँ राष्ट्रको जन्म आफैंमा महत्वपूर्ण घटना थियो ।

यही प्रक्रियामा अनेक साम्राज्यहरुको उदय र ती साम्राज्यबाट मुक्तिको चाहनासंगसंगै अगाडि बढ्दै गए । पहिलो विश्वयुद्धमा जर्मन, आष्ट्रो-हंगेरियन र रसियन साम्राज्यबाट फिनलैण्ड, चेकोस्लोभाकिया, हंगरी, पोलैण्ड र युगोस्लाभियाको मुक्तिलाई महत्वपूर्ण राष्ट्रवादी आन्दोलनको रुपमा हेरिए । दोस्रो विश्वयुद्धताका राष्ट्रवादी विचारधाराको अर्को लहर देखापर्यो । अंग्रेज साम्राज्यवाट भारत र विभिन्न अफ्रिकी मुलुकहरुको स्वतन्त्रता तथा जर्मन र जापानको पराजय यसका महत्वपूर्ण उदाहरणहरु थिए ।

राष्ट्रवादी विचारधाराको सीमा तय गर्न सजिलो भने छैन । कस्तो र कत्रो राष्ट्रको उदयलाई स्वतन्त्रता भन्ने, कत्रो र कस्तो राष्ट्रको उदयलाई विभाजन वा पृथकता भन्ने ? यो प्रश्नको उत्तर कसैका लागि सहज छैन । वेलायती साम्राज्यबाट भारतको स्वतन्त्रता हो भने पाकिस्तान वा वंगलादेशको स्थापना चाहिँ किन विभाजन हो ? इन्डोनेसियाबाट इष्ट टिमोरको स्वतन्त्रता हो, मलेसियाबाट सिंगापुरको स्वतन्त्रता हो भने भने ठीक यस्तै स्वतन्त्रता श्रीलंकामा तमिल, भारतमा कस्मिर, चीनमा तिब्बत, क्यानाडामा क्यूवेक र स्पेनमा क्याटालोनियाले किन पाउन नहुने ? सोभियत संघ र युगोस्लोभाकियाको विभाजन पृथकता हो वा नवराष्ट्रियता ? यी प्रश्नहरु अनुत्तरित छन् ।

प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन्

विश्वराजनीतिको छैठौं विचाराधारा ‘फासिज्म’ शब्द ल्याटिन भाषाको ‘फासेस’ बाट बनेको मानिन्छ । यसको अर्थ रोमन साम्राज्यको समयमा प्रयोग गरिने एउटा विशेष चिन्ह ‘फलामे डन्डीको विटोमा एउटा बञ्चरो बाँधिएको’ चिन्ह भन्ने बुझिन्छ । इटालियन भाषामा यसलाई ‘फासियो’ भनिथ्यो । यो चिन्हले रोमन साम्राज्यको युगमा शासकको शक्ति, प्राधिकार र एकत्वलाई बुझाउँथ्यो । आधुनिक युगमा इटालीमा वेनिटो मुसोलिनीले यही चिन्ह प्रयोग गरे । जर्मनीमा हिटलरको नाजिवाद र स्पेनमा जनरल फ्रान्कोको शासन फासीवादी शासनकै विस्तार मानिन्छन् ।

फासीवादी चिन्तनको स्रोत एकीकरण, प्राधिकार र राष्ट्रवादको एकत्व हो । युरोपमा यी शासनसत्ताहरु पहिलो विश्वयुद्धको पृष्ठभूमिमा जन्मिएका थिए । पहिलो विश्वयुद्धमा यी देशहरुको पराजय र असमान सन्धी सम्झौताले यहाँका जनता र सेना निराश थिए । उनीहरु कुनै नयाँ प्रकारको राजनीतिक शक्तिको खोजी गरिरहेका थिए । त्यही क्रममा फासीवादी सत्ताहरु अस्तित्वमा आए ।

राष्ट्रियता र रक्तसम्बन्ध यस चिन्तनका अनौपचारिक पक्ष हुन् । फासीवादी चिन्तन पद्धतिमा कुनै पनि राज्य वा समाज निश्चित राष्ट्रियताको आधारमा बनेको हुन्छ । त्यस्तो राष्ट्रियताको निर्माणका लागि केही मुख्य जाति, नश्ल तथा भाषिक समुदायले ठूलो भूमिका गरेको हुन्छ । कुनै मुख्य जाति नश्ल वा भाषिक समुदायको नेतृत्वदायी भूमिका विना राज्य र राष्ट्रको गठन, संरक्षण र विकास गर्न सकिन्न । त्यहाँ भएका अन्य जातीय, भाषिक तथा सांस्कृतिक समुदायहरु मुख्य समुदायसँग विस्तारै अन्तर्घुलित हुँदै जान्छन् । प्रकारान्तले राज्य ‘राष्ट्रिय राज्य’ बन्न पुग्छ ।

यस प्रक्रियामा अल्पसंख्यक समूह वैवाहिक प्रक्रिया, रक्तसम्बन्ध, भाषिक तथा सांस्कृतिक अन्तर्घुलनमा सहयोगीको भूमिकामा हुनुपर्दछ । यदि उनीहरु सहयोगी भूमिका गर्न इच्छुक छैनन् भने उनीहरुमाथि दमन गर्नु स्वभाविक आवश्यकता बन्न पुग्दछ । श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न सक्दछन् भन्ने मान्यतालाई फासीवाद भनिन्छ । फासीवादी चिन्तन प्रकारान्तले ‘अन्धराष्ट्रवाद’ र अल्पसंख्यकहरुको ‘जातिहत्या’सम्म पुग्ने गरेको देखिन्छ । दोस्रो विश्वयुद्धमा मुसोलिनी र हिटलरको हारसँगै यो विचारधारा पराजित भएको मानिन्छ ।

राजनीतिक विचारधाराका क्षेत्रमा सातौं विचारधारा धार्मिक कट्टरतावाद (फन्डामेन्टालिज्म) हो । यिनीहरुको बुझाइमा राज्यको आधार कुनै खास धर्म हो । विपरीत धर्मसँगको प्रतिरोधविना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ धर्मयुद्ध स्वाभाविक र जायज हो । निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नै नैतिक रुपमा बलियो हुन्छ । त्यस्तो राज्यले नै विकास र प्रगति गर्न सक्छ ।

अफगास्तिनको तालेवान, मध्यपूर्वको आइएसआइएस यसका उदाहरणहरु हुन । कतिपयले भारतको शिवसेनालाई पनि हिन्दू फेन्डामेन्टालिष्टका रुपमा हेर्छन् ।

आठौं विचारधारा-संघीयतावादी हो । तर, नेपालका सन्दर्भमा संघीयतावादभन्दा जे बुझिन्छ, विश्वराजनीतिमा ठीक उल्टो बुझिन्छ । अमेरिकाको स्थापना हुँदा केन्द्रलाई बलियो बनाउन चाहनेहरुलाई ‘फेडेरालिष्ट’ भनिथ्यो र प्रदेशलाई बलियो बनाउन चाहनेहरुलाई ‘एन्टी-फेडेरालिष्ट’ । तर, नेपालमा भने प्रदेशको रचना गर्न चाहनेहरुलाई संघीयतावादी भनियो । यो धारको राजनीतिलाई पहिचानवादी पनि भन्ने गरेको पाइन्छ । तर, मेरो विचारमा यो धारलाई बहुसांस्कृतिकतावादी (मल्टिकल्चरलिष्ट ) भन्नु बढी उपयुक्त हुन्छ ।

किनकि यो विचारअनुसार कुनै पनि समाज वा राज्य उत्तिकै समरुप हुँदैन । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भुगोलको विविधता र मनोविज्ञानका हिसाबले राज्य बहुसांस्कृतिक बन्न पुग्छ । ती सबै जातीय, भाषिक र सांस्कृतिक समूहहरुको कूलयोग नै राज्य वा समाज हो । सबैको योगदानबाट राज्य वा समाज बनेको हुन्छ । त्यस्ता समुदायहरुले आआफ्नो विशिष्टतामा स्वशासन पाउनुपर्छ । समावेशिता हुनुपर्दछ । अन्यथा तिनीहरुको आत्मनिर्णयको अधिकार स्वभाविक आवश्यकता बन्न पुग्दछ । स्वशासन, समावेशिता र आत्मनिर्णयको अभाव नै पृथकतावादको कारण बन्न पुग्दछ । एउटै राज्य वा देशभित्र विविध संस्कृतिका कल्स्टरहरुको संरक्षणबाट राज्यको सौन्दर्य बृद्धि भई त्यो फूलवारीजस्तो बन्न पुग्छ भन्ने धारणा राखिन्छ ।

नवौं-जैविकतावादी (इकोलजिष्ट) विचार हो । यो विचार युरोपको गि्रन पार्टी र वातावरणवादी आन्दोलनबाट भएको हो । नेपालमा पनि यही अवधारणामा ‘हरियाली पार्टी’ बनाइयो । तर, खासै चलेन । यस विचारधारामा मानवीय दुःखको कारण वातावरणीय विनाश हो ।

तीव्र आर्थिक विकासको लोभमा हुने तीव्र औधोगिकीकरण र तीव्र औधोगिकीकरणले सिर्जना गर्ने प्राकृतिक स्रोतसाधनको दोहन, प्रदुषण नै समस्याका कारण हुन् । प्रकृति स्वयंमा सन्तुलनमा हुन्छ । मान्छेले त्यसको सन्तुलन र सौन्दर्य नष्ट गर्छ । यसलाई रोक्नु नै बेथिति र मानवीय दुःखलाई रोक्नु हो । वातावरणीय संरक्षण, दिगो विकास, भावी पुस्ताका लागि प्रकृति हन्तान्तरण, सुशासनका लागि लोभहीन प्राकृत जीवन पद्धति यही विचारधाराका योगदान हुन् ।

दशौं-अराजकतावादी (अनार्किष्ट) विचारधारा हो । यो विचारधारा युरोपेली समाजवादी आन्दोलनको प्रारम्भमा निकै शक्तिशाली थियो । रुसी चिन्तक मिखायल बाकुनिन र जर्मन राजनीतिज्ञ फर्डिनेन्ड लासालले यो विचारलाई विश्वराजनीतिमा भित्र्याएका हुन् ।

अराजकतावादी चिन्तनमा धार्मिक सामाजिक संस्था वा राज्यको अस्तित्व स्वयंमा खराबीको कारण हो । प्रकृतिले आफ्ना नियमहरु आफैं बनाएको हुन्छ । त्यो आफैंमा पर्याप्त छ । पशु जगतको कुनै राज्य हुँदैन । पंक्षीलाई जुनसुकै देशमा जान कुनै भिसा, पासपोर्ट लाग्दैन । मान्छे पनि प्रकृतिले सिर्जना गरेको प्राणी हो । ऊ चराझैं सामाजिक तथा राजनीतिक संस्थाहरुको नियन्त्रणबाट स्वतन्त्र हुनु पर्दछ, सबै चिज आफै ठीक हुन्छ । जब राज्य ध्वस्त हुन्छ, मान्छेलाई दमन गर्ने कुनै संस्था नै बाँकी रहँदैन । तसर्थ क्रान्तिकारी आन्दोलनको उद्देश्य राज्यलाई ध्वंस्त गर्नु हो ।

यहाँनेर चर्चा गर्न योग्य कुरा के छ भने अबको युगमा यी विचारहरु एक्लाएक्लै बलशाली छैनन् । यी विचारहरु अन्तर्घुलित भएर विभिन्न विचारहरुको जन्म भएको छ । अमेरिकी र भारतीय स्वतन्त्रता संग्राममा उदारवाद र राष्ट्रवादको समिश्रण थियो भने चिनियाँ, भियतनामी क्रान्तिमा साम्यवाद र राष्ट्रवाद समिश्रति भएका थिए । नोर्डिक लगायत पश्चिम युरोपेली मुलुकमा राष्ट्रवाद र समाजवादको समिश्रण छ । बेलायतको लेबोर र अमेरिकाको डेमोक्रयाटिक पार्टीका विचार उदारवाद र समाजवादको समिश्रणबाट बनेका छन् ।

देङपछिको चीनमा साम्यवाद र बजार अर्थतन्त्रको समिश्रणलाई बुझाउन ‘समाजवादी बजार अर्थतन्त्र’ भन्ने नयाँ शब्दाबली प्रयोग गरिएको छ ।

नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ ।

प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन् । पहिचानवादीहरुभित्र राजपाजस्तो उदारवादी र फोरमजस्तो समाजवादी दुबै धार छन् ।

वैकल्पिक राजनीतिको कुरा गरिरहेको नयाँ शक्ति पार्टीले समाजवादभित्रको ‘सोसल डेमोक्रेसी’ लाई समात्न खोजेको प्रतीत हुन्छ । तर, नेपालका सन्दर्भमा साम्यवादी आन्दोलनको योगदानलाई पनि उसले नकारेको छैन । विवेकशील साझा भने ‘पोष्ट मोर्डानिज्म’तिर गइरहेको हो कि जस्तो लाग्छ, जो उपरोक्त १० वटै धारभन्दा केही भिन्न विचारधारा हो । ‘पोष्ट मोर्डानिज्म’ अहिलेसम्म दर्शनको तहमा मात्र छ, त्यसले राजनीतिक आकार लिइसकेको छैन ।

संक्षेपमा भन्नु पर्दा आज कुनै पनि राजनीतिक विचारधारा अर्ग्यानिक छैनन् । यस परिप्रेक्ष्यमा कम्युनिज्मको मौलिक विचार के थियो, नेपालका कम्युनिष्टहरुले कुन प्रवृत्ति समात्ने सम्भावना छ भन्ने र नेपालको वस्तुगत यथार्थले कस्तो विचारधारा माग गरिरहेको छ भन्नेबारे अर्को किस्तामा चर्चा गरिनेछ ।

                                        अनलाईनखबरबाट साभार


आइतबार ३०, पुष २०७४ ११:५८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस