---
Tuesday, December 11 2018, 02:21 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२१
पिल्लर पुलकोसट्टा आर्क, केवल-स्टे र सस्पेन्सन प्रविधिमा जाँदै नेपाल

पुल भासिएर राजमार्ग अवरुद्ध हुने समस्या हटाउने योजना

मङ्गलबार, ११ पुष २०७४| Radio Dhangadhi
पिल्लर पुलकोसट्टा आर्क, केवल-स्टे र सस्पेन्सन प्रविधिमा जाँदै नेपाल

११ पुस, काठमाडौं ।

खोटाङ र ओखलढुंगा सिमानाको जयरामघाट पुल अहिले सामाजिक सञ्जालमा छाएको छ । त्यहाँ पुग्ने प्रयोगकर्ताले पुललाई पृष्ठभूमिमा राखेर खिचिएका तस्बिर फेसबुक, ट्विटरमा पोस्ट गर्ने गरेका छन् ।


दूधकोशी नदीमाथिको उक्त पुल मुलुककै नमूना बनेको छ । अन्य नदीनालामा त्यस्तो आकर्षक पुल हालिएको छैन ।

गत मंसिरदेखि सञ्चालनमा आएको पुलमा पिल्लर प्रयोग गरिएको छैन । अन्यभन्दा भिन्न हुनु र विकासको प्रतिविम्ब झल्काउनु नै यसको विशेषता हो ।

उक्त पुलमा बढेको आकर्षणकै कारण सडक विभाग राजमार्गहरुमा त्यस्तै डिजाइन प्रयोग गर्ने तयारीमा जुटेको छ । पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गदै विकासमा फड्को मार्ने विभागको योजना छ ।

मुलुकमा पहिलोपटक बर्दिया र कैलाली सीमाको चिसापानीमा ‘केबल स्टे’ प्रविधिको पुल हालिएको थियो, जुन ०५० सालदेखि सञ्चालनमा आएको हो । उक्त पुलमा जापानी प्रविधि प्रयोग गरिएको छ ।

सोही पुलको सफलतालाई २४ वर्षपछि जयरामघाटको पुलले निरन्तरता दियो । अब पृथ्वी राजमार्गको मुग्लिनमा बन्दै गरेको आर्क ब्रिजले त्यसलाई थप अगाडि डोर्‍याउनेछ ।

एक दशकअघि मुलुकमै पहिलो पटक जयरामघाटमा ‘सस्पेन्सन मोटरेबल ब्रिज’ प्रविधि प्रयोग गर्ने निर्णय गर्दै गर्दा विभागका अधिकारीहरुमा असफलता हात लाग्ने संशय देखिन्थ्यो । ढिलै भए पनि पुल तयार भयो र सफलता हात लाग्यो ।

डेढ सय मिटर लामो जयरामघाट पुलका दुई खम्बाबीचको दूरी एक सय २० मिटर छ ।

सोही सफलताबाट हौसिएका विभागका अधिकारीहरु अब अन्य अत्याधुनिक प्रविधि पनि भित्र्याउने योजनामा जुटेका छन् ।

हालसम्म नेपालमा बनेका अधिकांश पुल ‘सिम्प्ली सर्पोटेड बिम’ प्रविधिमा आधारित छन् । २५ मिटर दूरीमा पिल्लर राखेर पुल निर्माण गरिने प्रविधि हो यो ।

भविष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर ब्रिजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ ।

‘हामी पुरानै प्रविधिमा बसिरहन सक्दैनौं । विश्वले अपनाएका नयाँ, किफायती, कम खर्चिलो र दिगो किसिमका प्रविधिहरुमा जान चाहन्छौं,’ थापा भन्छन्, ‘विकास र समृद्धिको पूर्वाधारका रुपमा रहेका पुलहरुलाई आधुनिकीकरण गर्ने योजनामा छौं ।’

काठमाडौंमा ‘नेटवर्क आर्क’को प्रयोग


विभागले काठमाडौंका दुई स्थानमा नयाँ प्रविधिमा आधारित पुल निर्माण गर्दैछ । माइतीघर(तीनकुने सडकको धोबीखोला र वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् ।

वागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरिरहेको छ । तर, धोवीखोला पुलको काम तीव्र गतिमा छ । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ ।

ती पुलको ‘नेटवर्क आर्क’ प्रविधि अन्य कुनै पुलमा प्रयोग भएको छैन । खोला वारि(पारि सडकको चौडाइबराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । त्यही जगले पुलको भार थेग्छ ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच(बीचमा पिल्लर प्रयोग हुँदैन । बलियो जग हालेपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत् नै पुलको भार बोक्ने संरचना जोडिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । र, सम्पूर्ण भार आर्कले नै थेग्छ ।

खोलाको सतहमा पिल्लर ठड्याउनु नपर्ने भएकाले कम खर्चिलो पनि मानिन्छ, उक्त प्रविधि ।

पुलको सडक भागमा मात्र होइन, आर्कमा पनि आरसीसी प्रविधि अपनाइन्छ । सोही प्रविधिलाई विष्णुमती नदीमाथि परोपकार विद्यालय र नयाँबजारका थप दुई पुलमा पनि प्रयोग गरिँदैछ ।

कलात्मक हुने भएकाले त्यस्ता पुलले शहरको शोभा पनि बढाउने विभागका अधिकारीहरुको भनाइ छ । र, कलात्मक पुललाई मुलुकभरका नदीनालामा विस्तार गर्ने योजनामा छ, सडक विभाग ।

मुग्लिनले हौस्साउँदै

‘यस्ता कतिपय पुल लागतका हिसाबले अहिले बनिरहेकाभन्दा २० देखि ३० प्रतिशत महँगा पनि हुनसक्छन् । तर, निकै मजबुत र आकर्षक हुन्छन्,’ उपमहानिर्देशक थापा भन्छन्, ‘कतिपय त सामान्य पुलकै हाराहारी लागतमा तयार हुन्छन् । बिजुलीबजारमा बनिरहेको आर्क ब्रिजको लागत सामान्य पुलकै जत्ति नै छ ।’

परम्परागत पुल बनाउन प्रतिमिटर औसत १० लाख रुपैयाँ खर्च हुन्छ । नयाँ प्रविधिका पुल पनि बढीमा प्रतिमिटर १३ लाख रुपैयाँसम्ममा बनाउन सकिन्छ ।

चितवनको मुग्लिन र तनहुँबीचको त्रिशुलीमाथि ‘सस्पेन्सन आर्क ब्रिज’ निर्माणाधीन छ । शहरी क्षेत्रबाहिर राजमार्गमा तयार हुँदै गरेको यो पहिलो ‘आर्क ब्रिज’ हो ।

निकै आकर्षक स्वरुपको उक्त पुलले जोखिमयुक्त बनिसकेको ०३४ सालमा निर्मित पुललाई विस्थापित गर्नेछ । नयाँ पुलको लम्बाइ एक सय ६० मिटर र आर्क एक सय २० मिटरका हुनेछन् । आर्क प्रविधिमा यति लामो पुल नेपाली ठेकेदारबाटै इतिहासमै पहिलोपटक बन्दैछ ।

कर्णालीको पुल

सिग्नेचर प्रविधि पनि

राजमार्ग र शहरहरुमा ‘सिग्नेचर ब्रिज’ निर्माणको नौलो अवधारणा पनि ल्याएका छन्, सडक विभागका अधिकारीहरुले । नयाँ प्रविधिमा जान आफ्नो मात्रै अनुभव, लगानी र दक्षताले काम नगर्ने भएकाले विभागले विश्व बैंकलाई गुहारेको छ ।

सफलता हासिल भएका आर्क, नेटवर्क आर्क, मोटरेबल सस्पेन्सन र केबल स्टे प्रविधिमा आधारित भएर सिग्नेचर पुलहरु निर्माण गरिनेछ ।

‘विश्वमा त्यस्ता धेरै पुल छन्, जसले पर्यटक पनि तान्छन्,’ उपमहानिर्देशक थापा भन्छन्, ‘शहरहरुमा विशेष सिग्नेचर पुल बनाउँछौं, जसको लाभ स्थानीय क्षेत्रले पर्यटनका माध्यमबाट उठाउन सक्छ ।’

शुरुमा १० भन्दा बढी सिग्नेचर पुल बनाउने गृहकार्य भइरहेको उनी बताउँछन् । शहरी क्षेत्रसँगैका नदीमा कलात्मक डिजाइनयुक्त र मनमोहक देखिने पुल बनाउन आर्थिक तथा प्राविधिक स्रोत खोजिँदैछ ।

यस्ता पुलहरुलाई आकर्षक बनाउन राति ‘लाइटेनिङ’ गर्न सकिन्छ, जसले शहर र राजमार्गको सौन्दर्य बढाउँछ ।

चितवनको भरतपुर र नवलपरासीको गैंडाकोटबीचको नारायणी नदीमाथि पनि अत्याधुनिक प्रविधिको पुल निर्माणको योजना तयार भएको छ । ‘दुई शहरबीचमा भएकाले नारायणी पुलमा अत्यधिक सवारी चाप छ । त्यसैले, नयाँ नबनाई नहुने भइसक्यो,’ उपमहानिर्देशक थापा भन्छन्, ‘त्यहाँ सिग्नेचर ब्रिज बनाउने गृहकार्यमा छौं ।’

यस्ता प्रविधिको प्रयोगले मुलुकको समृद्धिको झल्को पनि मिल्ने पुल महाशाखाका वरिष्ठ इन्जिनियर नरेशमान शाक्य बताउँछन् ।

काठमाडौंको शंखमुल, मध्य तराईको चाँदी र बकैयालगायत खोलानालामा नयाँ प्रविधि प्रयोग गर्ने विभागको योजना छ ।

मुग्लिनको बन्दै गरेको पुल
पहिलो चरणको सिग्नेचर पुल निर्माणमा करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण शुरु भएको ६ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने आकलन छ ।


अनलाइनखबरबाट साभार । 


मङ्गलबार ११, पुष २०७४ ०६:०० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस