Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:23 | मङ्गलबार १०, असोज २०७४ २०:२३
गर्भपतनबारे जान्नैपर्ने केहि महत्वपुर्ण कुराहरु

सोमबार, २६ भदौ २०७४| Admin
गर्भपतनबारे जान्नैपर्ने केहि महत्वपुर्ण कुराहरु

के हो गर्भपतन  :

गर्भको भ्रुणलाई पाँच सय ग्राम भन्दा कम हुँदै वा आफै बाँच्न सक्ने अवस्था आउनुभन्दा पहिलानै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भको भ्रुण पाँच सय ग्रामको हुनलाई लगभग २२ हप्ता लाग्ने गर्छ । गर्भपतन मुख्यतया दुई किसिमले हुन्छ ।  

१) स्पनट्यानियस एबोर्सन :

शरीरको आन्तरिक प्रक्रियाले गर्दा भ्रुण आफै बाहिर निस्कनेलाई प्राकृतिक गर्भपतन वा  ‘स्पनट्यानियस एबोर्सन’ भनिन्छ । 

कारणहरू : वंशाणुगत वा गर्भवतीमा क्रोमोजोमको विकृति हर्माेनको समस्याहरू जस्तैं मधुमेय, थाइराइडको समस्या, अण्डाशयको गडबडी आदि पाठेघर र अन्य अंगको विकासमा गडबडी पाठेघरको संक्रमण

लक्षणहरू:

गर्भवतीमा निम्न समस्या देखिए गर्भपतन भएको हुन सक्छ :

- योनीबाट रगत बग्नु वा रगतको चोक्टा निस्कनु

- तल्लो पेट दुख्नु

जाँच :

भिडियो एक्सरेबाट गर्भपतन भएको नभएको र भ्रुणको अवस्थाबारे थाहा पाउन सकिन्छ । रगतको मात्राको जाँच ।  पिसाब जाँचबाट गर्भ रहेको या नरहेको थाहा पाउन सकिन्छ । 

उपचार :

गर्भमा भ्रुण ठीक रहे या नरहेको र मुटुको चाल देखिएको वा नदेखिएको भन्ने यकिन भिडियो एक्सरेबाट गर्न सकिन्छ । यदि मुटुको चाल देखिएमा र भ्रुणको अवस्था सामान्य देखिए त्यसलाई यथावत राख्न पनि सकिन्छ । तर, पछि पनि रगत बग्न सक्ने र गर्भपतन हुने सम्भावना भने रहन्छ । यस्तो अवस्थामा गर्भवतीले प्रशस्त आराम र चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्र्छ ।  भ्रुणको अवस्था राम्रो नभएमा, मुटुको चाल नदेखिएमा वा भ्रुण आधा वा पुरै निस्किसकेको छ भने पाठेघरलाई सफा गर्नुपर्ने हुन्छ । त्यसको निम्ती तालिमप्राप्त र दक्ष चिकित्सकले अपरेसनमार्फत बाँकी रहेको भ्रुण निकाल्नु पर्ने हुन्छ ।

२) इन्ड्युसड एबोर्सन :

कुनै साधन वा बाहिरी विधीको प्रयोगले भ्रुण बाहिर निकाल्ने प्रक्रियालाई ‘इन्ड्युसड एबोर्सन’ भनिन्छ । त्यसको निम्ती कानुनी तरिकाले सरकारबाट अनुमति प्राप्त सुरक्षित गर्भपतन सेवा दिने संस्थाबाट गर्भपतन गराउनुपर्छ । जथाभावी गर्भपतन गराउनु गैरकानुनी मानिन्छ । कानुनी तवरले गरिने गर्भपतन औषधि खुवाएर वा चिकित्सकले अपरेसन कक्षमा सक्सन एण्ड इभ्याकुयसन विधीबाट गर्छन ।

नेपालमा गर्भपतन कानुन

नेपालमा गर्भपतनलाई १ चैत २०५८ मा सरकारले कानुनी मान्यता दिइएको हो । मुलुकी ऐनको ११औं संसोधनले निम्न अवस्थामा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरेको छः

- १२ हप्ता ननाघेको अनिच्छित गर्भलाई गर्भवती स्वयंको राजीखुसीमा

- जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ भएमा

- गर्भवतीको ज्यानमा खतरा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा

- विकलाड्ड शिशु जन्मन सक्ने अवस्थामा चिकित्सकको सल्लाहमा जुनसुकै समयमा 

- सरकारी अस्पताल वा नेपाल सरकारबाट अनुमति लिएर सुरक्षित गर्भपतन सेवा दिने संस्थाबाट मात्र गर्भपतन सेवा लिनुपर्छ ।

- जथाभावी औषधि सेवनले ज्यानै जान सक्छ।

कतिपयले आफै मेडिकल सपबाट गर्भपतनको औषधि किनेर खाने गर्छन । त्यसो गर्न‘ सरासर आफ्नो स्वास्थ्यलाई दाउमा राख्नु हो । गर्भवती अवस्थामा गर्भ पाठेघरमै रहेको वा नरहेको यकिन गरेर मात्र औषधि सेवन गर्नुपर्र्छ । त्यसको निम्ती औषधि सेवन अघि भिडियो एक्सरे गर्न जरुरी हुन्छ । गर्भ पाठेघर भन्दा अन्य ठाउँमा रहेमा र गर्भपतनको औषधि सेवन गरेमा त्यो फुट्न गई रक्तश्राव भएर ज्यानै पनि जान सक्छ । त्यसैले गर्भपतन गराउनु अघि एकपटक चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस