---
Tuesday, December 11 2018, 02:35 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:३५
बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

एफएम संवाददाता
पुष २९ बैतडी

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्ष्भित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो । गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिएको कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो ।  

बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा रहेकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना तयार पारिएको उहाँले बताउनुभयो । योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरुका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।

सो रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानूनविरुद्धको कार्य भए पनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी नपरेको बताउनुभयो ।

बालविवाह न्यूनीकरणका लागि ग्रामीणस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उहाँको भनाई छ । महिला विकास अधिकृत अनिता बुढाऐरले बालविवाहले समग्र महिलाको जीवनमा समस्या ल्याउने भएकाले यसको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  

 

 


शनिबार २९, पुष २०७४ ०७:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस