Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:23 | मङ्गलबार १०, असोज २०७४ २०:२३
डेढ महिनाभित्रै चमेलिया जलबिद्युत आयोजना सञ्चालनमा आउने

सोमबार, १२ भदौ २०७४| Admin
डेढ महिनाभित्रै चमेलिया जलबिद्युत आयोजना सञ्चालनमा आउने

काठमाडौं, १२ भदौ । ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजना अहिले अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो अवस्था बुझ्न सोमबार उर्जामन्त्री महेन्द्र बहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोलि आयोजना निर्माणस्थलमै पुग्यो ।

अवलोकनपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अब २० दिनभित्र सुरुङको सबै काम सम्पन्न हुने बताए ।‘अबको २० दिनमा सुरुङको काम सकेपछि पानी भरिन्छ र अबको एक महिना भित्रमा वेट टेस्ट गरिने छ ।’ घिसिङले बताए ।

आयोजना डेढ महिनाभित्रमा सञ्चालनमा ल्याउने योजनामा छ प्राधिकरण । लिड बल्ब भारतबाट आयात गर्ने र सोलारबाट बिद्युत उत्पादन गर्ने प्रक्रिया बिचमै तुहिएपछि आउँदो हिउँदमा के कसरी बिद्युत आपूर्ति गर्ने भनेर प्राधिकरणले योजना बनाइरहेको छ ।

आगामी हिउँदमा झन्डै २ सय मेगावाट थप बिद्युत आवश्यक हुने प्राधिकरणको आँकलन छ । तर, यो वर्ष सञ्चालनमा आउने प्राधिकरणको यो एक मात्र आयोजना हो ।

ठेकेदारको बदमासीका कारण कुलेखानी तेस्रो यो वर्ष सञ्चालनमा आउने देखिँदैन । निजी तर्फबाट १०० मेगावाट जति थपिने भए पनि ति आयोजनाले हिउँदमा ३० मेगावाट भन्दा बढी उत्पादन गर्न सक्दैनन् । जसका कारण आगामी हिउँदमा चमेलिया महत्वपूर्ण मानिएको हो ।

डेढ महिनाभित्र आयोजना आंशिक सञ्चालनमा आउने र दुईदेखि अढाई महिनासम्ममा पूर्णरुपमा सञ्चालनमा आउने घिसिङले जानकारी दिए ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । जसले हालैमात्रै जलाशययुक्त आयोजना बुढिगण्डकीको पनि निर्माणको जिम्मा पाएको छ । चमेलिया आयोजनाको ट्रान्समिसन लाइन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाले सिभिलतर्फको काम सेप्टेम्बर सम्ममा सक्ने योजना बनाएको छ । आयोजना प्रमुख अजय दाहालले भने, ‘सिभिल तर्फको काम सेप्टेम्बर सम्ममा सक्छौं, यो सकिएपछि इलेक्ट्रोमेकानिकलको काम सुरु हुन्छ ।’

दार्चुलाको शिखर गाविसमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुगेको थियो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस