Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:11 | बिहिबार ०१, कार्तिक २०७५ १८:११
कानको सुनले लियो ज्यान, साथीले गरे विभत्स हत्या

बिहिबार, २९ भदौ २०७४| Admin
कानको सुनले  लियो ज्यान,  साथीले गरे विभत्स हत्या

एफएम सम्बाददाता
भदौ २९ महेन्द्रनगर
  महेन्द्रनगरमा चार आना सुन लुट्न एकजना बालकले साथीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका हुन् ।

  भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत चन्दलाई उनीसँगै कक्षा ८ मा अध्ययनरत १७ वर्षका साथी आशिषले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो । आशिषले साथी चन्दले कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको स्वीकारिसकेको प्रहरी नायव निरीक्षक सेटीले बताउनुभयो । सेटीका अनुसार आशिषको साथबाट चन्दले लगाएको चार आना बराबरको सुनको मुन्द्रा समेत बरामद भएको छ ।

  यही घटनामा संलग्न रहेको भन्दै प्रहरीले आशिषसहित कक्षा ८ मै अध्ययनरत तीन जना साथीलाई समेत पक्राउ गरी अनुसन्धान गरेको छ ।  आशिषले चन्दको हत्या गरेको स्वीकार गरे पनि अन्य तीन जनाले भने सुन राख्न र बेच्न सहयोग गरेको देखिएको प्रहरी नायव निरीक्षक सेटीले बताउनुभयो ।

  गत भदौ २५ गते स्कूलबाटै बेपत्ता भएका चन्दको गएराति हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको स्कूलबाट झण्डै चार सय मिटर दक्षिणतर्फ खोलाको छेउमा झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ । चन्दको त्यसै दिन हत्या गरिएको प्रहरीको भनाइ छ ।

  स्कूलको खाजा समयमा हराएका चन्दको प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए । कञ्चनपुरमा पछिल्लो हत्याका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षमा २ जना बालबालिका सहित ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । 


बिहिबार २९, भदौ २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस