---
Thursday, October 18 2018, 00:51 | बिहिबार ०१, कार्तिक २०७५ ००:५१
सूचना प्रविधि शिक्षामा बढ्दो आकर्षण

बिहिबार, १६ कार्तिक २०७४| Radio Dhangadhi
सूचना प्रविधि शिक्षामा बढ्दो आकर्षण

अजय शर्मा

मानव अधिकारका रूपमा लिइने आधारभूत शिक्षामा सबैको सरल पहुँच बनाउन र दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग उपयुक्त माध्यम हो । परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षामा सूचना प्रविधिको प्रयोग नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना अपूर्ण हुने निश्चित प्रायः छ । 
सन् १९४८ को मानव अधिकारको घोषणापत्रले आधारभूत शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो भनेको छ । त्यहीं अधिकारमुखी आवधारणाका कारण सबैका लागि शिक्षा अघि आएको हो तर हाम्रो जस्तो मुलुकमा विद्यमान शैक्षिक संरचनाले मात्रै सबैलाई औपचारिक शिक्षा दिन सम्भव देखिंदैन । त्यसैले दूर शिक्षा, अनलाइन तथा खुला शिक्षाका माध्यमबाट पनि शिक्षा दिनुपर्ने आवश्यकता छ । त्यसमा पनि दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षालाई सार्थकता दिन सूचना तथा सञ्चार प्रविधि उपयुक्त माध्यमका रूपमा आएको छ । 
सूचना प्रविधिले सूचनाको पहुँच बढाउँछ । शिक्षक तथा विद्यार्थीले पाठ्यपुस्तकमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । हाल अध्ययन सामग्रीको खोजीका लागि स्थानीय तथा विदेशी ‘सफ्टवेयर’, ‘इन्टरनेट’ तथा विभिन्न शैक्षिक ‘वेभसाइट’ हरूको उपयोग हुन थालेको छ । अब सिकाइलाई ‘अनलाइन’ र ‘अफलाइन’ मार्फत् जुनसुकै बखत हेर्न, पढ्न र सिक्न सकिन्छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइले विद्यार्थीलाई देशभित्रै बसेर एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सम्भव भएको छ । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य भएको छ । यसका लागि ‘इन्टरनेट’, ‘भर्चुअल’ विद्यालय, ‘भर्चुअल’ विश्वविद्यालयका माध्यमबाट विभिन्न तहको शिक्षा दिन र लिन सकिन्छ । 
विद्यार्थीमात्र नभई नयाँ प्रविधिको आगमनसँगै शिक्षकका सूचना र ज्ञान परिमार्जित भएका छन् । आफूले नजानेका विषयमा जान्न र सिक्न मन लागे जुनसुकै समयमा प्रविधिको प्रयोगले ज्ञान हासिल गर्न सकिने भएको छ । शिक्षक होस् वा विद्यार्थी कम्प्युटर, ल्यापटप, स्मार्ट फोनको प्रयोग केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्ने लगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गरिंदै छन् । त्यसो त नेपाली तथा विदेशी शैक्षिक ‘सफ्टवेयर’ को प्रयोगमा ह्वातै बढेको छ । विद्यालय र उच्च शिक्षामा समेत अमूर्त अवधारणा, शब्द, चित्र, ‘एनिमेशन’, ‘सिमुलेशन’ आदिका माध्यमबाट प्रभावकारी ढंगले शिक्षण हुनथालेको छ । यसले विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराएको छ । साथै विद्यालयका अभिलेख, विद्यार्थी विवरण, लेखा, ‘रिजल्ट’ प्रकाशन, शैक्षिक सामग्रीको निर्माण लगायतका काममा सूचना प्रविधिको प्रयोग हुनथालेको छ, जसले व्यवस्थापनलाई सरल, छिटो बनाउनुका साथै विवरणहरू समेत राख्न सहयोग गरेको छ । 
विद्यालयहरूमा सूचना प्रविधिको विषयगत पढाइको केही वर्षयतादेखि हुँदै आएको छ । विशेषगरी निजी विद्यालयमा सूचना प्रविधिहरूको प्रयोग अधिकतम रूपमा रहेको पाइन्छ । सरकारी विद्यालयहरूमा पनि सूचनाप्रविधिको पढाइ एवं प्रयोग विस्तार हुँदै आए पनि भौतिक पूर्वाधार एवं लगानी अभावका कारण अधिकांश विद्यालय, शिक्षक, विद्यार्थी यसबाट वञ्चित हुनुपरेको छ तर पनि विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार र विकासको प्रभावले नयाँ पुस्ताको आकर्षण यस क्षेत्रप्रति बढ्दो छ । 
नेपालको अन्तरिम संविधान, २०६३ ले शिक्षालाई मौलिक हकको रूपमा व्याख्या गरेको सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ ले राखेको उद्देश्य पूरा गर्न र सूचना प्रविधिलाई सबै जनतासम्म पु¥याउन विद्यालयहरूलाई ‘इन्टरनेट’ सञ्जालमा जोड्न तथा विद्यालय क्षेत्र सुधार योजना, २००९–२०१५ अगाडि सारेको छ तर यसको पूर्ण कायन्वयन भने हुनसकेको छैन । “सूचना तथा सञ्चार प्रविधि शिक्षालाई पाठ्यक्रमको विशेष स्थान दिइने छ । सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रूपान्तरणका लागि विषय र माध्यम दुवै रूपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिने छ”, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ मा उल्लेख छ तर सूचना तथा सञ्चार प्रविधिलाई माध्यमका रूपमा उपयोग गर्न डिजिटल पाठका साथै शिक्षण विधिमा समेत परिवर्तन गर्नुपर्ने हुन्छ । जसका लागि राष्ट्रिय लगानीका साथै प्राविधिकहरूको सहयोग पनि आवश्यक पर्छ । शिक्षामा आधुनिक सूचना प्रविधिहरूको समुचित र व्यवस्थित प्रयोगले शिक्षाको गुणस्तरलाई नयाँ आयाम दिने तथ्यलाई जति छिटो आत्मसात् गर्न सकिन्छ त्यति नै शिक्षाको दायरा फराकिलो हुनुका साथै शिक्षाको सामथ्र्यलाई अझ बढी ऊर्जा प्रदान गर्दछ । सूचना प्रविधिको दु्रत विकास, त्यसको बढ्दो प्रसार र उपलब्धता, त्यसमा निहीत विषयवस्तुको प्रकृति र घट्दो मूल्यका कारण सिकाइ प्रक्रियामा यसको प्रयोग अर्थपूर्ण हुनसक्छ । 
विद्यालय तहमा सूचना प्रविधिको प्रयोग चर्चासँगै कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक तहको पाठ्यक्रम विश्व बजारसापेक्ष र प्रभावकारी हुनथालेको पाइएको छ । नेपालकै जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गत पठन पाठन हुने सूचना प्रविधि शिक्षा विषयको स्नातक तहको अध्यापन सन् २०११ देखि शुरु भएको हो भने २०१३ देखि सूचना तथा सञ्चार प्रविधि शिक्षाको स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रम शुरु गरेको हो । त्यस्तै हाल दर्जनौंमा संख्यामा सञ्चालनमा रहेका सूचना प्रविधिका डिग्री अध्ययन संस्था, सयौंमा रहेका सूचना प्रविधिका कलेज र यसका विद्यार्थीको आर्कषणले यस क्षेत्रमा भइरहेको लगानी, यसको आकर्णण र विशालतालाई इंगित गर्दछ । 
केही समय अघि चिकित्सा, व्यवस्थापन, मानविकी र शिक्षा संकायतिर जाने जमात ठूलो थियो । हाल हरेक वर्ष एउटा ठूलो जमात सूचना प्रविधि शिक्षाको अध्ययनका निम्ति इञ्जिनियरिङ र अन्य प्राविधिक क्षेत्रमा भर्ना हुनथालेका छन् । साथै सूचना प्रविधि शिक्षामा लगानीकर्ताको समेत आकर्षण बढ्दै छ । विश्व प्राविधिमय हुँदै गइरहेको परिप्रेक्ष्यमा नेपालको शिक्षा क्षेत्र त्यसबाट अछुतो रहन सक्दैन् । 
सूचना प्रविधि नेपालका लागि धेरै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग अझ बढी उपयुक्त हुने देखिन्छ । नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढ्दो छ । मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी वर्तमान शिक्षा नीतिमा परिवर्तन गरी सूचना प्रविधियुक्त शिक्षा नीतिको आवश्यकता देखिन्छ । सिक्ने र सिकाउने सम्बन्धमा विकसित नवीनतम विधि, नियम र प्रविधिलाई कुशलतापूर्वक प्रयोगको उचित वातावरण सिर्जना गर्दै अन्य विकसित देशको तुलनामा नेपाललाई पु¥याउन सक्ने शिक्षा नीतिका साथै दृष्टिकोण अपरिहार्य छ ।


बिहिबार १६, कार्तिक २०७४ ११:११ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस