BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:27 | शुक्रबार ०५, असोज २०७५ १६:२७
सी जिनपिङका पाँच वर्ष: व्‍यक्तिगत अधिकार बढ्‍यो, देशको लागि खतरा

बिहिबार, ०२ कार्तिक २०७४| Radio Dhangadhi
सी जिनपिङका पाँच वर्ष: व्‍यक्तिगत अधिकार बढ्‍यो, देशको लागि खतरा

सन् २०१२ मा सी जिनपिङले उक्त प्रदर्शनीको भ्रमण गरे। त्यतिबेला उनी भर्खरै मात्र माओपछिका पाचौं नेता भएका थिए। पार्टी प्रमुखको रूपमा यो उनको पहिलो सार्वजनिक उपस्थिति थियो। त्यतिबेला उनी आर्थिक सुधारकको रूपमा चिनिएका थिए। तर संग्रहालयमा उनले गरेको भाषण भने अर्थतन्त्रबारे थिएन। यसले त्यो सारको पहिलो अवधारणा समेटेको थियो, जुन पछि गएर उनको नारा बन्यो।

देशको सबैभन्दा माथिल्लो राजनीतिक अंग पोलिटब्युरो स्थायी समितिका सदस्यहरूले घेरिएर उनले भनेका थिए, 'महान् चिनियाँ सपनाले चिनियाँ राष्ट्रलाई पुनर्जीवन दिनेछ।' त्यसलगत्तै 'चिनियाँ सपना' नामका गीतहरू चर्चित हुन थाले। उक्त सपना झल्काउने रातो वस्त्र लगाएको डल्लेडल्ले माटोको पुतलीको तस्बिर छापिएका पोस्टरहरू देशैभर टाँसिए।

आफ्नो नेतृत्वको पहिलो कालखण्डको अन्तिमतिर यही सेप्टेम्बरमा सीले पुनः ती सबै काम दोहोर्‍याए। कम्युनिस्ट उपलब्धि देखाउने एक प्रदर्शनीमा उस्तैगरी पोलिटब्युरो मण्डलीबाट घेरिएर उनले पार्टीको काम 'राष्ट्रिय पुनर्निर्माणको सपना' पूरा गर्नु हो। यो सन्देशले अर्थ राख्छ। यसले बताउँछ-सीको प्राथमिकता अर्थतन्त्रमा होइन चिनियाँ कम्युनिस्ट पार्टीको शक्ति र विश्वमा चीनको उपस्थितिमा छ।

उक्त भ्रमणको पाँच वर्षपछि सीले एक प्रकारको लेखाजोखाको सामना गर्नेछन्। अक्टोबर १८ मा उनले पाँच÷पाँच वर्षमा हुने र चीनको राजनीतिक क्यालेन्डरमा महत्वपूर्ण स्थान राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको उद्घाटन गरे।

राष्ट्रिय संग्रहालयको विपरीतमा रहेको 'जनबृहत् सभाभवन' मा करिब २३ सय प्रतिनिधि जम्मा भएका छन्। उनीहरूले पार्टीको विधानलाई अद्यावधिक गर्नेछन् र नयाँ केन्द्रीय समिति चुन्नेछन्। २०५ सदस्ययुक्त त्यो शक्तिशाली एलिटको समूहले अर्को पाँच वर्षसम्म देशमा शासन गर्नेछ।

सामान्यतया एक व्यक्ति दस वर्षसम्म पार्टी प्रमुख बन्छन्। त्यसैले सी अहिले मध्यविन्दुमा छन्। यदि पछिल्ला अध्यक्षलाई पच्छ्याए भने यो महाधिवेशनमा उनले आफ्ना उत्तराधिकारी चयन गर्नेछन् (जबकि उनले त्यसो गर्ने कुनै निश्चितता छैन)। यो समय उनले के गर्ने प्रयास गरे र कति सफल भए भनेर प्रश्न गर्ने उपयुक्त समय हो। प्रश्न गर्ने समय हो, सफलता र असफलतालाई पन्छाएर हेर्दा के उनले सही नै गरिरहेछन् त?

सीले आफूलाई माओत्से तुङ र देङ सियाओ पिङकै लस्करमा राखेर चीनको तेस्रो परिवर्तनगामी अध्यक्षको रूपमा उभ्याउँछन्। माओले देशलाई एकजुट गरी कम्युनिस्ट शासन स्थापना गरे। देङले देशलाई समृद्धिको बाटोमा डोर्‍याए र (आधिकारिक भाषामा भन्दा) पार्टीलाई प्रजातन्त्रको पन्जाबाट जोगाए। सीको योजना चीनलाई संसारकै केन्द्रकै रूपमा उभ्याउने र पार्टीलाई फेरि एकपटक पार्टीबाटै जोगाउने हो।

उच्च अधिकारीहरूलाई तालिम दिने केन्द्रीय पार्टी स्कुलका उपाध्यक्ष हि यितिङले हालै चीनको आधुनिक इतिहासलाई तीन भागमा विभाजन गर्न सकिने उल्लेख गरेका छन्। उनका अनुसार आधुनिक चीनलाई माओकालीन, सुधार र खुलापन (देङकालीन) र सन् २०१२ पछिको समय (देङकालीन) गरी तीन भागमा बाँड्न सकिन्छ।

गत जुलाइमा प्रकाशित 'सि जिनपिङस् थट्स' (सी जिनपिङका विचारहरू) नामक निबन्ध संग्रहको परिचय खण्डमा लेखिएको छ, 'चीनलाई माओत्से तुङ, देङ सियाओ पिङ र सी जिनपिङजस्ता नयाँ पुस्तालाई डोर्‍याउन सक्ने नेताहरूको खाँचो छ।' सीले आफैंले आफूलाई त्यो योग्य ठान्छन्।

शासनमा उनले अगाडि सारेको परियोजनाका आधारमा सीको व्यक्तिगत शक्ति झल्किन्छ। उनी पार्टीका प्रमुख (अध्यक्ष) हुन्। गत जुलाईमा त उनलाई एक सरकारी सञ्चारमाध्यमले 'सर्वोच्च नेता (सुप्रिम कमान्डर)' पद दिएको थियो। यो पद पछिल्लोपटक देङलाई मात्र दिइएको थियो। उनले कुनै वादशाहले जस्तै गरी कर्मचारीतन्त्रलाई मुठीमा राखेका छन्।

त्यसका लागि उनले पार्टीका लगभग सबै नेताहरू र चीनका ३१ वटै प्रान्तका गभर्नरहरूलाई हटाए। सँगसँगै जनमुक्ति सेनाका मुख्य अधिकारीहरूलाई पनि हटाए। केन्द्रीय समितिका धेरैजसो सदस्यहरू अहिले पदमुक्त हुँदैछन्। यो सीका लागि आफ्नो नजिकका मानिसलाई मुख्य पदमा पुर्‍याउने मौका हो।

त्यसो त महाधिवेशनमा पनि उनले पार्टी विधानको नाममा लेखेका साम्यवादबारेका लेखनमा व्यक्त विचारको प्रभुत्व कायम हुनेछ, जसले पूर्ववर्ती दुई नेतालाई केही हदसम्म अस्वीकार गर्छ। यसले सीलाई चीनको सैद्धान्तिक निर्णायकको रूपमा उभ्याउनेछ।


कुनै सार्वजनिक विरोधविना नै सीको व्यक्तिगत अधिकार बढेको छ। यो उनका कार्यक्रमको खतरामध्ये एउटा हो। सीमाथिको निर्भरता बढ्दै जाँदा उनी नभएपछि सबै सकिने खतरा पनि बढ्छ। अथवा उनी नै रहिरहनुपर्ने आवश्यकता आउन सक्छ।

 

उनका पूर्ववर्तीहरू, खासगरी हु जिन्ताओ र जियाङ जमिनले देङ सियाओ पिङले अघि सारेको आर्थिक सुधारलाई नै निरन्तरता दिने गरी जिम्मेवारी पाएका थिए। सी भने पार्टीलाई जोगाउन चयन भएका थिए। कम्युनिस्ट पार्टीलाई जोगाउने भन्दा केही अनौठो सुनिन्छ।

हरेक वर्षजसो लाखौंको सरकारविरोधी प्रदर्शन सामना गर्नुपरे पनि अधिकांश प्रदर्शन स्थानीय सरकारका कर्तुतहरूको परिणामले जन्मेको आक्रोश मात्र हो। चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय खतरा सामना गर्नुपरेको छैन र यो सन् १९८९ मा तियानमेन चोकमा भएको दुःखद घटनापछि केही पछाडि सरेको पनि देखिन्छ।

सन् २०१२ मा सीले भने यसभन्दा फरक परिदृश्य देखे। उनी र उनलाई अध्यक्षमा चुन्ने एलिटहरूका लागि पार्टीले अस्तित्वकै खतरा सामना गरिरहेको थियो। पछि सीले व्याख्या गरेअनुसार 'पार्टीका उच्च तहका कार्यकर्तामा गाढा विश्वासको कमी थियो र ती पार्टीप्रति उत्तरदायी थिएनन्।

'प्रतिमहिना दस हजार युआन (एक हजार पाँच सय २० अमेरिकी डलर) भन्दा बढी कमाउनेका लागि तोकिएको दुई प्रतिशत लेबी पनि उनीहरू पार्टीलाई बुझाउँदैनथे। उनीहरूमा साम्यवादप्रति विश्वास हराइसकेको थियो। कतिले त थप प्रजातान्त्रिक प्रक्रियामा जाने प्रस्ताव गर्थे।

गलत बाटोमा
सीका निम्ति प्रजातन्त्रको थप प्रयास ध्वंसको यात्रा हुनेछ। उनले लेखेका छन्, 'यदि नैतिकता कमजोर छ, संगठन खुकुलो छ, अनुशासन र नैतिकताको परीक्षण हुँदैन भने अन्त्य असफलता मात्र हुने छैन... बरु सम्राट् चुको नियती भोग्नुपर्नेछ।' (सम्राट चु इसापूर्व २०२ मा मारिएका थिए)

सीलाई तर्साएको भने प्राचीन इतिहासले होइन, सोभियत संघको पतनले हो। उनका लागि हरेकथोक पार्टीबाट सुरु हुन्छ र पार्टीमै टुंगिन्छ। उनी लेख्छन्, 'पूर्व, पश्चिम, उत्तर, दक्षिण जताततै पार्टीले नेतृत्व गर्छ।' पार्टी सकिए देश पनि सकिन्छ।

चिनियाँ नेताहरू ठान्छन्, सोभियत संघलाई पतनको बाटोमा लैजाने रूसी कम्युनिस्ट नेताहरूमा देखिएको प्रवृत्ति चीनमा पनि देखिन सक्छ। सुरुदेखि नै सीले भनिरहेछन्, रूसीहरूजस्तो 'मानिस मात्र बनेर पुग्दैन।' पार्टीका लागि मानिसभन्दा पनि बढी हुनुपर्छ।

शक्तिमा स्थापित हुँदै गर्दा उनी पार्टी मान्यतालाई बलियो बनाउन पूर्ण तयार थिए। उनी सन् २००८ देखि २०१३ सम्म पार्टी स्कुलका प्रमुख थिए। उनी 'पार्टी निर्माण गर्ने' सानो नेतृत्व समूहका प्रमुख पनि थिए। (चिनियाँ कम्युनिस्ट पार्टीमा हुने सानो नेतृत्व समूह एकदमै प्रभावशाली समितिहरू हुन्, जसले सरकार र पार्टी सञ्चालनलाई जोड्ने गर्छन्।) देङपछि पार्टीको आन्तरिक काममा उनले जति काम कसैले गरेको छैन।

उनको सबैभन्दा चर्चित अभियान भ्रष्टाचारविरुद्ध हो। २०१२ देखि भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य संस्था 'केन्द्रीय अनुशासन परीक्षण आयोग' (सीसीडीआई) ले पार्टीका १४ लाख सदस्यविरुद्ध अनुशासनको कारबाही सुरु गर्‍यो। तर यो अनुशासन स्थापनाको आंशिक काम मात्र थियो। महाधिवेशनको अगाडि सम्पन्न पोलिटब्युरो बैठकले 'पार्टीको लागि हरेक कोणबाट कठोर स्वशासन कहिल्यै नसकिने' निष्कर्ष निकालेको छ।

अनुशासनका लागि आत्मनियन्त्रण आवश्यक पर्छ। सीले आफ्ना सदस्यहरूका लागि 'प्रजातान्त्रिक जीवनका लागि गोष्ठी' को स्थापना गरेका छन् ताकि उनीहरूले आफूलाई उदाहरणको रूपमा उभ्याउन सकून्। यसको अर्थ सैद्धान्तिक कक्षाहरूमा भाग लिनु हो।

पार्टी नेताहरूले सधैं सैद्धान्तिक कक्षाहरूमा जोड दिन्छन्, तर सी अस्वाभाविक रूपमा त्यसबारे चासो राख्छन्। सन् २०१६ मा त उनले पार्टी सदस्यहरूले केटाकेटीले जस्तै आफ्नै हातले पार्टीको विधान लेख्नुपर्ने गरी अनलाइन प्रशिक्षण नै सुरु गरेका थिए।

अनुशासनले निष्ठाको माग गर्छ। पार्टीको मुख्य सैद्धान्तिक जर्नल 'छुइसी' मा अघिल्लो वर्ष लेखिएको थियो, 'निष्ठा भनेको ९९.९ प्रतिशत हुँदैन। यो शतप्रतिशत नै हुन्छ, अरू हुँदैन।' त्यो तहमा नपुग्ने संस्थाहरूले परिणाम भोग्नुपर्नेछ।

सीले चिनियाँ कम्युनिस्ट पार्टीको एउटा प्रभावकारी समूह एवं ली क्यु याङ र उनका पूर्ववर्ती हुजस्तालाई शक्तिमा ल्याउने 'कम्युनिस्ट युथ लिग' लाई निष्प्रभावी बनाइदिए। कर्मचारी मानसिकताले भरिएको र घमण्डी भन्दै उनले यसका प्रमुखलाई पदमुक्त गरिदिए। एक मुख्य अधिकारीलाई जेल पठाए र लिगले सञ्चालन गरेको स्कुल भंग गरिदिए।

सीको विचारमा पार्टीलाई एउटा आकारमा राख्नुपर्छ किनभने उनी यसको नियन्त्रण दोब्बर बनाउन चाहन्छन्। विदेशीहरूसँग मिलेर स्थापना गरिएका पार्टी सदस्य सम्मिलित कम्पनीहरूले लगानीसम्बन्धी निर्णयलाई अनुमति दिन माग गर्न थालेका छन्। कुनै समय अन्वेषणको धेरथोर छुट पाएका प्राज्ञिकहरूले अहिले सांस्कृतिक क्रान्तिजस्तो संवेदनशील विषयमा अनुसन्धान गर्न असम्भव ठान्न थालेका छन्।

सरकारी पत्रिकाहरूले छाती फुकाएर उनीहरूका काम पार्टीको सेवा हो भनेर घोषणा गर्न थालेका छन्। एकपछि अर्को मानवअधिकारवादी वकिलहरूलाई गिरफ्तार गरेर र च्यारिटीको लागि अप्ठेरो पर्ने कानुन बनाएर सीले कसैले पनि प्रश्न गर्न नसक्ने गरी पार्टीमा एकाधिकार स्थापना गरिरहेका छन्। २. सीको

चालबाजी
उनले सेनामा पार्टीको नियन्त्रण स्थापना गर्ने अंग केन्द्रीय सैन्य आयोगको भूमिका बढाएर सीले जनमुक्ति सेनामा प्रभुत्व विस्तार गरेका छन्। सन् २०१५ मा आयोगले रसदपानी रेखदेखजस्ता सैन्य मुख्यालयका विभिन्न काममा हात हाल्यो, जुन काम उसले पहिले पनि गरेको थियो। यस वर्ष यसको मुख्यालय विस्तार गरियो। यसका निर्देशकको पद बढुवा गरियो। यसले सैन्य व्यवस्थापनसम्बन्धी आदेशहरू दिन थाल्यो।

यी सबै काम गरेर सीले पार्टी र सरकारबीच रहेको शक्ति सन्तुलनलाई एकापट्टि ढल्काइदिएका छन्। उनले सरकार प्रमुखसमेत रहेका प्रधानमन्त्रीलाई किनारा लगाइदिएका छन्। अर्थतन्त्र प्रधानमन्त्रीको इशारामा चल्ने गथ्र्यो, तर अहिले आर्थिक नीति निर्माण गर्ने मुख्य संस्था सुधारको लागि गठन गरिएको सानो नेतृत्व समूह नै भएको देखिन्छ, जसको नेतृत्व सी स्वंयले गर्छन्।

यसै वर्षको सुरुमा अनुशासन परीक्षण आयोगका प्रमुख वाङ छिवसानले 'पार्टी र सरकारमा फरक भन्ने केही पनि नभएको' बताएका थिए। यो भनाइलाई सन् १९८० मा देङ सियाओ पिङले गरेको भाषणसँग दाँजौं। देङले भनेका थिए, 'अब हामीले सरकार र पार्टीका अभिभारा छुट्ट्याउनुपर्छ। सरकारलाई पार्टीले हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।' पार्टीलाई सुदृढ गर्ने नाममा सी चालीस वर्ष पछाडि फर्किएका छन्।

उनको दृष्टिकोणमा यो अभियान सफल भएको छ। सी शासनमा आउँदा पार्टी एउटा त्यस्तो कम्पनीजस्तो थियो, जहाँका जागिरेले केही काम गर्दैनथे, बिजनेस मोडेलमा विश्वास गर्दैनथे र आफ्नो खर्च अति नै बढी भएको बताउँथे। अहिले मानिसहरूले आफ्नो भागको रकम तिरिरहेछन्। अहिले चिनियाँ पार्टीविनाको भविष्य जनाउने 'सिंगापुर मोडेल' जस्ता केहीबारे पनि सार्वजनिक बहस हुँदैन।

कुनै सार्वजनिक विरोधविना नै सीको व्यक्तिगत अधिकार बढेको छ। यो उनका कार्यक्रमहरूको खतरामध्ये एउटा हो। सीमाथिको निर्भरता बढ्दै जाँदा उनी नभएपछि सबै सकिने खतरा पनि बढ्छ। अथवा उनी नै रहिरहनुपर्ने आवश्यकता आउन सक्छ।

एक उदारवादी आलोचकले भनेजस्तै सीले धेरै मानिसलाई चुपचाप पाखा लाग्न आदेश दिएका छन्। सही होस् वा गलत कारणका लागि सीले पार्टीलाई नियन्त्रणकारी अस्त्रको रूपमा विकास गरिरहेका छन्।

उनलाई थाहा छ, यो त सुरुआत मात्र हो। माओदेखि नै हरेक नेताले कम्युनिस्ट पार्टीको वैधानिकताको प्रश्न सामना गर्नुपरेको छ। सी यसका अपवाद होइनन्। केही वर्षदेखि आर्थिक वृद्धि नै पार्टीको मुख्य म्यान्डेट भएको छ। तर वृद्धि सुस्त छ, असमानता फराकिलो भइरहेको छ। कुल गार्हस्थ उत्पादनलाई एक विन्दु तल झारेर मध्यम वर्गको आवास, शिक्षा र स्वास्थ्य चिन्ता निराकरण गर्न सकिँदैन। ३.

सीसँग सपना छ
चीनको पुनर्जीवनको सपना स्वर्गको छानोमुनिका सबैलाई प्रभाव पार्दै लोकप्रिय हुन सक्छ। यदि सीले विश्व रंगमञ्चमा चीनप्रति सम्मान बढाउन सके देशभित्र पार्टीप्रति सम्मान पनि बढ्नेछ। त्यसैले उनको दोस्रो चासो रहेको 'संसारमा पहिलो चीन' सुरुमै लागू हुनेछ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा पहिला संग्रहालय भ्रमण गरे पनि ट्रम्पको 'अमेरिका पहिलो' नामक राष्ट्रवादले सीलाई वैश्विक नेतृत्वको दाबी गर्न सक्ने बनाइदिएको छ। सन् २०१७ मा स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व अर्थ मञ्चको कार्यक्रममा उनले भनेका चीनले 'आर्थिक विश्वव्यापीकरणको नेतृत्व' गर्ने बताएका थिए। एक महिनापछि उनले थपे, चीनले 'एक नयाँ विश्व व्यवस्थातर्फ डोर्‍याउनेछ।'

नाराभन्दा केही पर गएर हेरौं। सीको सबैभन्दा महत्वाकांक्षी परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटिभ' मा एसिया र युरोपका विभिन्न ६० देशको संरचना निर्माणमा खर्बौं डलर लगानी गर्ने उल्लेख छ। यो सफल भयो भने यसले चीनलाई केन्द्रमा राखेर युरासियाली व्यापार मार्ग निर्माण हुनेछ। त्यो अमेरिकाकेन्द्रित एटलान्टिकपारिको व्यापार मार्ग (ट्रान्स-एटलान्टिक रुट) लाई टक्कर हुनेछ।

सी दक्षिण चिनियाँ सागरमा चिनियाँ दाबी स्थापना गर्न प्रतिबद्ध छन्। पछिल्लो वर्ष संयुक्त राष्ट्रसंघको इजलासले चिनियाँ दाबीलाई अस्वीकार गरेको थियो। उक्त मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा पुर्‍याउने फिलिपिन्सलाई चीनले तुरुन्तै प्रशस्त लगानी गर्ने लोभ देखाएर कानुनी विजय त्याग्न मञ्जुर गरायो। जनमुक्ति सेनामा सीको सुधारपछि उसले देशबाहिर आधार क्षेत्रहरू बनाउन थालेको छ।

चिनियाँ सेना योभन्दा पहिला देशको रक्षा र नियन्त्रणमा मात्र केन्द्रित थियो। सीले जलसेनालाई सुदृढ गरेका छन् र नयाँ 'थिएटर कमान्ड' को स्थापना गरेका छन्। (थिएटर कमान्डलाई युद्ध कमान्ड पनि भन्न सकिन्छ। यो निश्चित क्षेत्रमा युद्ध सञ्चालन गर्ने सैन्य नेतृत्व हो। चीनको जनमुक्ति सेनामा पाँचवटा थिएटर कमान्डको संरचना छ, जसअन्तर्गत पूर्वी कमान्डको केन्द्र नानजिङ, पश्चिमको ग्वाङ्जु, दक्षिणको छेङ्दु, उत्तरको सेङयाङ र मध्यको बेइजिङमा छ।) यो सुधारपछि चिनियाँ सेनाको क्षेत्र विस्तार भएको छ। उसले देशबाहिर सैन्य आधार बनाउन सुरु गरेको छ। अफ्रिकाको जिबुटीमा चीनले पहिलो सैन्य आधार बनाएको छ।

सीले संसारभर चीनको प्रभाव विस्तार गर्ने गरी गतिविधि पनि सुरु गरेका छन्। चीनले लामो समयदेखि कन्फ्युसियस इन्स्टिच्युट, चिनियाँ भाषा सिकाउने केन्द्रहरू जस्ता नरम शक्ति विस्तार गर्ने अस्त्रहरूलाई जोड दिएको छ। (अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिलाई दुई रूपमा बाँडिन्छ।

मूलतः सैन्य तथा आर्थिक गतिविधि कडा शक्तिअन्तर्गत पर्छन् भने कला, संस्कृति, भाषा, ज्ञान आदि नरम शक्तिअन्तर्गत पर्छन्। कुनै पनि देशले आफ्नो प्रभाव बढाउन कुनै पनि शक्ति प्रयोग गर्न सक्छ।) अहिले चिनियाँ कम्युनिस्ट पार्टीले पश्चिमका सञ्चारमाध्यममा आर्थिक लगानी गरिरहेछ भने समुद्रपार बस्ने चिनियाँ जनतालाई राज्यका नीतिहरूको प्रचारको माध्यम बनाउने प्रयास गरिरहेको छ। छोटकरीमा भन्दा सीले देङले दिएको चीन 'लो प्रोफाइलमा बस्नुपर्ने र कहिल्यै नेतृत्वको दाबी गर्न नहुने' भन्ने सुझावको ठाडो उल्लंघन गरेका छन्।

सन् २०१६ मा अमेरिकामा 'पिउ रिसर्च सेन्टर' ले गरेको सर्वेक्षणमा ६० प्रतिशत चिनियाँले मात्र विश्व अर्थतन्त्रमा चीनको सहभागितालाई उचित ठानेका थिए। अर्कोतर्फ यही वर्ष 'देशभक्त' फिल्म 'वुल्फ वरियर २' ले हंगामा पिट्यो, जसमा एक चिनियाँ सेनाले संसारका खराब केटाहरूलाई मारिदिएको देखाइएको छ। त्यसैले सम्भवतः चीनमा विदेशीमाथि हैकम दाबी गर्ने प्रवृत्ति लोकप्रिय हुन सक्छ।

कुनै पनि हिसाबमा सीको पहलकदमीको मि िश्रत परिणाम आएको छ। ती पहलकदमी असफल भएकाले यस्तो नतिजा आएको होइन। पार्टी सुधार भएसँगै उनले आफैंलाई काम सही ढंगले सुरु गर्न सकिने भयो भनेर बधाइ दिन सक्नेछन्। चीनको ठूलो कर्मचारीतन्त्र बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्ध छ।

चीनले समुद्रमा कृत्रिम टापुमा सैन्य संरचना निर्माण गरेर दक्षिण एसियाली सागरमा आफ्नो दाबीलाई नयाँ ढंगले प्रस्तुत गरिरहेछ। विश्वव्यापी जलवायु परिवर्तनको मुद्दामा यो देशलाई अहिले नेतृत्वको रूपमा स्वीकारिएको छ।

सम्भवतः सीले एउटा गम्भीर वाधा उत्तर-पूर्वी एसियाबाट भोग्नुपर्नेछ। उत्तर कोरियाले अमेरिकालाई एसियामा अझै अल्झाउने गरी अगाडि सारिरहेको आणविक हतियार निर्माणप्रति उनी अनिच्छुक छन्। त्यसले एक दिन जापान र दक्षिण कोरियालाई पनि आणविक रूपमा सक्षम बनाइदिन सक्नेछ, जुन मुख्यगरी चीनलगायत कसैको पनि चाहनाको विषय हुने छैन।

छोटोमा भन्दा सीले आफूले अघि सारेका दुई लक्ष्यतर्फ हेरेर सन्तुष्ट हुन सक्छन्। तर ती देशको लागि साँच्चिकै सही उद्देश्य थिए कि थिएनन् भन्ने प्रश्न भने उठ्न सक्छ।अर्को दशकमा चीनले धेरै समस्या भोग्नुपर्नेछ। चीनको मुख्य चुनौती रहेको पानी अभाव चर्को हुन सक्नेछ। थप विषालु ग्यास खिचिनेछ र थप विषालु माटो ढाकिनेछ। एक बच्चा नीतिअन्तर्गत जन्मिएको पहिलो पुस्ता विवाहयोग्य उमेरमा पुगिरहेछ, तर त्यसले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक बढी भएको स्थितिको सामना गर्नुपर्नेछ। यो जनसंख्या असमानता जनसंख्या नियन्त्रण नीतिको परिणाम हो। स्थानीय सरकार र सरकारी उद्योगहरूले लिएका प्रशस्त ऋण तिर्नुपर्नेछ।

पार्टीबाहिर
यी असमान समस्याबीच एउटा समानता के छ भने यी सबैको समाधान पार्टी बाहिरबाट आउँछ। वातावरण समूहहरूले प्रदूषकहरूलाई सार्वजनिक दबाब दिन सक्छन्। स्वतन्त्र प्रेसले सबै किसिमका भ्रष्टाचारदेखि धोकाधडीसम्मका गलत क्रियाकलापको निन्दा गर्न सक्छन्। उद्योगहरूबीच हुने प्रतिस्पर्धा र सीमित बजेटले सरकारी उद्योग र स्थानीय सरकारहरूको ऋण घटाउन सक्छन्।

तर सी भने उल्टो बाटो हिँडिरहेछन्। उनले प्रेसलाई अंकुश लगाइरहेका छन्, नागरिक समाजलाई बन्द गराइरहेछन्, सार्वजनिक छलफलका मञ्चहरूलाई निमोठिरहेछन्। उनलाई न्याय गर्ने हिसाबले भनौं, उनले चीनलाई समस्यामा धकेल्ने चाहनाले यसो गरेका होइनन्। यत्ति हो, उनी पार्टीले नै सबै समस्या समाधान हुन्छ भन्ठान्छन्। जबकि पार्टी असफल भयो भने समस्याहरू सम्बोधन नै हुने छैनन्।

सन् १९८० मा देङ सियाओ पिङले पोलिटब्युरोलाई सम्बोधन गर्दै पार्टी र राज्यबीच स्पष्ट विभाजन हुनुपर्नेमा जोड दिएका थिए। उनले एउटै व्यक्तिमा शक्ति केन्द्रित हुन नहुने भन्दै चेतावनी दिएका थिए।

उनले भनेका थिए, '(यसो गर्नु) स्वेच्छाचारी शासनको उदयलाई छुट दिनु हुन्छ।' देङले निश्चित समयमा नेतृत्वको हस्तान्तरणको पक्षमा जोड दिएका थिए। सीले देङका सारा असल सुझावलाई अस्वीकार गरिरहेछन्। उनी सम्भवतः फाइदामा हुन सक्छन्, तर चीन भने छैन।

लन्डनबाट प्रकाशित हुने साप्ताहिक म्यागजिन 'द इकोनोमिस्ट' को अक्टोबर १४–२०, २०१७ का प्रकाशित विश्लेषणको लक्ष्मण श्रेष्ठले गरेको भावानुवाद।


बिहिबार ०२, कार्तिक २०७४ ०८:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस