Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:28 | मङ्गलबार १०, असोज २०७४ २०:२८
गौराः यस्तो छ डोटेली लोकपर्वको महिमा !

शहरिया मनोरञ्जनमा सीमित हुन थाल्यो गौरा

मङ्गलबार, १३ भदौ २०७४| Admin
गौराः यस्तो छ डोटेली लोकपर्वको महिमा !

दूध राम्रो काली गाईको मह राम्रो मौराको ! फूल राम्रो हजारी टोक्कर खेल राम्रो गौराको !!

डोटेली लोक संस्कृतिका छटाहरुमा “गौरा” एक धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व !

विशेषतः गौरी र महेश्वर (पार्वती र शिव) को पूजा अर्चना गरिने यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइन्छ ।शुक्ल पक्षमा मनाइने गोरा लाई ‘उजेली गोरा’ अर्थात उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गोरालाई ‘अनारी गोरा’ अर्थात अँध्यारो गोरा भनिन्छ । प्रदेश नं. ७ का ९ वटा जिल्लामा धुमधामका साथ मनाइने गोरा पर्वलाई गौरा, गमरा, गवँराका जस्ता थपै्र नामले पनि  चिनिन्छ ।

यस पर्वमा दुबोको पनि पूजा गरिने भएकाले कहीँ कहीँ दुर्वाष्टमि पनि भन्ने गरेको पाइन्छ । गोरा पर्व पश्चातमात्र यस क्षेत्रमा वर्षका अन्य चाडवाडहरु सुरुवात हुने गर्दछन् । गोराका धार्मिक अनुष्ठान र गोरामा गाइने गीत, नृत्यहरुमा यहाँको लोकजीवन, वातावरणीय परिवेशसँग सम्बन्धित हुन्छन् ।

आफ्ना तपस्याका बलले पार्वतीले पाएको दुष्प्राप्य फलको सम्झनामा नारी आर्दशकी प्रतिमूर्ति ठानेर गौरीको र भक्तवत्सल तथा अभिष्ट फलदाता भनेर महेश्वरको पूजा गर्ने चलन यस पर्वमा चलेको पाइएको छ । सोही चलन र परम्पराका आधारमा मुख्यतः गौरीको पूजाआजामा सम्पन्न हुने यो पर्व गोःरा नामले प्रख्यात भएको हो । (जयराज पन्तको गौरा पर्वका गीत र गाथाहरुबाट ।)

गौरामा गाइने अठवालीको एक अंश

गवरीको व्याउ भयो जो सुनी गावै

जो सुनी गावै जगिना फल पावै

आठ अठवाली जो धिया सुनै

गाउन्यैको होइजालो पुत्र कल्याण

सुन्यैको होइजालो गंगा स्नान
(कृष्णराज ओझाको अठवाली गीतको सोधग्रन्थबाट)

नेपालीमा अर्थ : गौरीको विवाह भएको जसले सुन्छ र सुनाउँछ उसले यज्ञ गरेवापतको फल पाउँछ । आठ अठवाली जो छोरी गाउँछे उसले पुत्र कल्याण प्राप्त गर्दछे, जसले सुन्छे उसले गंगा स्नान गरे जस्तो फल पाउँछ भन्ने कुराहरु माथिको अठवालीका पंक्तिहरुमा व्यक्त गरिएको छन ।

गोरा पर्वका सम्बन्धमा गौरी र महेश्वरको विवाह उत्सव, गौरी माताका वर्तका प्रभावहरुका बारे थुप्रै गाथाहरु पाइन्छन् । जनश्रुतिका आधारमा गौरी माताको वर्त बसेमा पुत्रप्राप्ति, सन्तान सुख र परिवार सुख प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ ।

गोरा पर्वको सुरुवात व्रत बस्ने महिलाहरुले आफ्नो घर, गोठ सरसफाई गरी सुद्ध, चोखो भई  बिरुडा (पाँच प्रकारका गेडागुडीहरु – गहुँ, केराऊ, गहत, मास र गुरास) भिजाएर गर्ने गर्दछन् ।

अर्को दिन खेतबारीबाट  सामा (धानको बोटका बीचबीचमा उम्रिने धानजस्तै झार) का साथसाथै काँस, कुस र तीलबाट दुलहीको रुपमा गौरीको प्रतिमा बनाई कपडाको घुम्टो, श्रृङ्गारपटार र गरगहनाले सजाइन्छ भने पिर्का (काठको चाक्लो फलेकमा बस्ने गरी खुट्टा पनि बनाइएको हुन्छ) जसलाई महेश्वर/शिवको प्रतिमालाई पनि रातो कपडाले  छोपिन्छ ।

शिवको प्रतिमामाथि गौरीको प्रतिमा डालोमा राखी गोराको प्रतिमा तयार गरिन्छ, जसलाई गोरा घर वा गोरास्थानमा स्थापन गरिन्छ ।

गोरामा उक्त प्रतिमालाई शीरमा राखेर महिलाहरु नचाँउदछन् । वर्त बस्ने महिलाहरु गोरा समयभर गौरी माताको पूजाअर्चना गर्नुका साथसाथै सगुन र फाग गीत गाउने र अन्य नृत्यहरु नाच्ने गर्दछन् ।

गोरा घर नजिकैको खाली स्थानमा अन्य पुरुष, महिला, केटाकेटी जम्मा भई विभिन्न प्रकारका गायन र नृत्य गरी रमाउने गर्दछन् । अष्टमीको दिन ब्रत बस्ने महिलाहरुले अभिषेक गरेको दुवोधागो (रातोपहेँलो र कालो धागोबाट बनाइएको माला/पोते) लगाउने/फेर्ने चलन छ ।

विरुडालाई पूजाआजा पश्चात भगवानको प्रसाद मानेर खाने गरिन्छ ।  अन्तिम दिन गोरालाई नाच्दै, गाउँदै पवित्र स्थानमा लगि सेलाइन्छ । जुन दिन गोरा सेलाइन्छ सोही दिन फल फट्कने (फलफूललाई कपडाको माध्यमले आकातिर फाल्ने) गरिन्छ र जसलाई मानिसहरु आकाशबाट भुइमा खस्न नपाउँदै समाउने चलन छ, जसलाई भगवानको प्रसाद मान्ने चलन छ ।

आ–आफ्ना इष्टकुल र भूमि देवताहरु पुज्ने चलन पनि रहेको यस पर्वमा गाउँमा नयाँ धामी छानिने, नयाँ मुखिया चयन हुने परम्परा समेत रहेको पाइन्छ । गोरामा ब्रत बस्ने महिलाहरु पूजा आजा गर्ने, गाउँने,नाच्ने र मिठा पकवान बनाइ खाने/खुवाउने गर्दछन् भने अन्य वर्त नबस्ने महिला/पुरुषहरु पनि एक ठाउँमा भेला भई गाएर, नाँचेर रमाइलो गर्ने  गर्दछन् ।

गोरा पर्वका लागि रोजगारी र अन्य कामका लागि गएका मानिसहरु घर फर्कने, दीदीबहिनी, छोरी चेलीहरु माइत आउने गर्दछन् । गोरा पर्बले दिनहुँ घरधन्दामा मात्र समय व्यतीत गरिरहेका महिलाहरुलाई माइत जाने, फुर्सदको समय र खुलेर रमाइलो गर्ने एक आनन्दमय समय प्रदान गर्दछ । माता गौरीको पूजा अर्चना हुने यो पर्व महिलाहरुलाई सम्मान गर्ने पर्व पनि हो । पर्वमा महिलाहरु वर्षभरिका आफ्ना खुशी, उमंग,विरह, पीडा अनि दुःखहरु गीत र नृत्यका माध्यमद्वारा एक अर्कामा साटासाट गर्ने गर्दछन् जसबाट उनीहरुमा रहेका मनमा गुम्सिएका पीडाहरु कम हुन्छन् ।

कसैलाई पनि गौरा घर वा स्थानमा प्रवेशमा रोकटोक नहुने भएकाले समाजका सबै जाति, वर्ग, समुदायका मानिसहरु गोरामा सहभागि हुने गर्दछन् । सबैको जमघट हुने यस पर्वमा वार्तालाप, गायन, नृत्य र मनोरञ्जनद्वारा समाजभित्र फैलिएका नकारात्मक सोच/विचार, सामाजिक झै–झगडाहरु समाधान हुने गर्दछन् । यसैले समाजहरुलाई एकीकृत बनाउन, समाजलाई सन्तुलित एवम् जीवन्त बनाउन यस पर्वले महत्वपूर्ण भूमिका खेलको हुन्छ । त्यसैले यस पर्वलाई सामाजिक एकताको लोक पर्व पनि भन्न सकिन्छ ।

गोरा पर्वका मनोरञ्जनात्मक गतिविधिहरु पनि महत्वपूर्ण पक्षहरु हुन् । गोरा पर्वमा देवताका गाथाहरु, फाग,सगुन, देउडा गीतहरु गाइनुका साथसाथै देउडा, धमारी, न्याउला, मागल, धमारी, चैतला, छलिया लगायत नृत्यहरु र सोही अनुसारका सङ्गीतहरु प्रस्तुति हुने गर्दछन् ।

सामाजिक घटनाक्रमहरु, चेतनामूलक सन्देश र राजनीतिक गतिविधिबारे जानकारी समेटिएका मनोरञ्जनात्मक गतिविधिहरुले जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुर्याउछ ।

गोरा पर्वमा खेल्ने, नाच्ने र गाउने क्रममा गीतका नयाँ नयाँ ढल (बोलहरु) सिर्जित हुने गर्दछन् जुन लयहरु वर्षभरी मनाइने अन्य जात/जात्रा, चाडपर्वहरुमा पनि गाइन्छन् । यस पर्वले डोटेली लोकसंस्कृतिका साथै गीत, सङ्गीत र नृत्यहरुलाई संरक्षण गरेको छ ।

यस पर्वमा घरपरिवारका सदस्यहरुका लागि नयाँ लुगा किन्ने र गोराको जमघटमा आफ्ना विक्रिजन्य उत्पादनहरु पनि बेचविखन गर्ने चलन रहेकोले यसको आर्थिक महत्व पनि रहेको छ । यस पर्वमा धनी,गरिब कसैलाई मतभेद नगरी सकेको, पुगेको खाने/लगाउने चलन रहेको छ । गोरा पर्वका समयमा नयाँ बाजाहरु (दाहिना, दमाहा, ट्याम्का र अन्य प्रकारका) निर्माण गरिने प्रचलन पनि रहेको छ ।

गोरा पर्वका आफ्ना प्राचीन, पौराणीक, सामाजिक, आर्थिक विशेषताहरु हुँदै गर्दा पनि यस पर्वलाई अहिलेका पुस्ताले मनोरञ्जनका रुपमा मात्र लिने गरेको पाइएको छ । यस पर्वमा खेलिने विभिन्न प्रकारका खेलहरु पनि समायानुसार परिवर्तन हुदै गइरहेका छन् । सांस्कृतिक हस्तान्तरणमा जोड नदिँदा पर्वमा खेलिने र गाइने गीत, नृत्यहरुमा मौलिकता हराउँदै गइरहेको छ । डेउडा नृत्य पर्वको प्रमुख प्रस्तुति भएता पनि यस पर्वमा खेलिने, गाइने, नाँचिने अन्य खेल गीतहरु ओझेलमा पर्दै गइरहेका छन् ।

बसाइँसराई, सहरीकरण, विश्वव्यापीकरण, औद्योगीकरण र पश्चिमा संस्कृतिको प्रभावले यसको मौलिकता र लौकिकता कमजोर हुँदै गइरहेको छ भने धार्मिक तथा सांस्कृतिक महत्व विस्तारै घट्दै  गइरहेको छ । ग्रामीण क्षेत्रमा मनाइने गोरा पर्व विस्तारै सहरतिर प्रवेश भइरहेको छ । तर, गाउँमा जस्तो सामाजिक, सांस्कृतिक एवम् धार्मिक वातावरण शहरमा नहुने भएकाले यी पर्वहरु केवल नाम र मनोरञ्जनमा मात्र सीमित भएका छन् ।

सहरी क्षेत्रमा र काठमाडौंको टुँडिखेल लगायत महोत्सवहरुमा गोराको प्रस्तुतिले संस्कृतिको सम्मान त हुन सक्ला, तर यसले मात्र संस्कृतिको उन्नयन कदापि हुन सक्दैन । केही पुस्तक ग्रन्थहरुमा अभिलेखका रुपमा लेखिनु  र प्रकाशन गरिनुका साथ साथै सामान्य अध्ययन अनुसन्धानले यी  विषयहरु चर्चामा ल्याउन त सक्ला तर यसको संरक्षण सम्बर्धनका लागि पर्याप्त हुँदैनन् ।

नेपाल सरकारले गोरा पर्वमा सार्वजनिक विदा दिने गरेको छ । तर, यो बिदामा मात्रै सीमित भएको छ ।  गौरा पर्वका मूल्य मान्यताहरु अझ रुग्ण बन्दै गइरहेका छन् ।

संस्कृति मानव समाजको उपज हो । संस्कृति भित्र ज्ञान, विश्वास, कला, नैतिकता, नियम, कानुन रहेका हुन्छन्  । र, यो मानव जातिले लामो समयको अनुभव, खोज र सभ्यता विस्तारका क्रममा समाजबाट ग्रहण गरेको शिक्षा हो । आज समाज जुन अवस्थामा छ, यी सबै मानव सभ्यताका उपज हुन् ।

प्राचीन समयदेखि चलि आएका पर्वहरु रुढीवादी सोच र बिचारले मात्र विकसित भएका हुँदैनन् । यी पर्वहरुमा हामी दर्शन,लोकजीवन, तथा मानव समाजालाई स्वस्छ राख्ने, जीवन्त बनाउने तत्वहरु लुकेर रहेका हुन्छन् । तर, जब यी मानव संस्कृतिको संरक्षण र हस्तान्तरणमा अवरोध खडा हुन्छ, तब मानव सभ्यता नैं जोखिममा पर्दछ । यसैले समयमा नैं हामीले हाम्रा समाजका पौराणिक एवम् प्राचीन र पुर्खाले विरासतमा दिएका संस्कृतिको पहिचान गरी यिनीहरुको मौलिकतामा ह्रास आउन नदिन स्थानीय क्षेत्रमा गतिविधि बढाउनु जरुरी छ ।

पूर्खाले दिएको संस्कृतिको सम्मान गरी यस्ता संस्कृतिहरुलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । गोरा पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना ! गौरीमाताले सबैको रक्षा एवम् कल्याण गरुन् !!

– आलिताल–४, डडेल्धुरा

 

© Onlinekhabar.com

प्रतिकृया दिनुहोस