---
Tuesday, November 19 2019, 07:10 | मङ्गलबार ०३, मङि्सर २०७६ ०७:१०
आमाको चुल्ठो

मङ्गलबार, ०४ पुष २०७४| Radio Dhangadhi

– प्रमोद प्याकुरेल


यदाकदा मेरा आफन्तहरू भन्ने गर्छन्– मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अझै थप्छन्– आमा अनुहारका छोरा र बाउ अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्बिरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । आफन्तहरूका कुरामा केही सत्यता भएको आभास हुन्छ । चुल्ठोलाई घरि छातीतर्फ लर्काउँछु, घरि पिठ्युँतर्फ । आफूलाई निकैबेर ऐनामा निहारेपछि अलि न्यास्रो मेटिन्छ । चुल्ठो फुकाल्छु । बाटिएको चुल्ठोबाट फुस्किएर लट्टा परेका केही कृत्रिम रौंहरू मसिनो काइँयोले कोरेर मिलाउने प्रयास गर्छु । अन्त्यमा चुल्ठो र फोटोहरू ड्रेसिङ टेबलको भित्री कुनामा लुकाउँछु ।

मेरा यी नित्तान्त व्यक्तिगत गतिविधिहरू कसैलाई थाहा छैन र थाहा पाउन जरुरी पनि छैन । मसँग भएको मेरी आमाको व्यक्तिगत निसानी यही चुल्ठो, ड्रेसिङ टेबल र कान्छी फुपूका बिहेका केही फोटाहरू । कतै–कतै घरका भित्तामा टाँगिएका फोटाहरू त सबैका साझा हुन् ।

आमा सँगै हुनुहुँदा म आमालाई मामु भन्थँे । अहिले मनमनै आमा भन्न आनन्द लाग्छ तर अरुका अगाडि मामु नै भन्छु । सकेसम्म म कसैसँग आमाका प्रसंग नै उठाउन्नँ । कोही आफन्तहरू पनि मेरा अगाडि आमाका कुरा गर्नुहुन्न । तैपनि मन भने दिनमा आठ–दश पटक आमालाई सम्झिरहन्छ । अझ कसैले मेरो बिहेको प्रसंग उठायो भने त मनले त्यहाँ आमा खोज्न थालिहाल्छ । आमा सधैं भन्नुहुन्थ्यो, “मभन्दा राम्री आउँछे मेरी बुहारीे !”

जनै पूर्णिमाको दिन घरमा तीनै जना फुपूका परिवार निम्त्याइनुभएको थियो । कान्छी फुपूको असारमा मात्र बिहे भएको थियो । कान्छा फुपाजु नयाँ हुनु भएकाले म अलि धकाउँथे । अरुसँग कुनै धक थिएन । म १० वर्षको थिएँ, मेरी आमा ३० वर्षकी । दुई दिनअघिबाट आमाको गतिविधि फेरिएको थियो । कुनै पनि कुरा एकैछिनमा बिर्सनुहुन्थ्यो । विशेषगरी छिनछिनमा दाँत माझ्नुहुन्थ्यो, मुख धुनुहुन्थ्यो र घर बढार्न थाल्नुहुन्थो । एकैछिनमा थाक्नुहुन्थ्यो र गएर ओछ्यानमा पल्टनुहुन्थ्यो । फेरि एकै छिनमा ‘ओहो ! यति बेलासम्म सुतिछु’ भन्दै उठेर उही प्रक्रिया दोहो¥याउनुहुन्थ्यो । आमाका यी क्रियाकलाप बडो रमाइलो लाग्थ्यो मलाई । कतिबेला पाहुना आउनुहोला र आमाका गतिविधि थाहा पाउनुहोला भन्ने हतार थियो बिहानैदेखि । मलाई लागेको सबैभन्दा ठूलो कौतुहलता उहाँहरूको प्रतिक्रिया कस्तो रहला र कति हाँस्नुहोला भन्ने थियो ।

पाहुनाहरू आउनु भएपछि आमाले अझै एउटा गतिविधि थप्नुभयो । ‘ओहो १ भिनाजु र ज्वाइँ साबहरू आइसकिसेछ, थाहै पाइनँ’ भन्दै छिन–छिनमा बसेको ठाउँबाट उठेर फुपाजुहरूका अगाडि गई शिर निहुराएर दुई हात जोड्न थाल्नुभयो । आमाका गतिविधिहरूमा अलिअलि हाँस्दै अलि बढी गम्भीर हुनुभयो उहाँहरू । मलाई भने उल्का हाँसो उठ्न थाल्यो । 

“सर्ट टमका कुराहरू बिर्सन थाली, पुराना कुरा सबै याद छ,” बाबाले बताउनुभयो र आमालाई जिस्क्याउँदै भन्नुभयो, “‘ए’देखि ‘जेड’सम्म भन त भारती ।”

आमा रिसाउनुभयो, “यस्ता त प्रिन्सिपल छन्...” आमाले खररर भनिदिनुभयो । एउटै स्कुलका प्रिन्सिपल, शिक्षिका र विद्यार्थी थियौँ हामी । आमा रिसाए पनि बाबाले अझै जिस्क्याउन छोड्नुभएन, “ल त्यहाँबाट जुरुक्क उठ त अनिमात्रै हामी पत्याउँछौँ तिमीलाई केही भएको छैन भनेर ।”

आमा आवेशमा आउनुभयो । गलैंचामाथि ओछ्याइएको चकटीबाट उठ्ने प्रयास गर्नुभयो, सक्नुभएन । तैपनि हिम्मत हार्नुभएन । दुबै हात टेकेर उठ्ने प्रयास गर्नुभयो । डम्म फुलेको भद्दा शरीर र खराब स्वास्थ्यले उहाँलाई साथ दिएन, पल्टनुभयो । आमा र म हाँस्यौं तर अन्य सबै जना गम्भीर हुनुभयो । लड्दा आमाले लगाउनुभएको पातलो ऊनीको टोपी फुस्कियो । दुईपटक चिरिएको टाउकाका खत र किमोको कारणले झरेर भर्खर पलाउन सुरु गरेका कपाल आमाका टाउकामा कतै–कतै झुप्पा–झुप्पामात्रै थिए । मास्तिरबाट निधारतर्फ झरेका एक झुप्पा कपालले घोडाको टाउकाको झल्को दिन्थ्यो । पहिले मेरी आमाको स्वरूप यस्तो थिएन ।

आफ्नो शरीर र रूप औधी प्यारो थियो मेरी आमालाई । हुन पनि मेरी आमाको रूप, शील–स्वभाव र मनले जग कहलिएको थियो । स्कुलमा म आमालाई ‘मिस’ भन्थें । साथीहरू ‘राम्री मिस’ भन्थे । साथीहरूसँग म पनि त्यसै भन्थेँ । स्कुल वा अन्यत्र कतै जानुअघि आमाले आफ्नो शृंगारमा निकै समय खर्चनुहुन्थ्यो । रूप र शरीर बिग्रिएला भन्नेमा निकै सचेत हुनुहुन्थ्यो । कतैबाट काँक्रो पाउनुभयो भने भन्नुहुन्थ्यो, “काँक्रो त कहाँ खाने चिज हो र ! लाउने पो त !”

फुर्सदमा काँक्रोलाई गोला–गोला बनाएर काटिएका चानाले अनुहार ढाकेर सुत्नुहुन्थ्यो । बिहानबिहानै उठेर योग गर्नुहुन्थ्यो । कपालमा हाल्ने तेलको जोहो आफैं नरिवल कुटेर गर्नुहुन्थ्यो । तीन वटा मसिना काला सर्पहरू एकै ठाउँ लठारिएझैं गरी बाटिएका लामो कपालको चुल्ठोलाई जतनसाथ कोर्नुहुन्थ्यो । चम्किलो छाला र पातला ओठहरूमा प्रयोग गरिने सौन्दर्य सामग्रीका गुणस्तरबारे विशेष सचेत हुनुहुन्थ्यो आमा ।

एकदिन आमाको रिपोर्ट देखाउन बाबासँगै म पनि पुगेको थिएँ डक्टरको क्लिनिकमा । आमाको ब्रेन ट्युमरको दोस्रो पटक अप्रेशन गर्ने तयारी हुँदै थियो । डक्टरका सबै कुरा मैले बुझिनँ । एउटा कुरा चाहिँ मैले पनि बुझ्ने गरी सम्झाएका थिए डक्टरले, “।।।। जरा निकै फैलिसकेको छ । उखेल्न सम्भव छैन । माथिमाथि खुर्कने हो । त्यसो गर्दा काटेर छोडेको घाँसको बुटोझैं झनै झांगिएर आउँछ । ... पहिलो अप्रेशनले त कमसेकम दुई वर्ष काम ग¥यो, अब त्यति पनि धान्दैन । ....गर्ने नै भन्नुहुन्छ भने अस्पतालमा गएर डेट लिनुस्, म गरिदिन्छु ।”

आमाको दोस्रो पटक अप्रेशन भयो । किमो र रेडियो थेरापी दुबै चलाइयो । कपाल झरेर भर्खर व्रतबन्ध गरेको बटुकको जस्तो भयो आमाको टाउको । पहिले भएको खतमा अझै थपिएका खतहरूले धर्सैधर्सा तानिएको माटाको खुत्रुकेझैं देखियो । शरीर डम्म फुलेर भद्दा भयो । त्यही बेला कान्छी फुपूको बिहे पक्का भयो । बिहेको तयारी चल्दै गर्दा आमालाई आफ्नो रूपको चिन्ता भएछ । “यस्तो मुडुलो टाउको लिएर कसरी गोडा धुनू १ नक्कली कपाल खोजेर ल्याइदिनू ।”

बाबाले छोटोछोटो थाई कटवाला कपाल ल्याइदिनु भयो । आमाले छुँदै छुनुभएन ।

“...लामा चुल्ठा भएको पाए लाउँछु नत्र लाउन्नँ ।”

बाबाले धेरै ठाउँ डुलेपछि बल्लबल्ल फेला पारेर ल्याउनुभएथ्यो यो कपाल ।

जनै पूर्णिमापछि आमाको अवस्था झन्–झन् खस्किन थाल्यो । बिस्तारै आमाले पूरै होस गुमाउनुभयो र पछि दृष्टि पनि । आमा अचेत मुडोझैं लड्नुभयो । बाबुको मुख हेर्ने दिनको आसपास थुप्रै दुनामा पैसा र केही टपरीमा चामल हालेर पूजा सामग्रीहरू मिलाउँदै हुनुहुन्थ्थो हजुरआमा । ८–१० जना ब्राह्मणहरूसँगै हुजुरबा आँगनमा उभिनुभएको थियो । आमालाई बरन्डामा सुताइएको थियो । म स्कुल जान झोला बोकेर आँगनको डिलमा मात्र पुगेको थिएँ, आमाले चर्को स्वरमा बोलाउनुभयो, “अभियान १” 

म टक्क रोकिएँ । “खाली खुट्टा नहिँड् बाबु ! ... जुत्ता ला ।”

मैले घरबाहिर खाली खुट्टा नहिँडेको दुई–तीन वर्ष भइसकेको थियो । म हाँस्दै स्कुलतर्फ लागेँ । म फर्किंदासम्म आमालाई अस्पताल लगिसकिएको थियो ।

त्यस दिनपछि मैले आमालाई देख्न पाइनँ । तीजको दिन बाटाभरि राता पहिरन लगाएका महिलाहरूको हुल शिव मन्दिरतर्फ जाँदै थियो । हजुरआमा मलाई लिएर अस्पताल जानुभयो । हजुरआमा हरियो गाउन लगाएर आमालाई भेट्न न्युरो आईसीयू लेखेको कोठाभित्र पस्नुभयो । आँखा पुछ्दै निस्कनुभएकी हजुरआमाले मलाई प्रश्नभन्दा बढी अनुरोधको शैलीमा सोध्नुभयो, “तँ पनि जान्छस् रु”

शायद मृत्युसँग पौंठेजोरी खेलिरहेकी मेरी आमाको अन्तिम दर्शन मलाई गराउन चाहनुहुन्थ्यो हजुरआमा ।

“नाइ, म जान्नँ । डर लाग्छ,” मैले अस्वीकार गरेँ ।

तीज सकिएर स्कुल भर्खर खुलेको थियो । मसँगै हतारहतार खाना खाएर बाबा र हजुरबा अस्पताल जानुभयो । अन्य छिमेकीहरू पनि हतारिँदै थिए । मचाहिँ स्कुल गएँ । बाबाका मिल्ने शिक्षकहरू पहिलो घण्टीदेखि नै अनुपस्थित थिए । भएका शिक्षक–शिक्षिकाहरू पनि मलाई हेर्दै मुखामुख गरिहेका थिए । तेस्रो घण्टीको कक्षा सकिएपछि अचानक स्कुल छुट्टी हुँदा बज्ने लामो घण्टी बज्यो । सबै विद्यार्थी खुशी हुँदै घरतिर लागे । तर, बिहानैदेखि एकतमास भएको मेरो मन रमाएन । मेरा उचालिन नसकेका पाइलाहरू जबर्जस्ती घरतर्फ घिस्रिँदै थिए । माथिबाट चर्किएको घामले मलाई अझै भुइँतिर थिच्दै थियो । पछाडिबाट आएको गाडी मभन्दा केही कदम अगाडि पुगेर रोकियो । पछाडिपट्टिको झ्यालबाट टाउको निकालेर कसैले बोलायो, “अभियान १ आऊ १”

बोलाउने मेरा छिमेकी थिए । मेरो मुटु फुट्लाझैं जोडले धड्कियो । लर्खराउँदै गएर गाडीमा बसेँ । गाडी आएकै दिशातर्फ फर्कियो । गाडिभित्र मेरी जेठी फुपू पनि हुनु हुन्थ्यो । म केही बोल्न चाहिरहेको थिएँ तर घाँटीमा आएर अड्किएको सासले आवाजको स्वरूप ग्रहण गर्न सकेन । केही छिनको मौनतापछि बिस्तारै फुपू बोल्नुभयो, “कसैले ममुलाई के भएको भनेर तिमीलाई केही भनेको छ बाबु रु”

अब म पक्का भएँ, मेरी आमा जड हुनुभयो । अघिदेखि घाँटीमा थुप्रिएर बसेका मेरा सासहरू एकैपटक ठूलो आवाज निकालेर बिस्फोट भए ।

आमा नरहनु भए पनि आमाको यो चुल्ठो लामो समयसम्म लुगा झुन्ड्याउने ह्यांगरमा झुन्डिरह्यो । आवश्यकताको वस्तु नभएकाले यस्लाई कसैले चासो राखेनन् । क्रूर समय मलाई नयाँ आमा दिन तयार भयो । 

“बाउको बिहे हेर्नु हुन्न छोराले,” कसैले हका¥यो । म लुरुलुरु स्कुल गएँ । बेलुका आउँदा मेरो लागि छुट्टै कोठा तयार थियो । बाबुसँगै सुत्ने मेरो अधिकारमा पूर्णविराम लागेको जानकारी गरायो, मलाई त्यो कोठाले । आमाको सम्झना दिलाउने त्यो ड्रेसिङ टेबल मेरो कोठामा सारिएको थियो । त्यसलाई खोलेर हेरेँ । आमाले नक्कली चुल्ठोे लगाएका कान्छी फुपूका बिहेका केही फोटो चेपमा दबिएका रहेछन् । झट्ट आमाको चुल्ठो याद आयो । बिरालाको चालमा गएर त्यसलाई लिएर आएँ । त्यस रात म आमाको चुल्ठो टाउकामा लगाएर फोटो हेर्दै ड्रेसिङ टेबलअगाडि बसेर अबेरसम्म रोइरहेँ । मेरा आँखाबाट बगेका आँसुले मलाई मेरो आफन्तहरूको झुन्डबाट बगाएर अन्तै कतै मिल्कायो । आफन्तहरूको झुन्ड र मलाई एक आपसमा आकर्षण गर्ने गुरुत्वको भूमिका निभाउने मेरी आमाको ठाउँमा नयाँ आमा आउनुभएको थियो । नयाँ आमामा गुरुत्वाकर्षण शून्य थियो । नयाँ आमासँग अनुहार नमिलेपछि म सदा भाग्यमानी छोरो रहिरहन सकिनँ । त्यतिबेलाबाट मलाई पूर्ण आभास भयो कि मेरी आमा साँच्चै जीवित हुनुहुन्न, अब कहिल्यै यो धर्तीमा फर्केर आउनुहुन्न ।

बाह्रखरीबाट साभार ।


मङ्गलबार ०४, पुष २०७४ ०६:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस