BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:27 | शुक्रबार ०५, असोज २०७५ १६:२७
कहाँ चुक्यो कांग्रेस ?

बिहिबार, २० पुष २०७४| Radio Dhangadhi
कहाँ चुक्यो कांग्रेस ?

होमनाथ दाहाल

आफैं सत्तामा बसेर गराएको स्थानीय तहदेखि प्रदेश र केन्द्रीय संसद्सम्मको चुनावमा नेपाली कांग्रेसका प्रत्यक्षतर्पmका उम्मेदवारले हार व्यहोर्नुपर्‍यो। २०७० मा भएको संविधानसभा चुनावमा पहिलो हुन सफल कांग्रेस अहिले तेस्रो स्थानमा खुम्चिन पुग्यो। चुनावको परिणाम हेर्दा कांग्रेस हारेको नभई कांग्रेसी हारेका देखिन्छन्। कांग्रेसले नै हारेको भए समानुपातिकमा पनि हार्नुपर्थ्यो। समानुपातिकमा पाएको सफलताले अहिले पनि संसद्मा दोस्रो ठूलो दल भएको छ। कांग्रेस किन हार्‍यो ?  कांग्रेसका शुभचिन्तक बुद्धिजीवी मर्माहत भएका छन्, तर स्वयं कांग्रेसको नेतृत्व भने अहिलेसम्म बोलेको छैन। प्रजातन्त्रमा हारजित सामान्य प्रक्रिया हो। शान्तिपूर्ण निर्वाचनमा भाग लिएका जनतालाई कांग्रेसले धन्यवादसम्म दिने शिष्टता देखाएको छैन। जब कि यति छोटो समयमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु समसामयिक विश्व घटनामा महत्वपूर्ण उपलब्धि हो। यो उपलब्धिलाई पनि कांग्रेसले आफ्नो हो भन्न किन हिच्किचाइरहेछ ?      

चुनाव पनि शान्तिपूर्ण युद्ध नै हो। युद्धमा जाँदा योद्धाले जित्ने रणनीति तयार गर्नुपर्ने हुन्छ। युद्ध जित्न योद्धालाई उत्प्रेरित गर्नुपर्ने हुन्छ। खेलको मैदानभित्र छिरेपछि जित्नु खेलको धर्म हो। कांग्रेस कुनै तयारीविना निर्वाचन मैदानमा होमियो। प्रभावकारी चुनाव परिचालन गर्ने केन्द्रीय र जिल्ला समितिसम्म बनाइएन। दुइटा सशक्त कम्युनिस्ट पार्टी गठबन्धन गरेर चुनावमा गएका थिए। यसै पनि प्रोपोगान्डामा माहिर कम्युनिस्ट त्यसमा पनि गठबन्धन गरेर चुनावमा गए मुलुकमा राजनीतिक स्थिरता र विकास गर्ने नारा दिएर।

विगत १० वर्षदेखिको राजनीतिक अस्थिरताले जनता वाक्क थिए। कम्युनिस्टका ती सस्ता नारामा विश्वास गरेर जनताले मत दिए। कांग्रेसको के नारा थियो जनतालाई आकर्षित गर्ने ? घोषणापत्र पनि सबै ठाउँमा पु¥याइएन। कांग्रेसले ००७ सालमा क्रान्ति गर्‍यो, २०४६ सालमा प्रजातन्त्र ल्यायो, २०६२/०६३ को आन्दोलनबाट कांग्रेसको नेतृत्वमा राजालाई हटाइयो र संविधान कांग्रेसकै नेतृत्वमा जारी भयो भनेर आजका सचेत जनता विश्वास गर्ने अवस्थामा थिएनन्। परिणामले पनि देखायो जनताले विश्वास गरेनन् यो त ‘मेरा बाबुले घिउ खाएका थिए मेरो हात सुँघ’ भनेजस्तो भयो। अहिले ४० देखि ४५ लाख युवा कामको खोजीमा विदेशमा छन्, लाखौं शिक्षित बेरोजगार देशभित्र नै छन्, तिनलाई के रोजगार दिने ? कांग्रेसले प्रभावकारी ढंगले भन्न सकेन। घोषणापत्रमा लेखेको कुरा पनि प्रचारमा ल्याइएन।

कांग्रेसका सुप्रिम बोसहरूले ठाने जनता हामीले जे भने पनि मानिहाल्छन्, यो मानसिकताबाट कांग्रेस चुनावमा गयो। चुनावको परिणामले देखायो एक्काइसौं शताब्दीका नेपाली जनता आफ्नो विवेकपूर्ण निर्णय गर्न सक्षम छन्। त्यसकारण तिनले कांग्रेस मर्न दिएनन् तर कांग्रेसको नाममा चुनाव लड्न आएका ठेकेदार, गरिब र निमुखा जनतालाई चुसेर विदेश पठाउने जुका, अनेक अवैध काण्डमा संलग्न डन जब टिकट लिएर आए जनताले आफ्नो विवेकपूर्ण निर्णय गरे र चुनावको यस्तो परिणाम आयो। हो, कांग्रेसका सबै उम्मेदवार भ्रष्ट थिएनन्, प्रजातन्त्रको लागि बीसौं वर्ष आफ्नो सर्वस्व अर्पण गरेका त्यागी तपस्वी पनि टिकट पाउनेमा थिए, तर मकै पिस्दा घुन पिसिएजस्तै ती तपस्वीहरू पनि पिसिए।

भारतले लगाएको नाकाबन्दीप्रति मौन बस्दा, हामीले जित्यौं भने भ्रष्टाचारमुक्त सुशासन दिन्छौं भन्न नसक्दा र राप्रपासँग चुनावी तालमेल गर्दा सर्वसाधारणले कांग्रेसलाई दण्ड दिएका हुन्।

सत्ताको नेतृत्व गरेको कांग्रेसले उसका शुभचिन्तक सञ्चारकर्मीको तेजोबध गर्ने काम गर्‍यो। चाटुकारहरूलाई सल्लाहकार र राजनीतिक नियुक्ति गरेपछि कुनै स्वाभिमानी सञ्चारकर्मी कांग्रेसलाई जिताउन लागिपरेनन्। मूलधारका पत्रिका र टेलिभिजनबाहेक करिब पाँच/छ सय एफएम चालू अवस्थामा छन्। लाखौं जनताका हातमा मोबाइल छ, सयौंको संख्यामा अनलाइन चलेका छन्। तिनीहरूमध्ये कतिलाई कांग्रेसले संस्थागतरूपमा आफ्नो पक्षमा प्रयोग गर्‍यो ? जवाफशून्य छ। व्यक्तिगत रूपमा कुनै उम्मेदवारले गरे होलान्। कांग्रेस संस्थागतरूपमा चुनाव लडेको थियो। संस्थागतरूपमा परिचालन गर्नुपर्दथ्यो। यस्ता रणनीतिक गल्तीबाहेक आफ्नो स्थापनाकालदेखि आस्था राखेर लडेका नीतिगत कुरा पनि कांग्रेसले अक्षम्य गल्ती ग¥यो। अनि जनताले बज्रभन्दा कठोर निर्णय गरे। एकजना कविले मार्मिकरूपमा जनताको मनस्थितिको वर्णन गरेका छन्। कविले लेखेको त्यो कविता अहिले कांग्रेसको हकमा हुबहु मिल्न आउँछ।

राजा दशरथले पत्नीमोहमा परेर राज्यसत्ताको स्वाभाविक उत्तराधिकारी रामलाई बनवास र भरतलाई राजगद्दीको उत्तराधिकारी घोषणा गरे। श्रीराम पिताको आज्ञा शिरोधार गरी बनवास हिँडे हजारौं अयोध्यावासी राममाथि अन्याय भयो भनेर उनका पछि लागे। सरयु नदीको किनारामा पुगेपछि ती जनतालाई श्रीरामले सम्झाएर पिताको आज्ञापालन गर्न बनवास हिँडेको पिता दशरथलाई दोष दिनु गलत हुन्छ अनि दशरथको आज्ञाअनुसार १४ वर्ष बनवास गरेर उनी अयोध्या फर्के र राज गर्न थाले। राजा भएपछि आफ्नो शासनप्रति जनता के भन्छन् भनी बुझ्न गुप्तचर पठाउँदा एउटा धोवीले श्रीमतीको चरित्रलाई लिएर शंका गर्दै ‘म राजा रामजस्तो लाछी होइन। सीताको चरित्रलाई जनताले शंका गरे पनि उनलाई दरबारमा नै राख्ने ? ’ भन्दै धोवीले श्रीमतीलाई गाली गरेको गुप्तचरले सुन्यो, यही कुरा जानकारी गरायो। जनता सीताजीका बारेमा यस्तो शंका गर्दा रहेछन्। गुप्तचरको कुरा सुनेपछि गर्भवती सीतालाई वनमा छोड्न राम जाँदा एउटा पनि अयोध्यावासी उनका पछि लागेनन्। कवि ज्यादै मार्मिकरूपमा भन्छन्, जनताले जतिबेला माया गर्छन् त्यो सयपत्री पूmलभन्दा कोमल हुन्छ, तर तिनै जनतालाई जब शासकले गल्ती ग¥यो भन्ने लाग्छ तिनै जनताको मनस्थिति बज्रभन्दा कठोर हुन्छ। कांग्रेसलाई पनि जनताले पटकपटक माया गरे, कांग्रेसले जनताको मायाको यसपटक अवमूल्यन गर्‍यो। जनताले पनि कांग्रेसप्रति बज्रभन्दा कठोर निर्णय गरे।

यसपटक कांग्रेसले केही रणनीतिगत र केही आफ्नो स्थापनाकालदेखि राखेको मान्यताप्रति प्रश्न उठ्ने काम गरेर चुनावमा गयो। कांग्रेस पार्टी स्थापना हुँदा नै प्रजातन्त्रका विश्वव्यापी मान्यतामा आस्था राख्ने पार्टी भनेर घोषणा गरेको थियो। त्यस्तो विश्वव्यापी मान्यतामा शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र र सक्षम न्यायालय कांग्रेसको मान्यता र आस्था हो। त्यसमा नै प्रश्न उठ्ने गरेर कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव ल्यायो। किन महाभियोग लगाउनुपर्‍यो त्यसको औचित्यमाथि व्याख्या गरिएन, केवल प्रधानन्यायाधीशको मानमर्दन गर्न कसैको सनकका भरमा त्यो प्रस्ताव दर्ता गरिएको जनमानसको बुझाइ रह्यो। कांग्रेसलाई थाहा थियो– उसको मात्र प्रयत्नले महाभियोग पारित हुँदैन, तैपनि प्रस्ताव दर्ता गरियो। यसविपरीत जनमानसले भ्रष्ट ठहर गरेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीप्रति कांग्रेस मौन रह्यो। यी दुवै घटना प्रतिपक्षले खुव उचाल्यो, कांग्रेसमाथि प्रहार गर्‍यो, कांग्रेससँग कुनै जवाफ थिएन।

कांग्रेसको हारको अर्को कारण बन्यो भारतले लगाएको नाकाबन्दीप्रति मौन बस्नू। कम्युनिस्टहरूले नाकाबन्दीमा कांग्रेसको समर्थन रहेको प्रचार गर्दा त्यसको कडा प्रतिवाद कांग्रेसले गरेन। जनताले सम्झे हामीले सिटामोलसम्म नपाएर मर्नुपर्ने अवस्था आउँदा आफूले यत्रो वर्षदेखि आस्था राखेर समर्थन गरेको कांग्रेस मौन बस्छ भने चुनावको समयमा मौका पर्खेर बसेका सर्वसाधारणले कांग्रेसलाई दण्ड दिए। यी केही उदाहरण हुन् यस्ता अरू पनि धेरै गल्ती छन्, कांग्रेसको हारमा। भ्रष्टाचारमुक्त प्रशासन कांग्रेसको मुख्य नारा हुनुपर्ने थियो जनता अहिले सबभन्दा बढी पीडित भ्रष्टाचारबाट छन्। हामीले जित्यौं भने भ्रष्टाचारमुक्त सुशासन दिन्छौं भन्न सकेन। सम्भवतः टिकट पाउनेको अनुहार सम्झे होलान् घोषणापत्र लेख्नेले। त्यसकारण यस्तो लेख्ने आँट तिनले गरेनन्।

यसपटकको चुनावमा यस्ता गल्तीका अतिरिक्त कांग्रेसको सबभन्दा ठूलो गल्ती थियो, राप्रपासँग चुनावी तालमेल गर्नु। राप्रपासँग कांग्रेसको तालमेलले कांग्रेसका कार्यकर्ताले हिजोका दिनमा प्रजातन्त्रका लागि आपूmहरूले गरेको संघर्षको तेजोबध भएको अनुभव गरे। २०१७ साल पुस १ गते देखि २०४६ सालसम्म निरंकुश पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दा सहादत प्राप्त गरेका ती हजारौं सहिदहरूको अपमान भएको महसुस गरे। चुनावी तालमेल हेर्दा चुनाव जिताइदेऊ भनेर कांग्रेस राप्रपा नेपालसँग अनुनय गर्न गएजस्तो देखियो। कांग्रेसका उम्मेदवार सिटौलालाई जसरी पनि हराउने रणनीति एमाले अध्यक्ष ओलीले राखेका थिए। ओली र महामन्त्री लिङदेनबीच भित्री सहमति भइसकेको थियो। यो थाहा हुँदाहुँदै कमल थापालाई जिताउन कांग्रेसले मकवानपुरमा उम्मेदवार दिएन। कांग्रेसको सहयोगमा थापा चुनाव लडे, तर तिनै थापाको पार्टीका महामन्त्री लिङदेन कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउन कम्युनिस्टसँग साँठगाँठ गर्न पुगे। उनका विरुद्धमा कम्युनिस्ट गठबन्धनले उम्मेदवार दिएन। राजेन्द्रलाई जिताउने मेरो जिम्मेवारी हो भनेर केपी ओली दुईपटक निर्वाचन क्षेत्रमा गएर भाषण गरे, काम्रेड राजेन्द्रलाई जसरी पनि जिताउनुपर्छ भनी कार्यकर्तालाई निर्देशन दिए। कम्युनिस्टसँगको गठबन्धन गरेर राजेन्द्र चुनाव लडे, राजेन्द्र कम्युनिस्टसँग साँठगाँठ गरेर चुनाव लडेपछि कांग्रेसले थापालाई दिएको समर्थन फिर्ता लिनुपर्दथ्यो। कांग्रेसले यस्तो निर्णय गरेको भए देशभरका कार्यकर्ता उत्साहित हुने थिए। जितहार जे भए पनि कार्यकर्ताको मनोबल गिर्ने थिएन।

०१७ सालपछि कांग्रेसले गरेको संघर्षको सबभन्दा बढी विरोध गर्नेमा पञ्चायत व्यवस्थाको विद्यार्थी संगठन ‘राष्ट्रवादी विद्यार्थी मण्डल’ थियो, जसका हर्ताकर्ता थिए थापा विद्यार्थी क्षेत्रमा मण्डलेका रूपमा कुख्यात गिरोह पञ्चायतको ‘गेस्टापो’ भनिन्थ्यो जसको काम पर्दाभित्र बसेर प्रजातन्त्रवादीको हत्या गर्नु थियो उनका धेरै त्यस्ता धेरै कुकर्म छन्, जसमध्ये जनआन्दोलन २०६२/०६३ दबाउन तत्कालीन गृहमन्त्रीको रूपमा थापाको प्रमुख भूमिका रहेको ‘जनआन्दोलनमा भएका ज्यादतीको छानबिन गर्न’ गठित रायमाझी आयोगले थापालाई मुख्य दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। थापाका विश्वासपात्र लिङदेनको भूमिका पनि त्यस्तै थियो। प्रजातन्त्रविरुद्ध २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघका नेता राम थापा झापामा मारिए। उनको हत्यामा लिङदेनको प्रमुख भूमिका रहेको आशंकामा उनी पक्राउ परेर पाँच महिना जेल बसेपछि उनी छुटे। झापामा कांग्रेसलाई दबाउन उनको सधैं प्रमुख भूमिका भएकाले पनि यसपटकको चुनावमा एमालेका अध्यक्ष केपी ओली राजेन्द्रलाई जिताउनमा सक्रिए भए।

आवरणमा राजावादी थापा कसका मान्छेका थिए र पञ्चायतमा कसको इसारामा कम गर्दथे भन्ने सधैं रहस्यपूर्ण रह्यो। सायद उनी ज्ञानेन्द्रका विश्वासपात्र थिए र उनको इसारामा काम गर्दथे। सिक्किम भारतमा गाभिएपछि नेपालको राष्ट्रियतामाथि पनि खतरा आउन थाल्यो भनेर राष्ट्रियता बचाउन बीपी २०३३ साल पुस १६ गते नेपाल फर्कनुभयो। त्रिभुवन विमानस्थलबाटै पक्राउ परेर जेलमा राखिनुभएका बीपी क्यान्सर रोगबाट गम्भीर बिरामी भएपछि राजा वीरेन्द्रले आफ्नै अग्रसरतामा सरकारले सम्पूर्ण खर्च व्यहोर्ने गरी अमेरिकामा उपचार गर्न पठाए। उपचार गरेर बीपी नेपाल फर्कंदा थापाको इसारामा मण्डलेहरूले उग्र विरोध गरे। बीपीको स्वागतमा विमानस्थल पुगेका कांग्रेसका नेता तथा कार्यकर्तामाथि आक्रमण भयो। मण्डलेको आक्रमणमा परेर राष्ट्रपुकारका सहायक सम्पादक विश्वनाथ अधिकारीलगायत केही कार्यकर्ता घाइते भए। घाइते अधिकारीलाई वीर अस्पतालमा भर्ना गर्नुपर्‍यो।

त्यतिबेला प्रधानमन्त्री थिए कीर्तिनिधि विष्ट बीपीको राष्ट्रियताप्रतिको अडानबाट ज्यादै प्रभावित थिए। पंक्तिकारसँगको कुराकानीमा विमानस्थलमा भएको उक्त घटनाप्रति व्यक्तिगत रूपमा विष्टले खिन्नता प्रकट गरेका थिए। कमल थापा सीधै ज्ञानेन्द्रको इशारामा काम गर्ने हुँदा प्रधानमन्त्री भएर पनि केही गर्न सक्ने अवस्थामा विष्ट थिएनन्।

यस्ता अनेक गल्ती गरे पनि यसपालिको चुनावमा कठोर निर्णय गर्दागर्दै पनि जनताले कांग्रेसलाई सुध्रने मौका फेरि दिएको छ। त्यसको सदुपयोग गरेर कांग्रेसले आफ्नो संगठनमा आमूल परिवर्तन गर्नुपर्छ र जुन ठाउँमा बीपीले कांग्रेसलाई छोडेर जानुभएको थियो अब त्यही विन्दुबाट कांग्रेसले आफ्नो संगठन सुधार गर्नुपर्छ।


बिहिबार २०, पुष २०७४ ०४:०९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस