---
Thursday, November 23 2017, 02:17 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१७
रामनवमी पर्व, रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

बुधबार, २३ चैत २०७३| Hari Joshi
रामनवमी पर्व, रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

एफएम संवाददाता÷धनगढी ÷ चैत्र २३–
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्या्दित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुभयो । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । धनगढीस्थित मन्दिरमा पनि श्रद्धालुजनहरुको घुइँचो लागेको छ । मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।


बुधबार २३, चैत २०७३ ०५:५७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस