---
Friday, September 20 2019, 22:41 | शुक्रबार ०३, असोज २०७६ २२:४१
भाइको खुत्रुकेबाट पैसा चोर्थें: वेनिषा हमाल

आइतबार, ०९ पुष २०७४| Radio Dhangadhi
भाइको खुत्रुकेबाट पैसा चोर्थें: वेनिषा हमाल

सानो छँदा मलाई असाध्यै नक्कल पार्नुपथ्र्यो । स्कुलवाट घर आउने बित्तिकै आमाको लिपिष्टिक लगाउँथें र ऐना अगाडी उभिज्थें । मैले लिपिष्टिक लगाएको थाहा पाएपछि आमा हरेक दिन भन्नुहुन्थ्यो, ‘धेरै नक्कल नपार है केटी, खुरुक्क पढ्ने गर ।’ तर मैले कहिल्यै टेरिन ।

ममीको लिपिष्टिक लगाएर ‘कभी खुसी कभी गम’ चलचित्रकी करिना कपुरकै हावभाव निकाल्दै अभिनय गर्थें । एक दिनको कुरा हो, लिपिष्टिक लगाउने क्रममा आमाको लिपिष्टिक नै भाँचियो । आमाले थाहा पाउनुहुन्छ भनेर मैले त्यो लिपस्टीक नै फालीदिएँ । धेरै दिनसम्म डर लाग्यो । आमाले लिपष्टिक खोज्ने बित्तिकै मलाई डर लाग्थ्यो । कतै आमाले मेरो बदमासी थाहा पाउने त हैन भन्ने लाग्थ्यो । १५ दिनपछि आमाले हराएको लिपस्टीकको कुरै गर्न छोड्नु भयो, अनि मेरो पनि डर चिन्ता हरायो ।

हाम्रो आफ्नै घरमा पोल्टिफार्म थियो । प्रायः खाजाका रुपमा अण्डा, भूजा र दालमोठ लैजान्थें । घरवाट टिफिन नलाँदा एक रुपैंया बोकेर जान्थें र एक रुपैंयाको खजुरी किन्थें । अँ साँच्ची, सानोमा म अलि लोभी स्वभावकी थिएँ । सकेसम्म खाजा शेयर गर्न नपरेहुन्थ्यो भन्ने लाग्थ्यो ।

पैसा चोर्दाको फल

हाम्रो घरमा मेरो र भाइको छुट्टा छुट्टै खुत्रुके थियो । म कति छट्टु थिएँ भने भने भाइको खुत्रुकेवाट चिम्टा र सानो कैंचीले पैसा झिकिदिन्थें । हाम्रो मावली हजुरवा भारतमा जागीरे हुनुहुन्थ्यो । उहाँ बिदामा आएको वेला हामीलाई आइसी नोट दिनुहुन्थ्यो । हामी त्यही नोट खुत्रुकेमा राख्थ्यौं ।

एकदिन कैँचीले पैसा झिक्ने क्रममा एकसयको आइसी नोट आयो । अलिकति काटिएको पनि थियो । त्यही नोट लिएर स्कुल गएँ । मलाइ पसलेले सोधे, ‘कहाँवाट ल्याएको रु’ मैले ‘बाटोमा भेटेको’ भनें । अनि नौ रुपैयाँ जाने चाउ चाउ र आँप किनेर खाएँ ।

मलाई आँप असाध्यै मनपथ्र्यो । एकसय आइसी नसकिउन्जेल हरेक दिन एक प्याकेट चाउ चाउ र एककिलो आँप खाइरहें । जसले गर्दा म विरामी पनि भएँ । चोरेको पैसाले आँप खाएकाले पाप लाग्यो होला । तर, मेरो चोरीका बारेमा कसैलाई थाहा भने भएन ।

केटाहरुलाई कुटीयो

मैले विद्यालय तहमा तीनवटा स्कुलमा पढनुपर्‍यो । गोल्डेन फ्युचर बोडिङस्कुलवाट स्कुले जीवन सुरु गरें । पछि दिपज्योती निमावी र अरुणोदय मावीमा पढें । दिपज्योतीमा विभिन्न अतिरिक्त कार्यक्रम भइरहे, म त्यसमा सहभागी हुन्थें । अहिले पनि मलाई त्यो स्कुलको सम्झना आउछ।

हुन त म स्कुलमा सोझी विद्यार्थीको रुपमा चिनिन्थें । कक्षा पाँचवाट माथी गएपछि अलि छुच्ची भएँ । कसैसँग नदब्ने, कसैसँग नडराउने भएँ । हक्की स्वभावकी थिएँ । केटाहरुसंग मेरो झगडा परीरहन्थ्यो । हेप्न खोज्ने केही केटाहरुलाई त मैले कुटन पनि बाँकी राखीन ।

कान समातेर उठबस

हामीलाइ पढाउने शिक्षक सूर्य किरण सुवेदीको नाम सम्झिँदा मलाई अहिले पनि झसंग हुन्छ । सर त असाध्यै कडा ।  सर भन्नुहुन्थ्यो, ‘म किन यति कडा भएको छु पछि थाह पाउछौं ।’ कहिलेकाँही होमवर्क गर्न अल्छि लाग्थ्यो । मलाई त्यस्तो वेलामा स्कुल जान नपरे नि हुन्थ्योजस्तो लाग्थ्यो । तर, होमवर्क नगरेकै कारण सजाय भोग्न भने परेन ।

सरस्वती पूजाको दिन फुल टिप्न भन्दै बीसहजारी ताल घुम्न गएका थियौं । त्यसबापत स्कुलमा हामीलाई कान समातेर उठबस गराइएको म अहिले सम्झन्छु ।

अनलाइनखबरबाट साभार ।


आइतबार ०९, पुष २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस