Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:08 | बिहिबार ०१, कार्तिक २०७५ १८:०८
कांग्रेस र लोकतन्त्रलाई खतराः कम्युनिस्टबाट कि अनैतिक गतिविधिबाट ?

वामपन्थी र लोकतान्त्रिक शक्तिवीच सहकार्य आवश्यक

आइतबार, १९ कार्तिक २०७४| Radio Dhangadhi

१९ कात्तिक, काठमाडौं । 

 

अब लाठियौ मे तेल मलमल के आ रहा है चुनाव,
दौलत के सँग उछल उछलकर आ रहा है चुनाव,
हत्यायौं की गलियौ से चलकर आ रहा है चुनाव,
हत्यारे मिल रहे है गले इस चुनाव मे,
गहरा के जातपात चले इस चुनाव मे,
पाखण्ड, झुठ, पाप चले इस चुनाव मे,
वेवस गरिब जाति छले इस चुनाव मे ।


भारतमा जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्तिको’ आन्दोलनको समय सन् १९७४ ताका आन्दोलनकारीहरुले सडक, चोक र चौराहामा माथिका पंक्तिहरु गाउँदै हिँडेको मैले देखेरसुनेको थिएँ । पंक्तिहरु ठ्याक्कै यस्तै नै थिए कि फरक, सम्झना भएन । तर, त्यसको सन्देश यस्तै थियो ।

जेपी आन्दोलनको समय अनेकन् क्रान्तिकारी गीतहरु रचना गरिएका थिए, भारतभरि । त्यो आन्दोलनले भारतमा निर्विकल्पझैं रहेको भारतीय राष्ट्रिय कांग्रेसलाई जरैबाट हल्लाइदियो र भारतीय राजनीतिमा नयाँ मध्यमवर्गको प्रवेश हुन पुग्यो ।

भारतीय राष्ट्रिय कांग्रेसको पतन र भारतको राजनीतिमा नयाँ शक्तिको उदय त्यही समयबाट शुरु भएको मान्न सकिन्छ । यही समयदेखि उत्तर भारतमा नयाँ समाजवादीहरु देखा परे, क्षेत्रीय राजनीतिमा र अझै पनि ती शक्तिशाली छन् । केन्द्रीय राजनीतिमा भने जेपी आन्दोलनको झण्डै अढाइ दशकपछि भारतीय जनता पार्टीको नाममा नयाँ केन्द्रीय शक्तिको उदय भयो ।

कांग्रेस अब मध्यमवर्गको पार्टी रहेन, यसो भन्दा यसका नेताहरुले चित्त दुखाउलान् । तर, वास्तविकता त्यही हो

नेपालमा वाम एकीकरणपछि केन्द्र र प्रदेशमा नयाँ शक्तिको उदय हुनेछ र त्यसले लोकतन्त्रवादी शक्तिलाई परास्त गर्नेछ भन्ने आम सोचाइ यतिखेर छ । नेपालको वामशक्ति नयाँ मध्यमवर्ग हो, नेपालको ।

कांग्रेस अब मध्यमवर्गको पार्टी रहेन, यसो भन्दा यसका नेताहरुले चित्त दुखाउलान् । तर, हेरौं त कैलालीका पुष्कर ओझा हुन् वा स्याङ्जाका धनराज गुरुङ, कांग्रेसमा उम्मेदवार हुनबाट वञ्चित भए । के कारणले यी वञ्चित भए । संसदको टिकट सहजै पाउने सुनिल शर्मा हुन् कि विनोद चौधरी, के यिनले कांग्रेस मूल्य, पद्दतिको सोच राख्छन् रु

नेपालमा वामशक्तिको एकीकरण भएको यो पहिलो घटना होइन । के अहिलेको वामशक्तिले निरंकुशतातर्फको यात्रा तय गर्छ रु वा अहिले देशको निर्वाचनमा प्रयोग भइरहेको धनवली र बाहुवलीबाट देशको लोकतन्त्रलाई खतरा छ रु राजनीतिमा सामान्य चासो राख्ने धनुषा गाउँको मुसहर पनि यतिखेर वामपन्थी एकताबाट भन्दा विकृत निर्वाचन प्रणालीबाट लोकतन्त्रलाई खतरा छ भन्ने निष्कर्षमा पुग्छ । माथिका पंक्तिहरु गाउँदै हिँड्न अहिले पनि ती मुसहर विवश छन् ।

जेपी आन्दोलनको राप र तापको असर नेपाली राजनीतिमा पर्‍यो र नेपालमा निर्विकल्प भनिएको पञ्चायती व्यवस्थाले ०३६ सालमा जनतमतसंग्रहको सामना गर्नुपर्‍यो । चार दशक अगाडि भएको जनमत संग्रहले नेपाली समाजलाई जरैबाट हल्लाइदियो र पहिलोपल्ट फराकिलो आयाममा नेपालको मध्यमवर्ग देशको राजनीतिबारे सोच्ने भयो ।

समाजवादी गीत रचना गरी सडकमा जोशिलो बनाउने अग्रजहरु मात्र होइन, उनीहरुमाथि सरकारी लाठी बर्साउने र जेल पठाउने पनि यतिखेर तिनै समाजवादी गीत घन्काउनेहरुसँग चुनावी तालमेल गरी हामीलाई जिस्क्याइरहेका छन्

यो त्यही समय थियो, जब नेपालमा कांग्रेस र कम्युनिस्टहरुले फल्ने, फुल्ने अवसर पाए । अनेकन् त्याग, संघर्ष र बलिदान गरेका कांग्रेस र कम्युनिस्टहरुले देशभित्र यही समय स्वतन्त्र रुपमा आफ्नो वैचारिक अभियान सञ्चालन गर्ने अवसर जुट्यो । तिनताका हामी नेपाल विद्यार्थी संघमा आवद्ध थियौं । र, बडो जोशिलो र छाती फुलाएर समाजवादी गीत गाउँदै विराटनगरका सडक र गल्लीहरुमा हिँड्थ्यौं ।

तिनताका हामीलाई समाजवादी गीतको रचना गरी सडकमा जोशिलो बनाउने अग्रजहरु यतिखेर देशको राष्ट्रिय राजनीतिमा सक्रिय छन् । ती मात्र सक्रिय छैनन्, हामीलाई सडक छेकेर सरकारी लाठी बर्साउने र जेल पठाउने पनि यतिखेर तिनै समाजवादी गीत घन्काउनेहरुसँग चुनावी तालमेल गरी हामीलाई जिस्क्याइरहेका छन् ।

अर्थात्, ‘हत्यारे मिल रहे है गले इस चुनाव मे’ भन्ने पंक्ति सार्थक भइरहेको छ । कुनै पनि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट हाल्न सक्छ होला भनी पत्याउन सकिन्न ।

समाजवादका जोशिला गीतहरु गाएर देशको नीति निर्माण तहमा विगत तीन दशकदेखि क्रियाशील समाजवादीहरु यतिखेर झोक्राएको देखिन्छन् । किनकि, देशमा समाजवाद मात्र नआएको होइन, आम नागरिकको आधारभूत आवश्यकता पनि पूरा नभएर राष्ट्रिय अस्मिता नै बचाउन गाह्रो भएको छ, यतिखेर १

हाम्रा अग्रजहरु हामीलाई बेचैन र परेशानीमा हालेर यतिखेर निर्वाचनमा होमिएका छन् । अनि, निर्वाचन पनि कस्तो भनी सोध्दा जेपी आन्दोलनको समय गाउने माथिका पंक्तिहरु जस्तो हुन थालेको छ, हिजोआज !

किन हो कुन्नी कांग्रेसका कुनै पनि नेताहरुको अनुहारमा यतिखेर समाजवाद देखिँदैन । पूँजीवाद मात्र देखिन्छ, अपवादवाहेक

नेपाली कांग्रेसमा समाजवादलाई प्रवेश गराउँदा ०१२ सालमा देशभित्र खासै हलचल थिएन होला । ०३६ सालपछि भने देशको राजनीतिमा युवाको संलग्नता अझ खासगरी कांग्रेसमा युवाको आकर्षण समाजवाद शब्दसँग व्यापकै रह्यो । तर, किन हो कुन्नी कांग्रेसका कुनै पनि नेताहरुको अनुहारमा यतिखेर समाजवाद देखिँदैन । पूँजीवाद मात्र देखिन्छ, अपवादवाहेक ।

कांग्रेसले लोकतन्त्र र समाजवाद भनिरहँदा यसका नेताहरु प्रति जनताको भरोसा र विश्वास लामो समयसम्म रह्यो । त्यही कारण नै नेपालको वामपन्थी आन्दोलनले सदासर्वदा कांग्रेस नेतृत्वमा भएका सबै आन्दोलन वामपन्थका लागि स्वीकार्य भयो ।

नेपालमा ०३६ देखि ०४६ सालसम्मको समय वामपन्थी र लोकतन्त्रवादीबीचको तनाव, झडप र द्वन्द्वको समय थियो । यो तनाव र प्रतिस्पर्धा प्रकट हुने थलो तिनताका विद्यार्थी निर्वाचन थियो । किनकि, पार्टीहरु प्रतिबन्धित थिए ।

राजधानी काठमाडौंमा ०४३ सालमा भएको मेयरको चुनावमा कांग्रेस नेता गणेशमान सिंहको ‘लाठी’को प्रतीक बनेका हरिबोल भट्टराईको विजयसँगै नेपालको राजनीतिमा नयाँ र कम्युनिस्टसँग सहकार्यको सम्भावना हुने ढोका खुल्यो । जनपक्षीय भनेर पञ्चायतको निर्वाचन लडेका नेपालका वामपन्थी शक्तिहरुबीच गणेशमान सर्वस्वीकार्य नेता भए । र, यहींबाट नेपालमा लोकतन्त्रवादी र वामपन्थी शक्तिबीच सहकार्यको यात्रा शुरु भयो ।

वास्तवमा, आज घोषणापत्रमार्फत् नेपालका दलहरुले आफ्नो सफलताको महिमागान गाउन सकेका छन् भने त्यसको कारण अरु केही नभएर नेपालमा लोकतन्त्रवादी र वामपन्थी शक्तिबीच निरन्तर सहकार्य र एकता नै हो । गिरिजाप्रसाद र सुशील कोइरालाले विगतमा एकता, सहकार्य र मेलमिलापको रटान गर्नुको पछाडि पनि यही कारण हुनसक्छ ।

वामपन्थी र लोकतन्त्रवादी मिलेर ०४६ सालको परिवर्तनअघि नेपालमा सम्भव नभएको घटना गणेशमान सिंहको दबाबमा भयो । त्यो थियो, वामपन्थीहरुबीचको एकता । गणेशमान सिंहको प्रष्ट अडान थियो, कसरी वामपन्थीसँग कार्यगत एकता गर्ने रु कोसँग गर्ने रु अनेकन् गुटमा भएका कम्युनिस्टहरुसँग लोकतन्त्रवादीलाई कार्यगत एकता गर्न अप्ठ्यारो भइरहेको बेला वाममोर्चाको निर्माण भयो नेपालमा, गणेशमानको दबाबमा ।

यसरी कांग्रेसको उत्प्रेरणामा नेपालका वामपन्थीहरुको एकता प्रक्रिया शुरु भएको हो । गिरिजाप्रसाद कोइरालाले जनयुद्ध गरिरहेको माओवादीसँग मिलेर निरंकुश राजतन्त्रविरुद्ध एकता गर्नुको पछाडि पनि तिनै गणेशमान सिंहले विगतमा निर्वाह गरेको भूमिकाले ठूलो काम गरेको थियो । यसरी नेपालको वामपन्थी एकतामा कांग्रेसको भूमिका सराहनीय मात्र थिएन, ऐतिहासिक नै थियो भन्दा पनि हुन्छ । यस्तै, वामपन्थीको लोकतान्त्रीकरणमा पनि कांग्रेसले विगतमा सक्रिय सहयोग गर्दै आएको हो ।

माथिका पृष्ठभूमिबाट निष्कर्ष निकाल्न सकिन्छ, अहिले कांग्रेसले जारी गरेको चुनावी घोषणापत्रको राजनीतिक दस्तावेज कांग्रेसको विगतको इतिहास र संस्कृति सुहाउँदो छैन । यो घोषणापत्र नेपाली समाजलाई विभाजनकारी बनाउने छ, उत्तेजनामा लगेर त्रासको राजनीतिक उद्यम सञ्चालन गर्ने बाटोमा छ ।

कांग्रेसले एउटा निर्वाचनको जय र पराजयलाई लिएर समाजलाई द्वन्द्व र धु्रवीकृत गर्नेगरी घोषणापत्र निकाल्नु सुहाउने कुरा होइन । निःसन्देह विश्व इतिहासले वामपन्थीको लोकतान्त्रीकरणलाई शंकाको दृष्टिले हेर्छ, हेर्नु पनि पर्छ । तर, अहिले कांग्रेसले मात्र यो देशको लोकतान्त्रीकरण र समाज रुपान्तरण गर्न सक्छ भनी सोचेको हो भने त्यो विश्वासयोग्य मानिन्न ।

फेरि नेपालका वामपन्थी खासगरी नेकपा एमाले, जसले झण्डै एक दर्जन पटक निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यास गरिसकेको छ । र, सत्तामा बसेर परीक्षा दिएर उत्तीर्ण भएको छ । उसलाई सर्वसत्तावादको यात्रातर्फ लाग्छ भनेर कसरी पत्याउने रु कमसेकम आफ्नो भरोसा र विश्वास गुम्नेगरी जनताले नपत्याउने कुरा गर्नु कांग्रेसको हितमा किमार्थ थिएन ।

वाम र लोकतन्त्रवादीबीचको द्वन्द्वलाई चर्काउने होइन, देश विकासको महायात्रामा सहकार्य गर्दै अगाडि बढौं

दुई दशकअघि कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको कोठरीमा तत्कालीन माओवादीलाई हेर्ने दुई गुट क्रियाशील थिए । पहिलो गुट, जो कोइरालासँगै सत्तामा थियो र माओवादीको लोकतान्त्रीकरणमा विश्वास गर्दैनथ्यो । माओवादीलाई समाप्त गर्न सेनाको उपाय निर्विकल्प ठान्थ्यो । अर्को गुट थियो, जसले युरोप र ल्याटिन अमेरिकाको उदाहरण दिएर वामपन्थीहरुको लोकतान्त्रीकरण सम्भव रहेको दाबी गर्थ्यो ।

अहिले कांग्रेसमा त्यो समयको पहिलो गुट छैन, निष्प्रभावी छ । तर, आश्चर्यलाग्दो किसिमले दोस्रो गुटले फेरि नेपालका वामपन्थीहरुलाई सर्वसत्तावादी र अधिनायकवादी भनी घोषणापत्र र भाषणमार्फत् भन्दैछ । भोटको राजनीतिमा यस्ता कुराहरु जायजै मान्ने हो भने पनि आफ्ना मतदाता र कार्यकर्तालाई वामपन्थीको शासन आए रुन पनि पाइँदैन’ भनी त्रासमा राख्ने काम भने अलोकतान्त्रिक हो, अराजक विचार हो ।

कांग्रेसजनले एक पटक स्मरण गरौं त ०४६ सालको आन्दोलनको पूर्वसन्ध्यामा भारतका तत्कालीन नेता चन्द्रशेखरले नेपाली समाजलाई भयमुक्त हुन कसरी आफ्नो भाषणमार्फत जागरण ल्याएका थिए, महात्मा गान्धीको उदाहरण दिएर । त्रास देखाएर कम्युनिस्टले शासन गर्नु सिद्धान्तसँग मेल खाने विषय हुनसक्छ तर लोकतन्त्रवादीले त्रास देखाएर भोट माग्नु भनेको लज्जास्पद विषय हो, गर्नु नहुने कृत्य हो ।

नेपाली कांग्रेसका नेता बीपी कोइरालाका राजनीतिक गुरु जयप्रकाश नारायण हुन् भनी मानिन्छ । जेपी समाजवादी थिए र उनी निर्वाचनको नाममा हुने अनैतिक कुरासँग असहमत हुन्थे । उनैको प्रेरणाबाट माथिका पंक्तिहरु तिनताका भारतमा गाइने गरिन्थ्यो । वास्तवमा, वामपन्थी गठबन्धनभन्दा पनि नेपालको लोकतन्त्रलाई खतरा माथिका पंक्तिहरुझैं हुने निर्वाचनबाट छ । खोइ बुझेको ?

अन्त्यमा, वामपन्थी र लोकतन्त्रवादीबीच सहकार्य गरी अगाडि बढ्नै पर्ने अझै पनि कैयन साझा मुद्दाहरु छन् । गुणस्तरीय निर्वाचन त्यसको एउटा प्रमुख पाटो हो ।

निर्वाचनलाई गुणस्तरीय र सफा नबनाई वर्तमान संविधान र नेपालको लोकतन्त्र दिगो हुन सक्दैन । जबसम्म लोकतन्त्र दिगो हुँदैन, तबसम्म कांग्रेसले लोकतन्त्र खतरामा छ भन्नुबाहेकका एजेन्डा अगाडि सार्न नसक्ने भयो । तसर्थ, माथिका पंक्तिहरु सम्झौं, वाम र लोकतन्त्रवादीबीचको द्वन्द्वलाई चर्काउने होइन, देश विकासको महायात्रामा सहकार्य गर्दै अगाडि बढौं ।

अनलाइनखबरबाट साभार गरिएको ।


आइतबार १९, कार्तिक २०७४ १२:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस