Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:38 | बुधबार ०३, माघ २०७४ ०८:३८
पुस्तक अंश–जुवाडेको कथा र कांग्रेसको राजनीति

शनिबार, १५ पुष २०७४| Radio Dhangadhi

मसँग थोरै पैसा थियो र धेरै आँट । सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो । यही कारण गैरसरकारी संंस्थाका रुपमा तामाकोशी सेवा समिति नामक संस्था खोलेका थियौं । राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन बन्छ भन्ने सोच राखिन्छ भन्ने सोचेको थिइनँ । त्यही भयो ।

तासेस (तामाकोशी सेवा समिति)का स्वयंसेवक, सहयोगी र काम गरेका समुदाय एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामूदायिक विकास गर्ने मेरो सपना नेताहरुकै कारण अपूरो मात्र होइन, धुलोपिठो हुने थियो ।

 

नेतालाई पछुवाहरुको ठूलो समूह चाहिन्छ, भोट चाहिन्छ, नोट चाहिन्छ, लठैत चाहिन्छ । लेखकलाई यी कोही पनि चाहिँदैनन् । लेखक एक्लै बाँच्ने प्राणी हो । रामेछापका सक्कली नेताहरुले के बुझेनन् भने मेरो रगतमा सोझो लेखक थियो । म उनीहरु जस्तो काइते नेता थिइनँ । उनीहरुले आफैंजस्तो ठानेर मलाई पछाडिबाट छिर्के हाने । म सोझैँ जुधेँ ।

किसुनजी मुसुक्क हाँसेर बराबर यो चुट्की लिने गर्थे, ‘हेर्नुस् बाबु, तपाईंको जिल्ला दुई नम्बर हो तर त्यहाँका मान्छेचाहीं एक नम्बरी छन् । तपाईंको जिल्लामा सक्कली नेताहरु छन् । तपाईं सोझो हुनुहुन्छ । जोगिनु होला ।’

मैले र राजनीतिमा मभन्दा बढी पृष्ठभूमि र योगदान भएकी दुर्गाले समेत किसुनजी वा अरु कुनै कांंग्रेस नेतासँग कुनै पद वा फेभर नमागेकाले उनले मलाई सोझोमा गनेको हुनुपर्छ ।

किसुनजी कहिलेकाहीँ पतञ्जलीझैँ सूत्रमा बोल्थे । उनले भनेको ‘सक्कली नेता’को परिभाषा बुझ्न मैले कठिन परिश्रम गरें । यौटा खली मित्रले बताएपछि मात्र ‘सक्कली’को अर्थ बुझें । किसुनजीले सक्कली नेता भनेको के हो भन्ने बुझेपछि त्यो सूत्र मेरो रामेछापका नेतासँग व्यवहार गर्ने मूलमन्त्र भयो । मेरा खली मित्रले ‘सक्कली’ को अर्थ बुझाउन यो कथा सुनाए ः

एउटाको मर्ने बेला भएछ । मर्ने बेलामा बाबुले आफ्नो एक्लो छोरालाई भन्यो, ‘यो मेरो तँलाई अन्तिम उपदेश हो । सकेसम्म जुवा, रक्सी र वेश्याबाट परै बसेस् । केहीगरी सक्दै सकिनस् भने यी कुराहरु सक्कलीसँग बुझेर मात्रै मनले खाएको गरेस् ।’

बाबु बितेपछि उसलाई त्यो उपदेशको तात्पर्य बुझ्न मन लाग्यो । सबभन्दा पहिले सक्कली जुवाडेलाई भेटेर उसले जुवा खेल्न सिक्ने इच्छा बतायो । जुवाडेले भन्यो, ‘पैसा झिक ।’ उसले पैसा झिक्यो ।

जुवाडेले भन्यो, ‘अघि म सोखिन जुवाडे हुँदा म पनि यस्तै पैसाले जुवा खेल्थेँ । जीवनभरि जुवा खेलेर मेरो सबै सर्वश्व सकियो । परिवारले छाडे । अब यो भत्केको पाटीमा बसेर फुटेका गाग्राका रुपियाँ बनाएर जुवा खेल्छु । मैजस्ता टाट पल्टेका मेरा साथीहरु जुवा खेल्न आउँछन्, यस्तै खबटा लिएर । तिमी पनि खबटा लिएर आऊ, हामीसँग खेल्ने हो भने । यहाँ सक्कलै रुपैयाँ चल्दैन ।’

उसले जुवाडेको हविगत बुझ्यो र सक्कली जँड्याहा खोज्न थाल्यो ।

महिनौंदेखि दारुका भरमा मात्रै बाँचेको, नङ, कपाल बढेर बिरुप भएको, बाटोमा जो भेट्यो पैसा माग्ने र पायो भने दारु तन्काइहाल्ने, देख्दा माग्ने वा बौलाहाजस्तो लाग्ने मान्छेलाई भेट्यो । मान्छेहरुले भने ऊ नै सक्कली जँड्याहा भनेर चिनाइदिए ।

सक्कली जँड्याहाको अगाडि पर्नेबित्तिकै उसलाई भन्यो, ‘पैसा झिक रक्सी खान ।’

‘तिमीलाई देख्दै पुग्यो, खानु परेन,’ उसलाई देख्दै विरक्तिएको थियो ।

‘के देखेको छस् र ? अघि म सोखिन जँड्याहा छँदाको मेरो रवाफ देखेको भए थाहा पाउँथिस्,’ सक्कलीले भन्यो ।

‘के रवाफ थियो र ?’ उसले सोध्यो ।

‘मेरा तमाम साथी थिए । तिनले मलाई सधैं घेरेका हुन्थ्ो । सबलाई म ख्वाउँथें । पियाउँथें । क्या महेफिल जम्थ्यो सधैं ।’

‘अनि के भो त ?’

‘मेरो सम्पत्ति सकियो । म टाट भएँ । अनि, यी यै भो । सबैले मलाई छाडे । तिमी पनि यसै नछोड । सुका-मोहोर भए पनि दिएर जाऊ । आज कोही दाता जुरेको छैन ।’

त्यसपछि ऊ सक्कली वेश्यासँग गयो । जीवनभरि वेश्यावृत्ति गरेकी ती नारी दुढी र रोगग्रस्त भएर थला परेकी भए पनि नयाँ-नयाँ चेली बटुलेर धन्दा गरिरहेकी थिइन् ।

अनि, उसले सक्कली बाबुले दिएको ‘सक्कलीसँग सिक्नु’ भन्ने उपदेशको अर्थ बुझ्यो ।

यो कथा सुनेपछि मैले किसुनजीको सक्कली सूत्र बुझें र रामेछापका नेताहरुसँग व्यवहार गर्ने मेलो बसाएँ ।

किसुनजीले भनेको अघिको पूर्व दुई नम्बरमा अहिलेका तीन जिल्ला छन्, दोलखा, रामेछाप र सिन्धुली । यी सबै अहिले पनि पूर्व दुई नम्बर भनेर चिनिन्छन् । पूर्व दुई नम्बर खासमा एक नम्बरका मान्छे र नेताहरुको मात्र होइन, विद्वान, राजनीति र समाज सुधारका अगुवाहरुको जन्मथलो पनि हो ।

म रामेछापमा ‘सामूदायिक विकास’ गर्छु भनेर लागेको केही समयपछि नै अचानक बहुदलीय व्यवस्था आयो । त्यो टुप्पाबाट आएको थियो, फेदबाट होइन । गाउँघरमा त के कुरा केन्द्रकै पनि कति नेताहरुलाई बहुदलीय व्यवस्था यसरी र यति चाँडै झ्वाट्ट आइहाल्छ भन्ने विश्वास थिएन । मेरो मन्थलीमा काम गर्ने निर्णय र बहुदलको आगमन केवल काकताली थियो ।

बहुदल के आउनु थियो, धेरैले रामेछापको रुखो पाखोमा राजनीति नै सबैभन्दा मलिलो, भरिलो र रसिलो देखे । हिजोका पञ्चायतका प्रबल प्रवक्ताहरु सिद्धिचरणले ‘मेरो प्यारो ओखलढुंगा’ भनेझैं ‘मेरो प्यारो मातृसंस्था’ भन्दै कांग्रेसमा फर्किए ।

कोही मबाट ‘हिमालयन ब्लन्डर भयो’ भनेर माफी माग्दै फर्किए । केको पार्टीले खटाएर पो त म कट्टर पञ्च भएको, मेरो हृदयमा त कांग्रेसकै बास थियो भन्दै फर्किए । कोही गर्भैदेखिको कांग्रेस हुँ भन्दै फर्किए । कोही जन्मजात कांग्रेस हुँ भन्दै फर्किए । कोही वाक्य फुट्दा नै ‘प्रजातन्त्र’ भनेको हुँ भन्दै फर्किए ।

बसाईं सरेका फर्किए । जागिरदार फर्किए । ठेकेदार फर्किए । बिद्यार्थी फर्किए । बेरोजगार फर्किए । सबका सब अवसर परस्तहरु फर्किए । कांग्रेस त ‘मास’ पार्टीभन्दा बढी पाटी । जो आए तिनले घुसपैठ नै गरेर पनि बनाउन सकेको ठाउँ पाए, पाटीमा जस्तै ।

सुकरात भन्छन्, ‘जतिसुकै सामान्य मान्छे पनि नसिकेको काम गर्न डराउँछ । तर, सरकार चलाउने राजनीतिजस्तो सबैभन्दा कठिन कामका लागि भने आफूलाई सुयोग्य पात्र ठान्छन् ।’

सुकरातका बेलामा त राजनीति पेशामा त्यस्तो आकर्षण थियो भने अहिले के मारामार नहोस् । संसारको सामान्यभन्दा सामान्य पेसाका लागि पनि उपयुक्त शिक्षा, गरिजान्ने तालिम, जान्नेको सहायक भएर सिक्ने योग्यता चाहिन्छ ।

बिँडी बेर्न सिक्नुपर्छ । रिक्सा चलाउन सिक्नुपर्छ । घाँस काट्न सिक्नुपर्छ । दाउरा चिर्न सिक्नु पर्छ । तर, राजनीति गर्न, सरकारजस्तो जटिल संस्था चलाउन केही सिक्नु पर्दैन । उमेर पुगे पुग्छ ।

बहुदल आएपछि सबैको राजनीति गर्ने धोको र आँट मन फुकाएर बाहिर निस्कियो । सबै फान्टेफुन्टे नेता भए । कार्यकर्ता कोही भएनन् । राजनीति गर्ने बोझ धर्ती मातालाई थेगिनसक्नु भयो ।

भर्खर सदरमुकाम बनेको केही पनि आधारभूत निर्माण नभएको सुनसान मन्थली गाउँमा अनेक दल नेता र कार्यकर्ताको घुइँचोले बाटो पाइन छाडियो । गाईजात्राजस्तै भयो । जे, जस्ता होटेल लज नामधारी थिए, ती सधैं भरिन लागे ।

बेला-बेलामा मन्थली र वरपरका गाउँका घरका कोठा, चोटा, दलान, बुइँगलहरु पनि मान्छेले भरिन लागे । बेरोजगार मान्छेले त रोजगारी पाए । पाए सबैभन्दा दुःख कति ठाउँमा छोरी-बुहारीका यौवनले समेत रोजगारी पाउन लागे ।

मन्थलीको शताब्दियौंदेखिको गाउँले चरित्र अचानक ध्वस्त भयो । त्यो भयावह रुपान्तरण मेरै आँखाअघि भयो । म त्यसको साक्षी भएँ । त्यो मेरो जीवनको अति कटु अनुभव थियो । मन्थलीका एक मुठी रैथानेहरु घरबाहिर जग्गा अधिग्रहण हुनासाथ भौतिक तवरमा विस्थापित भइसकेको थिए ।

म पनि तिनैमध्येको थिएँ । त्यसमाथि जिल्लाभरिका मान्छेको अतिक्रमणले गर्दा मन्थलीका सबै रैथानेजस्तै म पनि आफ्नो मन्थलीमा पराई र बिरानो भएँ । अनि, मानसिक रुपले पनि विस्थापित भएँ ।

रामेछापका त्यसबेलाका जीवित नेताहरुको त्यस्तो दुःखद स्थिति थियो भन्ने सम्झनाले मलाई पीडा हुन्छ । उनीहरु जीवनभरि राजनीति गरेर लोककथाका सक्कली जुवाडे, जँड्याहा र वेश्याको जस्तै अवस्थामा पुगेका थिए, कोही नवपञ्च भएर, कोही कुनै दल वा नेताको नामसम्म जपेर तर केही नगरेर, कोही जागिर खाएर, कोही बसाइँ गएर, जीवीका धानेर ।

पञ्चायतलाई बज्रतुल्य देखेका थिए, ढल्ने कुनै छाँट देखेका थिएनन् । आस मारेर बसेका बेला अचानक बहुदल आएपछि सक्कली जुवाडेजस्तै फुटेका गाग्राका खबटाले भए पनि राजनीतिको जुवा खेल्दै थिए ।

सक्कली जँड्याहाजस्तै मागेर भए पनि दारु खाँदै थिए । सक्कली वेश्याजस्तै नयाँ चेला बटुलेर राजनीतिको सानोतिनो भए पनि धन्दा चलाउन जुर्मुराएका थिए । चाकरीकै भरमा भए पनि ‘राजनीति’को खाल धान्दै थिए ।

उनीहरुले मेरो सामूदायिक विकास प्रयत्नलाई आफ्नै राजनीतिजस्तै छलछाम ठाने । म पनि उनीहरुजस्तै रुखो रामेछापमा मलिलो र रसिलो राजनीति देखेर धमिलो पानीमा माछा मार्न आएको भने ।

म कांग्रेसका रुपमा परिचित थिएँ । मेरो कांग्रेसका शीर्षस्थ नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग राम्रै परिचय थियो । दोस्रो पुस्ताका धेरै नेता राम्रा मित्र पनि थिए । डाहा गर्नेहरुले मेरो त्यो पहुँचलाई झन् खतरनाक ठाने ।

स्वाभाविक थियो, मैले संसद ताकेको खण्डमा मेरो पहिलो प्रतिस्पर्धा कांग्र्रेसकै संसद-प्रत्यासी नेताहरुसँग हुने भएकाले त्यो समस्या जिल्लाका सबै दलका नेतासँग भए पनि कांग्रेसका नेताहरुसँग बढी भयो । अतः सबैभन्दा ठूला त्रु मेरो आफ्नै दल कांग्रेसका मान्छे भए ।

तामाकोशी सेवा समिति कुनै नेता वा दलको मित्र वा अमित्र थिएन । तटस्थ थियो । यो केवल निर्धा जनताको मित्र थियो । नेताहरु आफ्नो र आफ्नो दलको स्वार्थका लागि काम गर्थे । तामाकोशी सेवा समिति विपन्न जनताको स्वार्थका लागि काम गथ्र्यो । नेताहरु चाहन्थे, यो पनि उनीहरुका मान्छेका लागि मात्र काम गरोस् । त्यो कुरा तामाकोशी सेवा समितिको मिसनविपरित थियो । समस्या त्यही भयो ।

तामाकोशी सेवा समिति बाहिरबाट रामेछापमा विकासका कनिका छरिटोपल्न आएको मौसमी टुरिस्ट संस्था थिएन । यही जिल्लामा जन्मेको, यहीँको आँधीबेहरी खपेर हुर्केको, यहीँको पाखा पखेरामा जरा गाडेर झ्यांगिन लागेको, यही जिल्लामा दिगो विकास गरिछाड्ने अठोटका साथ लागिपरेको, यही जिल्लाका मान्छेले नेतृत्व लिएको संस्था थियो । जस-जसले यसको कामलाई आफ्नो स्वार्थअनुरुप नहुने देखे, ती सबैले यसलाई बलियो सौता ठाने ।

नेताहरुसँग गाउँलेलाई दिने कोसेली जाली आश्वासन मात्रै थिए । मसँग ठोस काम थिए । मसँग खानेपानी, पानीबन्द चर्पी, साना सिँचाइ, स्वास्थ, शिक्षा, बचत तथा ऋण सहकारी, आय आर्जन, महिला परिचालनलगायत हाताहाती कार्यक्रम थिए ।

म कुरा होइन, ठोस परिणाममुखी काम गर्थें । किर्ते वाचा गर्दिनथें । जे सक्थेँ, त्यही मात्र बोल्थेँ । जे बोल्थेँ, त्यो गर्थेँ । त्यो पनि हुनसक्नेसम्म छिट्टै गर्थेँ ।

नेताहरुलाई मेरो सामूदायिक विकासको कामले बिझाएको थियो । किनभने, त्यो मेरो अतिरिक्त महत्व अथवा ‘भ्यालु एडेड’ थियो, जुन उनीहरुसँग थिएन । यो संस्थालाई कसरी बन्द गरेर मलाई ठेगान लगाउने भन्ने उनीहरुको नित्य चिन्तनको विषय भयो ।

(लेखक स्वर्गीय घिमिरेको पुस्तक ‘अन्तर्मनको यात्रा’बाट)

 


शनिबार १५, पुष २०७४ ०४:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस