---
Tuesday, December 11 2018, 02:21 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२१
महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध

बुधबार, २६ पुष २०७४| Radio Dhangadhi
महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध

एफएम संवाददाता
पुष २६ दार्चुला
 

महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो । दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भइरहेको छ, तर विस्फोटक पदार्थको अभावले काम गर्न समस्या भएको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । ठेक्का भएर काम शुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि सडक निर्माण कार्य अवरुद्ध छ ।

 यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्र्याक खोलिएको भए पनि अब जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोकिने योजना प्रमुख शाह बताउनुहुन्छ । महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन नभएकाले निर्माण कार्य रोकेको सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

महाकाली कोरिडोरको वातावरणीय मूल्याङ्कनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको र अब डेढ महिनाभित्रै प्रतिवेदन तयार हुने योजना प्रमुख शाहको भनाइ छ । 


बुधबार २६, पुष २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस