Fresh Morning Old Nepali Pop

08:00 AM - 09:00 AM

Monday, October 23 2017, 02:18 | सोमबार ०६, कार्तिक २०७४ ०२:१८
हिन्दुको मात्रै होइन दसैं

मङ्गलबार, १० असोज २०७४| Radio Dhangadhi
हिन्दुको मात्रै होइन दसैं

   

दसैं पर्वको वास्तविकता

मानव समुदाय र समाजका लागि सभ्यता र संस्कृति शब्दको प्रयोग गर्ने गरिन्छ । सभ्यता शब्दको प्रयोग समाजको विकासको अति उच्च स्तरको अवस्थालाई गर्ने गरिन्छ भने संस्कृति भन्नाले समुदाय र समाजका लागि गर्ने गरिन्छ । सभ्यता र संस्कृतिको न जन्म हुन्छ न त मृत्यु नै । यो परिवर्तित हुन्छ अथवा अन्य सभ्यता र संस्कृतिमा समाहित भएर विलय हुन्छ । भारत वर्ष र चीनमा विकसित प्राचीन सभ्यताबाहेक अन्य प्राचीन सभ्यता र संस्कृति विलय भए । यस आलेखमा यही आलोकमा नेपालीले धुमधामपूर्वक मनाउने दसैंको बारेमा छलफल गरिएको छ ।

पूजा परम्परा

 भारतबर्षमा दसैं शरद आश्विन शुक्ल एवं वसन्त चैत्र शुक्ल गरी वर्षमा दुई पटक मनाइन्छ । आश्विन शुक्लको दसैं विशेष धुमधामले मनाउने गरिन्छ । देवी महात्म्यमा विष्णु ,शिव र अग्नि तथा अन्य देवताको तेजबाट देवी उत्पन्न भएको वर्णन पाइन्छ । यी देवीले शिवबाट त्रिशूल, विष्णुबाट चक्र, इन्द्रबाट बज्र प्राप्त गरिन् तथा महिषासुर, चण्ड, मुण्ड, शुम्भ एवं निशुम्भ नामक दानवको बध गरी विजय प्राप्त गरिन् । घटस्थापना गर्ने, चन्दनलेप, त्रिफला ,काइयो, रेशमिवस्त्र, शृंगारका सामान, सिन्दुर, ऐना, गाजल आभूषणद्वारा यथासक्य पूजा गर्ने प्रचलनले यो पर्वलाइ सर्वसुलभ बनाएको छ ।

पशुवलि दिने नदिने आफ्नो परम्परा र क्षमताअनुसार निर्भर हुने कुराले पूजा सहज पद्धतिमा आधारित रहेको स्पष्ट हुन्छ । नवमीसम्म देवी पूजा गरी दशमीका दिन हर्षोल्लास गर्दै टीका लगाउने र विजय उत्सव मनाउँदै देवी दुर्गालाई बिसर्जन गर्ने गरिन्छ । नवरात्रीमा कुमारी, काली, कपाली, कपिला, भद्रकाली, महाकाली, कात्यायनी, कौशिकी र उमाको पूजा गरिन्छ । सिंह र महिषमा टेकेर उभिएकी देवी दुर्गाले महिषासुर बध गरिरहेको प्रतिमा वा चित्रलाई पूजा गर्ने गरिन्छ । यसप्रकारको प्रतिमा ईश्वीको प्रथम शताब्दीतिर बन्ने गरेको कुषाण राजा कनिष्कको मुद्राहरूबाट प्रष्ट हुन्छ ।
 

    

पाँच हजार वर्षको इतिहास

सम्पूर्ण भारतवर्षमा आश्विन शुक्ल पक्षको प्रथम तिथिदेखि नवमीसम्म मातृशक्तिहरूको पूजा गरिन्छ । मुख्य मातृशक्तिको रूपमा देवी दुर्गालाई पूजा गरिने हुनाले यसलाई दुर्गापूजा उत्सव वा नवरात्र पूजा पनि भन्ने गरिन्छ । दसौं दिनलाई शक्तिकी देवी दुर्गाले दानवमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा हर्षोल्लास गर्दै आ-आफ्नो प्रचलन, मान्यता र तरिकाले यो उत्सव र पर्वलाई विजया दशमीको रूपमा मनाउने प्रचलन रहेको छ ।

नेपालका मातृका देवीहरूको पूजा गर्ने, दुर्गादेवीको पूजा गर्ने अथवा दसैं मान्ने प्रचलन कुनै जाति विशेष, धर्म विशेष, राजनीतिक विशेषले ल्याएको परम्परा होइन । यो कुनै राजतन्त्रले स्थापित गरेको परम्परा पनि होइन । यो प्राचीनकालदेखि यस क्षेत्रमा बसोबास गर्ने मानव समुदायहरूको परम्परामा आधारित सांस्कृतिक पर्व हो ।

कतिपय क्षेत्रहरूमा यसलाई हतियार पूजाका रूपमा पनि मनाउने गरिन्छ । सम्पूर्ण भारतवर्षमा यस उत्सव, पर्व र पूजाबाट सिद्धि प्राप्त हुने, यक्षको लाभ हुने, राज्य र सम्पत्ति प्राप्त हुने, सन्तान सुख प्राप्त हुने, शौभाग्य र धानलाभ हुने भन्ने विश्वास रहेको छ । यस पूजाले वर्षभरी आनन्द प्राप्ति हुने, भूत-प्रेत आदि दुष्ट आत्माबाट मुक्त हुने र स्व-प्रसन्नता प्राप्त हुने भन्ने धारणा पनि रहेको छ । यो पर्वलाई यस क्षेत्रमा चार वर्णका अतिरिक्त यहाँ बसोबास गर्ने विभिन्न जातजाति वा समुदायहरूका नरनारीले मनाउनुपर्छ भन्ने कुराको उल्लेख विभिन्न धार्मिक ग्रन्थहरूले गरेका छन् । बौद्ध, जैन, शैव आदि विविध धार्मिक आस्था भएका समुदायहरूमा पनि यो पर्व विभिन्न रूपले प्रसिद्ध छ । भारत वर्षमा यो पर्वलाई लगभग पाँच हजार वर्षअघि देखि आआफ्नो कुल, परम्परा, समुदायहरूको मान्यताअनुरूप कुनै न कुनै रूपले मनाउँदै आएको पाइन्छ ।

नारी शक्तिको पूजा

मानिसले ढुंगे युगदेखि नै नारी शक्तिलाई पूजा गरेको प्रशस्त प्रमाणहरू पाइएको छन् । यसै पूजालाई मातृका पुजाको रूपमा प्राचीन सभ्यताहरूमा ग्रहण गरियो । आजभन्दा लगभग पाँच हजार वर्ष अघिको यस क्षेत्रको प्रसिद्ध सिन्धु सभ्यताका निवासीहरूले पनि मातृका पूजा गर्दथे । सिन्धु नदीको किनारामा विकसित सभ्यतालाई पर्सियनहरूले ‘स’ लाई ‘ह’ भनी उच्चारण गर्ने भएकोले यस सभ्यताको नामकरण हिन्दु हुन गएको हो । सिन्धु नदी पश्चिमको विशाल भू-भागमा राज्य गरेका पर्शियन राजाहरू दारा तथा जेक्र्सेजले ईसापूर्व पाँचौं शताब्दीमा सर्वप्रथम यस सभ्यतालाई हिन्दु भनि सम्बोधन गरेको देखिन्छ । ईसापूर्व प्रथम शताब्दीतिर सिन्धु नदीदेखिपूर्व बंगालाको खाडीसम्मको भूभागलाई भारत वर्ष भनिन थालियो । तसर्थ, प्राचिन समयदेखि सिन्धु नदी उपत्यका आसपासका क्षेत्रदेखि बंगालको खाडीसम्म बसोबास गर्ने मानिसहरू तथा उनीहरूको प्रचलन, धर्म, समाज र संस्कृतिलाई हिन्दु भनी सम्बोधन गर्न थालियो ।

यस क्षेत्रमा गरिने मातृका पूजालाई पनि हिन्दुहरूको मातृका पूजा भनियो । तसर्थ हिन्दु शब्दले पश्चिमी विद्वानहरूले भन्ने गरेको रिलिजन (धर्म) लाई सम्बोधन गर्दैन । हिन्दु धर्म होइन,संस्कृति हो तसर्थ यस क्षेत्रमा गरिने मातृका पूजालाई पनि कुनै धर्मसँग सम्बन्धित नभएर सांस्कृतिक चाड, पर्व र उत्सवको रूपमा हेर्नु पर्दछ । यो पर्व आ-आफ्नो रीतिरिवाज, धर्म, प्रचलन र मान्यताको आधारमा जसले जसरी मनाए पनि हुने प्राचीन सांस्कृतिक परम्परा हो ।

मातृका पूजा परम्परा

यस क्षेत्रमा प्रचलित प्राचीन मातृका पूजा परम्पराले ऋग्वेद सम्पूर्ण पृथ्वी धारण गर्ने, स्वर्गमा निवास गर्ने शक्तिको रूप लियो । उपनिषद्मा हेमवती उमाको र महाभारतमा कृष्णकी बहिनीको रूपमा मातृका वा शक्ति पूजाले स्थान पायो । शैवहरूले शिवकी पत्नीको रूपमा शक्ति पूजा गर्न थाले भने रामायणमा रामकी पत्नीको रूपमा शक्ति उपासनाले स्थान पायो । पुराणहरूमा चण्डीको रूपमा, मातृका देवी वा शक्ति देवीले प्रसिद्धि पाएको छ । यस प्रकार स्त्री शक्तिप्रतिको आदर भाव र दैविय माताको प्रकृतिको रूपमा विजया दशमीलाई उत्सव र पर्वको रूपमा मनाउने परम्परा कायम भएको हो।

मातृका पूजाको यस परम्परामा आ-आफ्नो समुदाय र धर्म परम्परालाई गाँसेर मनाउने प्रचलनले गर्दा यस क्षेत्रमा महिषासुर बध, रावण वध, हतियार पुजा, युद्धको तयारी कृषिको उन्नति, विजय, सम्पन्नता, भूत-प्रेत र रोग व्याधिको उन्मुलनसँग गाँसेर पूजा गर्ने प्रचलनले व्यापकता पायो ।

           डा. मदन रिमाल    

नयाँ अन्नको हवि दिने, ढोकामा धानको हरियो वा नपाकेको बालाहरू झुण्ड्याउने तथा गहुँ, जौ आदिका अंकुरलाई दुवै कानमा, टाउकोमा वा टोपीमा धारण गर्ने, चामलको टीका लगाउने आदि प्रचलनले यो पर्वलाई कृषि उत्सव वा पर्वसँग जोडेको छ । यसैगरी हात हतियारहरूको पूजाले वर्षाको समाप्तिपछि नदीहरूको बाढी थामिएको अवस्थामा युद्धमा जाने तयारी, सैनिकलाई चुस्त दुरुस्त राख्ने परम्परा, विजयको कामना गर्दै दुर्गाको पूजा गर्ने परम्पराले यस पर्वलाई रणयात्राको द्योतकको रूपमा स्थापित गरेको देखिन्छ ।

नेपालमा मातृका पूजा

भारतवर्षमा प्रचलित मातृका पूजा परम्परालाई नेपाली, समाज र संस्कृतिले पनि निरन्तरता प्रदान गरेको छ । नेपालका हाँडीगाउँ, बल्खु, चावहिल, कीर्तिपुर, पाटन तथा वराह क्षेत्रमा प्राप्त प्राचीन मातृका मूर्तिहरूले नेपालमा लगभग दुई हजार वर्षअघिदेखि नै मातृका पूजा परम्परा रहेको स्पष्ट पारेको छ ।

यसै परम्परामा लिच्छबीकालमा महिषासुर मर्दिनी दुर्गाको पूजा गर्ने परम्परा नक्साल भगवती, पलाञ्चोक भगवती, नाला भगवती र शोभा भगवतीका मूर्तिहरूले प्रमणित गरेका हुन् । यद्यपि मातृका पूजा परम्परा यसकालमा निरन्तर थियो भन्ने चाँगुमा रहेका छिन्नमस्ता मन्दिरका प्राचीन मातृका मूर्तिहरूले स्पष्ट पारेको छन् । लिच्छबीकालमा बालबालिकाहरूको सुरक्षा र रोगव्याधिबाट मुक्तिका लागि हारती मातृकाको पूजा गर्ने परम्पराले पनि व्यापकता पाएको थियो । लिच्छबीकालकै सामाजिक र सांस्कृतिक निरन्तरतामा आधारित भएर र मध्यकालीन नेपाली समाजमा तन्त्रमन्त्र पद्धतिअनुसार पूजा गर्ने परम्पराले यस मातृका पूजा परम्परामा अझ थप पक्षहरू र पूजाको विविधता समेटिन पुग्यो ।

सिम्रौनगढमा मुसलमानी, आक्रमणपछि त्यहाँबाट पलायन भएका राजा हरिसिंहदेव र देवलदेवी रानीद्वारा ल्याइएकी तलेजु भवानी (महिषासुर मर्दिनी) देवी चौधौं शताब्दी ईश्वीमा भक्तपुर दरबारमा स्थापित भइन् । यिनै देवी पछि गएर मल्ल राजाहरूकी कुलदेवी भई त्यसबेलाका उपत्यकाका तिनै राज्यमा स्थापित भइन् । यिनको पूजा परम्पराले प्रसिद्धि पायो र यिनै देवी पछि उपत्यकाका बाहिरका बाईसे र चौबीसे राज्य तथा उदयपुर चौदण्डी र विजयपुरमा प्रसिद्ध देवी हुन पुगिन् ।

यसप्रकार नेपालका मातृका देवीहरूको पूजा गर्ने, दुर्गादेवीको पूजा गर्ने अथवा दसैं मान्ने प्रचलन कुनै जाति विशेष, धर्म विशेष, राजनीतिक विशेषले ल्याएको परम्परा होइन । यो कुनै राजतन्त्रले स्थापित गरेको परम्परा पनि होइन । यो प्राचीनकालदेखि यस क्षेत्रमा बसोबास गर्ने मानव समुदायहरूको परम्परामा आधारित सांस्कृतिक पर्व हो । धर्मका अनेकौं सिद्धान्तहरू, विचारहरू, सबै समुदायहरूका आ-आफ्नै आवश्यकता अनुसारका अभिव्यक्तिहरू एवं विश्वासहरूको सहिष्णुतामा यो पर्वले अनेकतामा एकता स्थापित गर्ने दायित्वलाई निरन्तरता दिएको छ । यस पर्वलाई मनाउने नमनाउने, कसरी मनाउने अािद कुराहरूमा व्यक्ति तथा समुदायहरू स्वतन्त्र भएको हुनाले आ-आफ्ना रीतिरिवाज, प्रचलन मान्यता, धर्मअनुसार यो पर्व सम्पूर्ण भारत वर्षमा कुनै न कुनै रूपमा मनाउने गरेको देखिन्छ।

-रिमाल नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुन् ।


मङ्गलबार १०, असोज २०७४ ११:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस