---
Thursday, November 23 2017, 02:15 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१५
‘चुरियाबारे राष्ट्रपतिज्यूलाई केही भन्न सकेको छैन’:पूर्वराष्ट्रपति डा.यादव

मङ्गलबार, ०६ भदौ २०७४| Admin
‘चुरियाबारे राष्ट्रपतिज्यूलाई केही भन्न सकेको छैन’:पूर्वराष्ट्रपति डा.यादव

आखिर चुरेको संरक्षण गर्ने कसरी ? डा. यादवकै कार्यकालमा एउटा राष्ट्रिय कार्यक्रमका रुपमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ अगाडि आएको थियो । यो कार्यक्रमको कपीराइट आफूसँगै रहेको डा. यादवले  बताए ।

आफूले पहाडे र मधेसीलाई जोड्न र तराई मधेसको जनजीवन बचाउनका लागि यो कार्यक्रम अघि सारेको डा. यादवको भनाइ छ । तर, यो कार्यक्रम अहिले जसरी सुस्त गतिमा अघि बढेको छ, यसमा यादव सन्तुष्ट छैनन् ।

राष्ट्रपति कार्यालय, वन मन्त्रालय र योजना आयोगसम्मले चुरे संरक्षणबारे आफूसँग अहिलेसम्म कुनै परामर्श नलिएको पूर्वराष्ट्रपतिको भनाइ छ । चुरे संरक्षण लगायतका विषयमा डा. यादवसँग  गरेको कुराकानी यस्तो छः

आफू राष्ट्रपति बनेकै बेला ‘चुरे संरक्षण’ अभियान चलाउनुपर्छ भन्ने तपाईको दिमागमा कसरी आयो ?

मैले सोचें कि चुरियालाई संरक्षण गर्‍यो भने ६० प्रतिशत नेपाली जनतालाई फाइदा हुन्छ । चुरियाको माटो बचायो भने त्यहाँको जमीन बच्छ । जंगल बच्छ । जंगल बच्यो भने पानीको स्रोत बच्छ । पानीको स्रोत बच्यो भने तल बोर्डरसम्मै जल र जीवन बच्छ ।

मानवीय दृष्टिकोणले त्यहाँ पहाडे र मधेसी मिलेर बसेका छन् । त्यहाँ हाम्रो प्रकृतिको संरक्षण भयो भने हाम्रो समुदायवीचमा समन्वय पनि हुँदै जान्छ र जीवनयापन पनि राम्रो हुँदै जान्छ । यही सोचेर मैले चुरे संरक्षणमा फोकस गरेको हुँ ।

मैले आफ्नो अनुभवले देखेको हो । जुन बाटोबाट तपाई हिँड्नुभएको छ, त्यो बाटोमा तपाईलाई थाहा हुन्छ कि खाल्डाखुल्डी र काँडाहरु कहाँनेर छन् । म त आफू त्यही बाटोबाट हिँडेको हुनाले यही अनुभवले सिकाएर मैले आफूले यो काम गरेको हो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम थालनी गर्दाको पृष्ठभूमि कस्तो थियो ?

मैले विज्ञहरुलाई बोलाएर यो चुरियालाई कसरी संरक्षण गर्ने भनेर सोधेंं । त्यसबेला रामेश्वर खनाल अर्थसचिव हुनुहुन्थ्यो । मैले उहाँलाई भनें- ओ सचिवजी, यत्रो चुरिया खन्ने काम भइराखेको छ, तपाई अर्थसचिव हुनुहुन्छ, अर्थमन्त्रीलाई भनेर यसमा २/४ सय प्रतिशत ट्याक्स लगाउनोस् न । तराईको ढुंगा, माटो र जंगल त सखाप भइ नै गयो, अब चुरियाको ढुंगा माटो खनेर गइराखेको छ । अब यसमाथि बञ्देज लगाउनु न ।

तपाईले यसो भनिरहँदा रामेश्वरजीको प्रतिक्रिया के थियो ?

खनालजीसँग धेरै डिटेलमा कुरा भयो । छलफल गर्दा उहाँले भन्नुभयो कि हजुर यसमा ट्याक्स-स्याक्स मात्रै लगाएर हुँदैन, यो त धेरै ठूलो कुरा हो । यसबारे तपाईले एकचोटि मन्त्रीलाई कन्भिन्स गर्नोस् ।
सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुहुन्थ्यो । मैले उहाँलाई बोलाएँ । घण्टौं छलफल भयो । मैले आफ्ना अनुभव सारा बताएँ । त्यसपछि उहाँ पनि कन्भिन्स हुनुभयो ।

पाण्डेले के भन्नुभयो ?

उहाँले यसबारेमा एकपल्ट प्रधानमन्त्रीजीसँग कुरा गर्नोस् भन्नुभयो । त्यसपछि मैले सम्माननीय प्रधानमन्त्री माधव नेपालजीलाई भनें- प्रधानमन्त्रीजी, तपाई र म दुईजना मधेसी होइन ? तपाईका पिताजी संस्कृतका विद्वान हुनुहुन्थ्यो, मास्टर हुनुभो । मेरा पिताजी सामान्य पढेलेखेको किसान हुनुहुन्थ्यो । मेरा काकाले भैंसी हेर्नुहुन्थ्यो । म किसान परिवारको मानिस, तपाई पण्डित परिवारको मानिस । अब ६० प्रतिशत जनसंख्या र ३५ प्रतिशत भूमिलाई बचाउनका लागि काम गरौं । तपाई प्रधानमन्त्री हुनुहुन्छ, म देशको राष्ट्रपति छु । हामी एउटै बेल्टका । यो हाम्रो सौभाग्य हो कि हामी दुईजनाले यो तराई र पहाडको चुरे भूभागलाई बचायौं भने यो त स्वर्ग हुन्छ । यो हिजो स्वर्ग थियो, आज नर्क भइराखेको छ ।

मैले आफूले जति बुझेको थिएँ, त्यति व्याख्या गरें । उहाँ कन्भिन्स हुनुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कसरी राष्ट्रिय कार्यक्रममा समावेश भयो ?

एकदिन रामेश्वर खनालजीले आएर भन्नुभयो कि राष्ट्रपतिका नाममा चुरे संरक्षणलाई नीति र कार्यक्रममा राख्छु । ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रम राख्छु भन्नुभयो । मैले मेरो नाम नराख्नोस् है, आफ्नै नाम रखाउनका लागि राष्ट्रपतिले यस्तो गरेको छ भन्ने पर्न सक्छ भनें ।

उहाँले भन्नुभयो कि जबसम्म राष्ट्र रहन्छ, तबसम्म राष्ट्रपति रहन्छ । राष्ट्रपति भनेको त संस्था हो । राष्ट्रपति रामवरण यादवको नाममा राख्ने होइन, राष्ट्रपतिका नाममा राख्ने हो । यसरी उच्च संस्थाको नाम राखियो भने मान्छेहरुको ध्यान आकृष्ट हुन्छ । भोलि राष्ट्रिय अन्तरराष्ट्रिय फण्डको जरुरत पर्ला । यसमा त खर्बौं रुपैयाँ लाग्न सक्छ । त्यसले गर्दा यसमा हजुरको नाम हुँदैन, राष्ट्रपति चुरे संरक्षण हुन्छ ।

यसरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आयो । पछि यसमा सबैलाई समेट्नका लागि राष्ट्रपति चुरे, तराई मधेस संरक्षण भनेर महेश आचार्यजीहरुका पालामा राखियो । त्यसपछि सरकारले यो कार्यक्रम सुरु गरेको हो ।

उसोभए चुरे संरक्षण अभियानको पहलकर्ता डा. रामवरण यादव हो भन्दा फरक पर्दैन ?

एकदमै । यो मेरो ओरिजिनल हो । तपाईलाई भनौं- यसमा मेरो कपीराइट छ । पहाडे-मधेसी मिलेर जाऔं । म महापुरुष हैन, एउटा साधारण परिवारको मान्छे हुँ । देशवासीले स्वीकार गरेर देशको राष्ट्रपति भएँ ।

यो कार्यक्रममा मेरो कपीराइट किन छ भने पहाडे मधेसी मिलेर जाऔं, यसले गर्दा राष्ट्र जोगिन्छ, राष्ट्र बलियो हुन्छ र राष्ट्रिय एकता कायम हुन्छ भन्ने मान्छे हुँ म ।

अर्को, यो चुरिया संरक्षण गर भनेर सरकारलाई कन्भिन्स गरेर मैले राष्ट्रिय कार्यक्रममा पारें ।

म फेलियर भएको एउटै के हो भने सात वर्ष राष्ट्रपति भएर बस्दा उहाँहरुलाई कन्भिन्स गरेर ऐन बनाउन सकिनँ । अहिले यो एउटा समिति मार्फतमात्रै चलिरहेको छ । तर, यो एउटा यस्तो प्रोजेक्ट हो, यसमा ऐन बनाउन करै लाग्छ ।

तपाईले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम त ल्याउनुभयो । तर, यसबारे अहिले भइरहेको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ? तपाईले सोच्नुभएको भिजनअनुसार नै काम भइरहेको छ । कि यसमा पनि वर्षेनी बजेट घोषणा गर्ने र भ्रष्टाचार गर्ने घून पसिसक्यो ?

यो कार्यक्रमको सुरुवात भयो । मलाई पनि दुई वर्षसम्म त कन्भिन्स गर्नै लाग्यो । त्यसपछि फर्मेसन भएको ५/७ वर्ष भयो । दुई-तीन वर्ष यो घिस्रेर गयो । त्यसपछि, रामेश्वर खनालको नेतृत्वमा एउटा समिति बनेपछि त्यो टीमले २० वर्षको मास्टर प्लान बनायो । र, कामहरु अलिकता वैज्ञानिक तरिकाले हुन थाले । त्यो टीम गएपछि अहिले जुन टीम आएको छ, मलाई लाग्छ कि त्यसले राम्रोसँग यो कार्यक्रमको भेउ पाइराखेको छैन । त्यसैले अहिले त्यति राम्रोसँग काम अगाडि बढिराखेको छैन ।

यो त राष्ट्रपतिसँग जोडिएको कार्यक्रम हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुरे संरक्षणको महत्वबारे बुझाउने अवसर तपाईलाई अहिलेसम्म मिल्यो कि मिलेको छैन ?

मैले दोष दिने कुरा आएन । सम्माननीय राष्ट्रपतिजी यो फिल्डको मान्छे होइन, उहाँ राजनीतिबाट आउनुभएको हो । तर,उहाँले यसमा चासो दिनुपर्छ, कि म किन चासो दिन्थें ?

म त्यहाँ (शीतलनिवास) बाट ओर्लिएपछि ६ महिना नाकाबन्दी साकाबन्दी र मधेसको अन्दोलनले खायो । त्यसपछि भूकम्पबाट पीडितहरु टेण्टमा थिए, केही महिना त्यसैमा बित्यो । त्यससँगै म बिरामी भएँ । यसवीचमा उहाँसँग एक/दुईचोटि भेट भयो । तर, चुरियाका सम्बन्धमा मैले उहाँलाई धेरै केही भन्न सकेको छैन ।

राष्ट्रपति भण्डारी आफैंले पनि यो राष्ट्रपतिको संस्थासँग जोडिएको कार्यक्रमबारे तपाईको अनुभव मलाई चाहियो भनेर कहिल्यै सुझाव माग्नुभएन ?

न राष्ट्रिय योजना आयोगबाट, न सरकारको वन वा वातावरण मन्त्रालयबाट नै चासो राखियो । राष्ट्रपति कार्यालयबाटै पनि उहाँले किन सुरु गर्नुभो, उहाँको अनुभव पनि सेयर गरौं भनेर मसँग सोधखोज भएको छ ।

एकदिन मलाई कहीँ भेट्दाखेरि अनौपचारिकरुपमा राष्ट्रिय योजना आयोगका एक जना सदस्यले तपाईसँग भेट्छु र अनुभवहरु लिन्छु भन्नुभएको थियो, त्यो पनि त्यतिकै भयो ।

अब मैले यो विचार गरिराखेको छु कि यो स्वणिर्म वाग्ले इन्टिलिजेन्ट केटा छ, हारवर्डबाट पढेर आएको, उसले बुझ्छ । त्यसैले उसँग एकचोटि बोलाएर भनौं कि । अहिले म स्वस्थ्य पनि भएको छु । मैले पहिले पनि एकचोटि स्वणिर्मलाई बोलाएर छलफल गरेको थिएँ ।

राष्ट्रपतिको नामसँग जोडिएको यो कार्यक्रम राम्रोसँग अघि बढेन र यहाँभित्र पनि भ्रष्टाचार र विकृति मौलायो भने यसले संस्थाको गरिमालाई असर गर्दैन ? यहाँलाई कस्तो लाग्छ ?

आशा गरौं । सबै नेगेटिभ रुपमा नसोचौं । पोजेटिभ कुरा, हामीले संविधान बनायौं । संविधान बनाउँदा मलाई नै सन्तुष्टि भएको थिएन ।

किन ? आफैंले घोषणा गरेको संविधानमा कहाँनेर सन्तुष्टि भएन ? त्यसमा के हुनुपथ्र्यो, के भयो ?

गिरिजाप्रसाद कोइरालाले बुलेटवालालाई ब्यालेटमा ल्याउनुभयो । मैले देशको राष्ट्रपति भएर यो देशको मधेसका…..। क्षेत्रीय, जातीय कुराहरु उठिरहन्छन् । नागरिकताको समस्या समाधान भइसकेको छ । समावेशी समानुपातिकमा समावेशीचाहिँ भएको थियो, समानुपातिक छुटेको थियो । भूगोल र जनसंख्याका बारेमा भूगोल पहिले परेको थियो, जनसंख्या पछि परेको थियो ।

म चाहन्थें कि सुशील कोइरालाजी र अन्य पार्टीका नेताहरुलाई, नागरिकता र समानुपातिक समावेशीमा अन्तरिम संविधानमा जे छ, त्यो राखौं । र, संघीय आयोग एउटा बनाइदिऔं । यसो गर्दा मधेसको आन्दोलन पनि रोकिन्छ । किनभने यिनीहरुले हतियार त उठाएका छैनन् । यिनीहरु ‘मोडरेट’ शक्ति हुन् । हामी कांग्रेस र एमालेबाट फुटेर गएकै नेताहरु छन्, एउटा सदभावना बाहेक । यिनीहरुलाई सँगै लिएर जाऔं र देशलाई संविधान दिऔं । त्यति नै मेरो चाहना थियो ।

उसोभए संसदबाट संविधान घोषणा गरिरहँदा तपाईलाई समेत चित्त बुझेको थिएन ?

मलाई चित्त बुझेको थिएन । आखिर संविधान त बन्यो । राष्ट्रपतिले त चित्त नबुझेर पनि…. मैले भनेको थिएँ मेरो चित्त नबुझ्दा नबुझ्दै म लोकतन्त्रको बाटोबाट आएको छु ।

हाउसबाट पास भएको हो, मैले संविधानलाई ढोगें किन ? संसद भनेको त मन्दिर हो नि । यसका लागि त हाम्रा पूर्खाहरुले ७० वर्ष लडाइँ गरेका छन् । त्यो मन्दिरलाई त मैले ढोग्नुपर्‍योे नि । यो संविधान त्यही मन्दिरको उपज हो । यसमा ९० प्रतिशतले त सही गरेका छन् । त्यसैले गर्दा मैले जनताको नासो जनतालाई दिएँ ।

देशमा अब राजनीतिक स्थिरता आउनेमा तपाई कत्तिको आशावादी हुनुहुन्छ ?

अहिले संविधान लागू भइराखेको छ । स्थानीय चुनाव भयो । जुन पार्टीले जिते पनि देश अगाडि त बढिराखेको छ नि । ७३ देखि ७८ प्रतिशतसम्म मतदान भएको छ ।

अहिले मलाई बढो खुशी लागेको छ कि राष्ट्रिय जनता पार्टी (राजपा) पनि चुनावमा आयो । मलाई झन बढी खुशी लागिराखेको छ कि अब झन् बढी शान्तिपूर्णरुपमा चुनाव हुन्छ ।

अब दुई चरणमा चुनाव गर्ने कि एक चरणमा गर्ने भनेर बहस भइराखेको छ । एकै चरणमा चुनाव गर्नेमा मुख्य पार्टीहरु एकै ठाउँमा आइराखेका छन् । एक चरणमा गरुन् या दुई चरणमा गरुन्, मुख्य पार्टीहरु त एक ठाउँमा आइराखेका छन् । यसले गर्दा मलाई झन खुशी लागिराखेको छ । अब यो संविधान लागू भएर पूर्णरुपमा एउटा साइकल पूरा भएर अगाडि बढ्छ । त्यसैले पोजेटिभ कुराहरु भइराखेका छन् ।

वीपी कोइराला एकजना भए पनि राष्ट्रिय एकता गरौं भन्ने । अनि मै एउटा भए कि पहाडे-मधेसी सबै मिलेर, एकै ठाउँमा आएर देश बनाऔं भन्ने । यत्रो ३ करोड नेपाली छन् । संसारभरि छरिएका छन् । लोकतन्त्रको विधि संस्थागत हुँदै जान्छ । बिग्रेका कुराहरु सम्हालिँदै जान्छन् । र, देश प्रगतिको बाटोमा अगाडि बढ्छ ।

राजनीतिले गति लिएजस्तै अब राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पनि गति लिन्छ त ?

जस्तो- अब लोकतान्त्रिक गणतन्त्रलाई कसैले ब्याक गर्न सक्दैन, त्यस्तै यो राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई पनि नेपाली जनताले बुझ्दै जान्छन् । र, यसलाई कसैले छोड्नै सक्दैन । यसलाई छाडियो भने त हाम्रो देश बर्बादै हुन्छ ।

अहिले स्थानीय चुनावपछि जनप्रतिनिधिहरु आइराखेका छन् । अब प्रदेशका जनप्रतिनिधि आउँछन् । संघीय प्रतिनिधिहरु आउँछन् । उनीहरु पनि त पक्कै सिरियस हुन्छन् होला नि, आखिर यो बाढी किन आयो ? यत्रो बाढी त आउँदैनथ्यो, किन आयो ? पानीको संकट हुँदैनथ्यो, काठ दाउराको समस्या हुँदैनथ्यो । यत्रो भूमि मरुभूमिकरण त हुँदैनथ्यो, अहिले किन यस्तो भइरहेको छ ? उनीहरुले यो पक्कै सोच्छन् होला । तर, निकै ढीलो भइसकेको छ ।

अनलाइनखबर


मङ्गलबार ०६, भदौ २०७४ १२:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस