---
Thursday, November 23 2017, 02:14 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१४
देउवा नेतृत्वमा कांग्रेस उक्लँदै छ कि ओर्लंदै?

बुधबार, ०७ भदौ २०७४| Admin
देउवा नेतृत्वमा कांग्रेस उक्लँदै छ कि ओर्लंदै?

१३ औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा विजय भएपछि शेरबहादुर देउवाको राजनीतिक कद निकै अग्लो देखियो। कांग्रेस राजनीति कोइरालाको वंशमार्गी विरासत छोडेर देउवा क्याम्पमा प्रवेश गरेपछि धेरैलाई लागेको थियो– ‘अब देउवा कांग्रेसका शक्तिशाली नेतामा परिणत भए।’ पार्टी सभापतिबाट संसदीय दलको नेताको निर्वाचनसम्म पुग्दा उनको उचाइ पार्टीमा झण्डै दोब्बर भयो। लामो समयदेखि कोइराला परिवारको दबदबाभित्र पार्टीमा आफ्नो अल्पमतको पीडा भोगिरहेको देउवा समूह एकाएक शक्तिशाली भएर आएपछि कोइराला समूहका अरू धेरै नेताहरू पनि देउवा ‘क्याम्प’मा प्रवेश गरे। सभापति र संसदीय दलको सर्वोच्च शक्ति देउवा शिविरमा गएर थन्कियो।

भनिन्छ– चुनौतीसँगै अवसर र अवसरसँगै चुनौती पछि लागेर आएका हुन्छन्। यसको दृष्टान्त यतिबेला देउवा स्वयं भएका छन्। हिजोको माग गर्ने स्थानबाट फड्को मारेर माग पूरा गर्ने ठाउँमा पुगेका देउवासामु पछिल्लो समयमा कति धेरै अफ्ठ्याराहरू छन् भने उनलाई ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भएको छ। त्यसैले पनि पार्टी सभापति र संसदीय दलको नेतामा पाएको विश्वास र भरोसालाई उनले धेरैसमय बचाइराख्न सकेनन्।

देउवा नेतृत्व सुरु भएपछि न त आम कार्यकर्ताले गर्व गर्ने खालको चुस्त संगठन निर्माण भयो, न त राष्ट्रिय राजनीतिमा कांग्रेसले खास प्रभाव देखाउन सक्यो। उनले १३ औं महाधिवेशनमार्फत् कोइराला वंशविरासत तोडेर पार्टीलाई आफ्नो शिविरमा त ल्याए तर उही पुरानो संकीर्णताबाट पार्टीलाई माथि उठाउन सकेनन्। यो नै देउवा नेतृत्वको सबैभन्दा ठूलो कमजोर पक्ष रह्यो। साथै देउवा नेतृत्वबाट कांग्रेसले धेरै मुद्दामा आफ्नो उपस्थितिलाई बलियो बनाउन सकेन, जसका कारणहरूको समीक्षा आवश्यक भइसक्यो।

स्थानीय निर्वाचनमा पराजय
निर्वाचन हुन बाँकी रहेको दुई नम्बर प्रदेशलाई छाडेर हेर्ने हो भने भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रोमा झरेको छ। यो पार्टी असफलताको प्रमुख हिस्सेदार सभापतिका हिसाबले देउवा आफै हुन्। किनकि कांग्रेसले ०७० सालको निर्वाचनमा हासिल गरेका धेरै आधार इलाका यसपटक गुमाएको छ। यसपटक दोस्रो स्थानमा पुग्नुमा नेतृत्वको अस्पष्ट र अराजक कार्यदिशा प्रमुख कारक थियो भन्ने सत्यलाई कांग्रेस नेतृत्वले स्वीकार्न सक्नुपर्छ।

माओवादी केन्द्रसँग सत्ता साझेदारीमा देउवाले गरेका राजदूत नियुक्तिदेखि आपसी चुनावी तालमेलसम्म पार्टी जीवनका लागि घातकपूर्ण निर्णय सावित हुन पुगे। जुन निर्णयले न कांग्रेसको साख जोगायो, न त कार्यकर्ताको मनोबल उठायो। त्यति मात्रै नभएर निर्वाचनको सङ्घारमा प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्नु र फिर्ता गर्नुपर्नाको कारणबारे केन्द्रीय नेताहरू नै असपष्ट हुनु, लहडमा गृहमन्त्रीको राजीनामा आउनु, निर्वाचनमा राम्रोभन्दा हाम्रोलाई टिकट दिनु र धेरै ढिलो गरी टिकट दिनु जस्ता कुराले कांग्रेस कार्यकर्ताहरूलाई थप अन्योल बनायो नै, उनीहरूमा संगठनप्रतिको जाँगर समेत घटायो। वास्तवमा संगठन सुदृढ र बलियो हुन कार्यकर्ताको मनोबल उचो हुनुपर्दछ। तर पछिल्ला दिनमा कार्यकर्ताको मनोबल उचाइतिर होइन, बरू झुकाइतिर देखिन्छ, जसका कारण आज देशैभरि कांग्रेस कमजोर भयो र स्थानीय तह निर्वाचन कांग्रेसको पक्षमा आउन सकेन।

पदाधिकारी मनोनयनमा समस्या
सभापति देउवाको अर्को कमजोर पक्ष भनेको महाधिवेशन भएको झण्डै डेढ वर्षसम्म पदाधिकारी तथा केन्द्रीय समितिलाई पूर्णता दिन नसक्नु हो, जसका कारण यतिखेर उनी संगठनभित्र र बाहिर आलोचित भएका छन्। विगतमा कोइराला क्याम्पभित्र समूह व्यवस्थापनामा जुनखालको धर्मसंकट देखिन्थ्यो, आज उसैगरि त्यो धर्मसंकट देउवा क्याम्पभित्र प्रवेश गरेको छ।

सत्ता र शक्तिका लागि निर्णायक भएका देउवालाई आफूभित्रको समूह व्यवस्थापनसँगै पौडेल समूहको चित्त बुझाएर अघि बढ्न निकै सकस भएको छ। निर्वाचनअघि देउवाले धेरै नेताहरूलाई धेरैथरी आश्वासन दिएर सभापति त जिते तर आफूले बोलकबोल गरेको पूर्व आश्वासनलाई इमान्दारितापूर्वक पालना गर्न उनलाई समूहभित्रैबाट धेरै चुनौतीहरू आइलागेका छन्। पार्टीभित्र पदाधिकारी तथा सदस्यहरूमा भाग खोज्ने धेरै आकांक्षीहरूले आज देउवालाई निकै कठिन मोडमा उभ्याइदिएका छन्। पदाधिकारीहरू मनोनित गर्ने, केन्द्रीय समितिलाई पूर्णता दिने र विभिन्न विभागहरू गठन गर्ने दायित्वनै नेता देउवाका लागि फलामको चिउरा चपाउनु जस्तै भएको छ।

मनोनितको आश्वासनबाट पार्टी महाधिबेशन र संसदीय दलको नेतामा देउवालाई सघाएका धेरै नेताहरूको असन्तुष्टि अहिले विस्तारै बाहिर प्रकट हुन थालेको छ।

पार्टीको अस्पष्ट कार्यदिशा
१३ औं महाधिवेशनपछि पार्टीले राजनीतिको आगामी कार्यदिशा स्पष्ट पार्न सकेको छैन। परिवर्तनले लक्ष्य गरेका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्धाहरूमा कांग्रेसको मार्गचित्र अपुरो छ। समृद्ध र स्वाधीन समाज निर्माणका लागि अब काँग्रेसको नीतिगत मार्गचित्र आवश्यक छ। साथै अन्तरदलहरूवीचको सम्बन्धलाई कसरी अघि बढाउने र विदेशलाई हेर्ने दृष्टिकोणमा कसरी एकरूपता ल्याउने भन्ने विषयमा पार्टीमा कुनै बहस भएको पाइँदैन।

उपरोक्त विषयमा पार्टीको स्पष्ट नीति नहुनु र कतिपय बेला शीर्ष नेताहरू स्वयं नीतिभन्दा माथि उठेर दिने अभिव्यक्तिका कारण राष्ट्र र राष्ट्रियताप्रतिको हिजोको काँग्रेसी बफादारितामा समेत प्रश्नहरू उठ्ने गर्दछन्। संगठनको आधिकारिक धारणा भन्दा पनि सबै नेताका आ–आफ्नै परिभाषा र व्याख्याले देश र दुनियामा कांग्रेस आलोचित हुँदै आएको छ। अर्कोतिर आफूलाई लोकतान्त्रिक सर्वोच्चताको नायक भनेर दावी गर्ने काँग्रेसले आफ्नै सांगठानिक जीवनमा लोकतान्त्रिक मूल्यपद्धतिको अनुशरण गर्न सकेको देखिँदैन। आजभन्दा ३५ बर्षअघि वीपीले छोडेर गएको उही ‘राष्ट्रियता, प्रजातन्त्र र समाजबाद’को परम्परावादी मान्यतालाई बोकेर काँग्रेस राजनीतिको अमूर्त यात्रामा हिँडिरेहको छ। यसो भनिरहँदा वीपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त गलत थियो भन्ने हैन। तत्कालिन अबस्थामा कोइरालाले कल्पना गरेको त्यो समाजवादी नीति पुँजीवाद र साम्यवादको ‘फ्यूजन’ थियो। तर आजको विश्वराजनीतिमा त्यसको परिमार्जित रूपको खोजी गरिनु आवश्यक छ। किनकि उही पुरानो समाजवादको फेरो समातेर वर्तमानमा कांग्रेस हिँड्दै गरेको यो बाटोले न त उसलाई वीपीको समाजवादी गन्तव्यमा लैजान सक्छ, न त वर्तमान विश्वको भू–राजनीतिमा काँग्रेसलाई समायोजन गर्न सक्छ। त्यसैले अबको कांग्रेसले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिहरूको विश्लेषण गरेर आफूलाई आजको युगअनुकल रूपान्तरण गर्न जरूरी छ।

अस्तव्यस्त भातृ संगठन
कांग्रेस संगठनको सबैभन्दा दुर्बल पक्ष पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरूको अस्तव्यस्तता हो। देउवा सभापति भएपछि उनले केही भातृ तथा शुभेच्छुक संगठनको महाधिवेशन त सम्पन्न गरे तर पार्टीको तल्लो इकाइसम्म झाङ्गिएको गुटगत संरचनाले पार्टीको स्वरूप नै धुजाधुजा भएको पाइन्छ।

हरेक संगठनभित्र सांगठानिक क्रियाशीलता भन्दापनि विभिन्न गुट र उपगुटहरूको दबदबा हावी छ। अहिले कांग्रेसी कार्यकताहरू कुशल संगठकभन्दा बढी नेतृत्वका कुशल पुजारी भएका छन्। राम्रोलाई भन्दा हाम्रोलाई आशिर्वाद दिने नेतृत्व पद्धतिले काम गर्ने कार्यकर्ताहरूमा पनि निराशा छाएको छ। हरेक भातृ संगठनहरूभित्र व्यक्तिवादी सोंच हावी हुँदै गएको छ। कार्यकर्तामा मौलाउँदै गएको स्वच्छन्दतावाद र मौलिकताले पार्टीका सबै भातृ संगठनको सांगठनिक अनुशासन भंग भएको छ।

गुट र उपगुटको बिगबिगी
कांग्रेसको जन्मकालदेखि हालसम्मको सांगठानिक इतिहासलाई हेर्ने हो भने पार्टीमा सामान्यतया दुई गुटले आफ्नो उपस्थिति देखाउँदै आएको पाइन्छ। तर पछिल्लो १३ औं महाधिवेशनसँगै कांग्रेसमा अरू उपगुटहरूसमेत निर्माण भएका छन्। महाधिवेशनमा देउवा, पौडेल र सिटौलाको आ–आफ्ना प्यानल भएपनि देउवा टिमबाटै निर्बाचन लडेका खुमबहादुरदेखि अर्जुननरसिंह केसी र पौडेल टिममा सुजातादेखि शेखर र रामशरण महतसम्मका उपगुटहरूले संगठनको तल्लो इकाइसम्म आ–आफ्ना बल्छीहरू थापेको देखिन्छ।

महाधिवेशनपछि हालसम्मको अवस्थालाई हेर्दा संगठनलाई त्यो गुटगत कित्ताबाट छुटाएर पार्टीमा एकाकार बनाउने त्यो विशिष्ट क्षमता वर्तमान सभापति शेरबहादुर देउवाले राख्न सकेको देखिँदैन। पार्टी र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरूमा समेत दिनप्रतिदिन विस्तार हुँदै गएको उपगुटीय शृङ्खलाले भोलिको कांग्रेसलाई अरू चिराचिरा बनाउने सम्भावना छ। केन्द्रदेखि जिल्ला र गाउँतहसम्म हावी हुँदै गएको पार्टी जीवनको यो उपगुटीय संस्कृतिको अन्त्य गर्न नेता देउवाले धेरै ठूलो त्याग गर्नुपर्ने देखिन्छ। महाधिवेशनमा उहाँले संकल्प गरेको एकताको विधिलाई व्यवहारतः लागू गर्न सके मात्रै भावी दिनमा कांग्रेसको भावनात्मक एकीकरण सम्भव होला, अन्यथा पार्टी अरू कमजोर हुने निश्चित छ।

अब कांग्रेसले के गर्ने?
नेपाली कांग्रेस पार्टीको आन्तरिक जीवनमा केही समस्याहरू भएपनि यसले आफ्नो जन्मकालदेखि लोकतन्त्र र जनताको सर्वोच्चताप्रति कहिल्यै बेइमान गरेको छैन। मुलुकको परिवर्तनका हरेक आन्दोलनहरू नेपाली कांग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन्। २००७ को प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ साल र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन नेपाली कांग्रेसकै कुशल नेतृत्वमा सम्पन्न भएका हुन्। त्यतिमात्र नभएर नेपालको इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी समेत कांग्रेसकै नेतृत्वमा पुरा भएको हो।

मुलुकको लोकतान्त्रिक मूल्यका लागि यतिठूलो बलिदान दिएको कांग्रेसले आन्तरिक पार्टी जीवनमा देखाएको सांगठानिक उदासिनता र अस्पस्टताले कांग्रेसको भविस्य निकै अफ्ठ्यारो मोडमा उभिएको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै जानु, जिल्लादेखि क्षेत्र र गाउँका पार्टी संगठनहरू निस्तेज र शिथिल हुनु, कार्यकर्तामा सांगठानिक अनुशासन नहुनु र संगठनमा व्यक्तिवाद हावी हुनु कांग्रेस भविस्यका खास चुनौतीहरू हुन्। तर पनि नेतृत्वमा कठोर इच्छाशक्ति भयोभने कांग्रेसभित्र देखिएका यी सबै चुनौतीहरूको समाधान खोज्न सकिन्छ। त्यसका लागि पार्टीभित्र एकव्यक्ति, एकपदको नीतिलाई अख्तियार गर्ने, यथाशीघ्र महासमितिको बैठक बोलाएर पार्टीले लिने आगामी कार्यदिशा तय गर्ने, संघीय संरचना अनुरूपको संगठन निर्माण गर्ने, संगठनभित्रका अराजक र अन्तरघातीहरूलाई कार्वाही गर्ने र पार्टीको तल्लोतहमा नेतृत्व गर्ने सबै नेता कार्यकर्ताहरूलाई पार्टीले अख्तियार गर्ने कार्यदिशाको वारेमा प्रशिक्षण दिनुपर्ने देखिन्छ। यति भयो भने मात्र निकट भविष्यमा सम्पन्न हुने प्रदेश र संघको चुनावमा पार्टीले अवस्य नयाँ उचाइ प्राप्त गर्नेछ।

ओमप्रसाद घायल 'मोदीकाली' साप्ताहिकका सम्पादक हुन् 

 नेपालखबर


बुधबार ०७, भदौ २०७४ १२:२८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस